१० श्रावण २०८१, बिहीबार

शौचालय छ, पानी छैन



धनगढी । दुई कोठा भएको शौचालय । पानीको धारा जोडिएको छैन । एक कोठामा बाल्टिन भरेर पानी र प्यान सफा गर्न ब्रस राखिएको छ, अर्को कोठामा छैन । सेतो प्यानमा कालो र पहेलो दागले शौचालयको प्रयोग गर्न पनि अप्ठ्यारो देखिन्छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित बेहडाबाबा मन्दिरमा रहेको सार्वजनिक शौचालयमा पानी अभावका कारण शौचालय दुर्गन्ध बन्दै गएको छ । पानीको पहुँच नहुँदा मन्दिरमात्र होइन् बस्तीका अधिकांस शौचालयमा पनि सरसफाईको अवस्था दयनीय रहेको पाइन्छ ।
शौचालयमा पानीको अभाव तथा सरसफाईसम्बन्धी जागरुकताको कमी र शौचालय व्यवस्थापनमा लापरबाहीका कारण अधिकांस सरकारी तथा सार्वजनिक शौचालय दुर्गन्धित हुने गरेका छन् । धनगढी उपमहानगरपालिकाको १८ र १९ नम्बर वडाको संयुक्त वडा कार्यालयको शौचालय पनि अवस्था वेहडाबाबा मन्दिरको जस्तै रहेको छ ।
कार्यालयले ह्याण्ड पम्पबाट बाल्टिनमा पानी भरेर राख्ने व्यवस्था गरे पनि प्यान भने कालो तथा पहेलो देखिने गरेको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीले सबै शौचालयमा पानीको प्रयोग भइरहेको दावी गरेको छ । डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद काफ्लेले भने– ‘शौचालयमा खानेपानीको धारा पुर्‍याउन नसकेपछि ह्याण्ड पम्पबाट पानीको पहुँच रहेको छ ।’
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले दिएको प्रतिवेदन अनुसार निर्माण भएका शौचालयहरूको परिवारका सबै सदस्यको पहुँच रहेको तथा प्रयोग गर्ने गरेको, शतप्रतिशत चर्पीको प्रयोग भई चर्पीको अवस्था सफा रहेको र ९० प्रतिशत चर्पीमा सरसफाई सामग्री रहेको उल्लेख छ ।
कैलाली जिल्लालाई मुलुकको ५१ औं जिल्लाका रूपमा आइतबार खुला दिसामुक्त क्षेत्र घोषणा गरिदै गर्दा खानेपानी र सरसफाईको अन्तर अझै कायम रहेको कार्यालयको प्रतिवेदनले देखाएको छ । जिल्लाका एक लाख ५२ हजार चार सय ५७ घरधुरीमा शौचालय निर्माण भएपछि भव्य कार्यक्रमबीच जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो । तर, जिल्ला अझै पूर्ण सरसफाईको पहुँच भने पुग्न सकेको छैन ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका अनुसार जिल्लामा धारा, ह्याण्ड पम्प (नल्का), वर्षा लगायत गरी ९७ प्रतिशतमा आधारभूत खानेपानीको पहुँच रहेपनि अझै तीन प्रतिशतले नदी तथा खोलाकै पानी प्रयोग गरिरहेको देखाएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख नारायण काफलेले खानेपानीको पहुँच ९७ प्रतिशत रहेपनि कुल घरधुरीको ६० प्रतिशतमात्र शुद्ध खानेपानीको पहुँचमा रहेको जानकारी दिए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सरसफाई तथा खानेपानीको अन्तरलाई घटाउन जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीका आयोजना अघि बढाइरहेको भएपनि हालसम्म सम्पन्न हुन सकेका छैनन् ।
डिभिजन प्रमुख काफलेले भने– ‘जिल्लामा ९७ वटा खानेपानीका साना तथा ठूला आयोजना सञ्चालन छन् तर, स्थानीयको जनश्रमदान नहुनु, मन्त्रालयमा लागतभन्दा न्यून बजेट विनियोजन हुनु लगायतका कारणले सम्पन्न हुन सकेका छैनन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले वेहडाबाबा मन्दिरमा झण्डै पाँच लाख २७ हजारको लागतमा खानेपानी आयोजना निर्माण भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार