२१ भाद्र २०८१, शुक्रबार

सरकारी कार्यालय भवन परिसरमै मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री



धनगढी । बिहीबार (१७ जेठ) दिउँसो एक बजेतिर कैलालीको घोडाघोडी नगरपालिका रहेको भवनमा जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीको एक टोली पुग्यो । नगरपालिकाको कार्यालय भवनको एउटा कोठामा रहेको लक्ष्मी नास्ता पसलमा पुगेका टोलीले पसलबाट चुरोट र रक्सी मागे ।
धुम्रपान तथा मदिरा सेवन नगर्ने कैलाली जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले पैसा निकाल्दै भने– “साहुजी दुई वटा चुरोट दिनुहोस् त ।” साहुजीले सूर्य चुरोटको दुई वटा खिल्ली दियो । जनस्वास्थ्य प्रशासक चापागाईंले चुरोटको खिल्ली समातेर क्याविनमा बसे र पुन: रक्सी मागे । पसलेले उनले मागेको रक्सी आफ्नो पसलमा नभएको र अर्को पसलबाट ल्याउने बताए ।

फाइल तस्बिर

गत ६ गते अनुमोदन दैनिकमा प्रकाशित ‘जिल्लास्थित सरकारी कार्यालय परिसरमा सूर्तीजन्य पदार्थ विक्री वितरण’ शीर्षकको समाचारलाई आधार मानेर धुम्रपान रहित दिवसको अवसरमा जनस्वास्थ्य कार्यालयको टोली अनुगमनमा गएको थियो । गौरीगंगा नगरपालिकाको कार्यालय रहेको भवनको एउटा कोठामा रहेको नास्ता पसलमा चुरोट तथ मदिरा खुलेआम बिक्री भइरहेको अनुगमन टोलीले फेला पार्‍यो ।
लगत्तै नगरपालिका कार्यालयको स्वास्थ्य शाखामा पुगेको अनुगमन टोलीले स्वास्थ्य शाखा प्रमुखलाई भेटे । बरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले उनीसँग भने– “सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार सार्वजनिक स्थलको एक सय मिटरभन्दाभित्र धुम्रपान तथा मदिराजन्य पदार्थको विक्रीवितरण गर्न पाइदैन्, तर तपाईको कार्यालयमा त्यो भइरहेको छ त्यसलाई नियन्त्रण गर्नुहोस् ।” कार्यालयका स्वास्थ्य प्रमुखलाई निर्देशन दिएर पुन: नास्ता पसलमा पुगेका उनले पसलेलाई ऐनबारे जानकारी गराउँदै सम्झाए– “ऐनले सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने भनेको छ, यदि त्यसो गरेको भए सुरुमा सम्झाउने र पुन: नमाने दण्ड जरिवानाको व्यवस्था गरेको छ ।”
ऐनअनुसार सार्वजनिक स्थानमा धुम्रपान तथा मदिराको विक्रीवितरण गरेको पाइएमा एक सयदेखि एक लाखसम्म जरिवानाको व्यवस्था रहेको छ ।
नास्ता पसलले सो बारे जानकारी नभएको बताए । उनले भने– “मलाई ऐनबारे जानकारी थिएन । आजसम्म धुम्रपान तथा मदिरा विक्रीवितरण गरे पनि अब गल्ती गर्ने छैन ।”
तीन तले भवन । पहिलो र दोस्रो तलामा घोडाघोडी नगरपालिकाको कार्यालय र तेस्रो तलामा ईलाका प्रशासन कार्यालय रहेको छ ।
नगरपालिकाको कार्यालय रहेको तल्लो तलाको अगाडिका कोठामा एस के फर्निचर उद्योग, अनुराग फोटोकपी सेन्टर र लक्ष्मी नास्ता पसल एण्ड रेष्टुरेण्ट रहेको छ ।
नगरपालिकाको कार्यालयकै मातहातमा रहेको सो नास्ता पसलबाट मदिरा र चुरोटको विक्रीवितरण भइरहेको छ । पसलले विक्रीवितरण गरेका मदिराका खाली बोतलहरू कार्यालयको पछाडि रहेको खाली ठाउँमा राखिएको छ । नगरपालिकाले विभिन्न स्थानमा ‘धुम्रपान निषेधित क्षेत्र’ का सूचना बोर्ड राखेको भएपनि ती सबै च्यातिएका छन् ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले कार्यालयभित्र धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको र कसैले पनि धुम्रपान गर्न लागेको पाएमा सम्झाउने, बुझाउने गरेको बताए । उनले कार्यालय भाडामा सञ्चालन भएको र घरधनीले पसल सञ्चालनका लागि अनुमति दिएकाले नियन्त्रण गर्न कठिन रहेको बताए । उनका अनुसार नगरपालिका आफ्नै भवनमा सञ्चालन भए यी प्रावधान पूर्णरूपमा लागू हुने छ । उनले नगरपालिकाले अहिले भवनका लागि जग्गाको खोजी गरिरहेको बताए ।
सूर्ती नियन्त्रण तथा नियमन ऐन २०६८ लाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतको समिति बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार