२० भाद्र २०८१, बिहीबार

महिला हिंसा तथा जातीय विभेद कायमै



बैतडी । प्रत्यक्ष रूपमा नदेखिएपनि अप्रत्यक्ष रूपमा जिल्लामा महिला हिंसा र जातीय विभेद विद्यमान रहेको जिल्लास्थित सरोकारवालाहरूले बताएका छन् ।
जिल्लाको मानवाधिकार अवस्थाबारे बुझ्न बैतडी पुगेका नेपाल मानवाधिकार वर्ष पुस्तकका सम्पादक मदन पौडेल र इन्सेक प्रदेश नम्बर सातका संयोजक खडकराज जोशीसँग जिल्लास्थित सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
‘देखिने गरेर जातीय विभेद गरेको नपाइएपनि भित्री रूपमा दलितहरूले विभेद सहन बाध्य छन्, तर प्रक्रियागत रूपमा हामीहरूलाई उजुरी नआउदा कानुन कार्यान्वयनमा पनि समस्या छ’ प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने । जातीय विभेदको अन्त्यका लागि जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले सामुहिक रूपमा लाग्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी जोशीले जोड दिए ।
उनले सबै सरोकारवालाहरूलाई दलित बस्तीमा गएर सामुहिक भोजको आयोजना गर्ने योजना बारेपनि छलफल भएको बताए । अहिलेसम्म प्रहरीमा आउने महिला हिंसाका उजुरीहरूमध्ये अधिकांश निम्न वर्ग तथा दलित समुदायबाट आउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख हेरम्ब शर्माले बताए । ‘बेलुका श्रीमानले कुटपीट गर्‍यो भनेर आउछन्, भोलि बिहान ११ सय तिरेर आफैले छुटाएर लग्नुपर्ने बाध्यता छ यहाँका महिलाहरूलाई’ शर्माले भने ।
इन्सेकको टोलीले प्रहरी प्रशासन, कारागार, जिल्लामा रहेका मानवाधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूसँग जिल्लाको समग्र मानवाधिकारको अवस्थाबारे बुझेका थिए ।
वर्ष पुस्तकका सम्पादक मदन पौडेल, प्रदेश नम्बर सातका संयोजक खडकराज जोशी, इन्सेक क्षेत्रीय कार्यालय धनगढीमा कार्यरत दिलबहादुर चौधरी लगायतको टोलीले वर्ष पुस्तकको बारेमा सरोकारवालाहरूबाट सुझाव समेत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार