५ जेष्ठ २०८१, शनिबार

जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र नमुना बन्दै



जोशीपुर (कैलाली) । कहिले डाक्टर नहुने कहिले औषधि नहुने, कहिले सामान्य उपकरण अभावमा सास्ती भोग्दै आएका जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र वरपरका नागरिकहरूले अहिले स्वास्थ्य सेवामा सहज भएको बताउन थालेका छन्।

एघार महिना अघिसम्म यस्तै समस्या भोगेका त्यहाँका स्थानीय पछिल्लो समय स्वास्थ्य केन्द्रले दिएको सेवाबाट विश्वास बढ्दै गएको बताउँछन्।

पहिले न औषधि न डाक्टर अहिले नियमित दुई जना डाक्टर बस्न थालेपछि नागरिकको विश्वास बढेको स्थानीय पदम बोहोराले बताए। ३५ हजारभन्दा बढी जनसंख्या रहेको गाउँपालिकामा दैनिक ८० देखि एक सय विरामीहरू स्वास्थ्य सेवा लिन आउने गरेका छन्।

जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी भजनी नगरपालिका र बर्दगोरिया गाउँपालिकाबाट पनि बिरामीहरू सेवा लिने आउने गरेका छन्।

गत आर्थिक वर्षमा ओपीडी र परिवार नियोजनको सेवा लिने १० हजार रहेकोमा आर्थिक वर्षको नौ महिनामा १५ हजार बढीले सेवा लिइसकेको केन्द्रले जानकारी दिएको छ। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमका विमितलाई भजनीलाई सेवा केन्द्र तोकेपनि विमितहरूले जोशीपुरलाई छान्ने गरेका जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सञ्जयकुमार जैसवालले बताएका छन्।

एक वर्षमा दुई जना मात्रै घरमा सुत्केरी
स्वास्थ्य केन्द्रका सेवा सहज भएपछि स्वास्थ्य कार्यक्रममा सुधारका संकेतहरू देखा पर्न थालेका छन्। जोशीपुर गाउँपालिकामा वर्षभरीमा तीन सय ५० जना सुत्केरी भएकोमा दुई जनाले मात्रै घरमै बच्चा जन्माएका छन्। केन्द्रका डाक्टर जैसवालका अनुसार एक जना मानसिक समस्या भई अस्पताल आउन नमानेको र अर्कोको घरमा अस्पताल ल्याउने व्यक्ति नभएका कारण घरमै बच्चा जन्मिएका थिए। सुत्केरीपछि उनीहरूलाई अस्पतालबाट घरमै स्वास्थ्यकर्मी पठाएर चेकजाँच गरेको बताए।

निरन्तर औषधि आपूर्ति
जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति र औषधि आपूर्तिमा गाउँपालिकाले तत्पराता देखाएको छ। गाउँपालिकाले स्वास्थ्य केन्द्रबाट वितरण हुने नि:शूल्क औषधि खरिद गरिसकेको छ।

गाउँपालिकाले पाँच लाख बराबरको औषधि टेण्डरमार्फत खरिद गरिसकेको गाउँपालिकाका उपाध्यक्ष गीता कठरियाले बताइन्। उनले अहिले खरिद गरेको औषधि वर्षभरी नपुग्ने भएपछि पुन: बैशाखमै औषधि खरिद प्रक्रिया अघि बढाउने बताइन्।

जोशीपुर स्वास्थ्य केन्द्रले डेन्टल सेवा दिने तयारी थालेको छ । जोशीपुर गाउँपालिकाले एक/एक जना रेडियोग्राफर, डेण्टल हाईजेनिष्ट, फार्मेसिष्ट, अनमी, चौकीदार र स्विपरको भर्नाको सूचना निकाली सकेको र अबको दुई हप्ताभित्र पदपूर्ति गरिने तयारी भइरहेको डाक्टर जैसवालले बताए। 

प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले एक महिनाका लागि पुग्ने औषधि स्टक रहेको छ भने थप औषधि गाउँपालिकामा पनि राखिएको छ। दैनिक एक सय जति बिरामी आउने भएकाले नि:शूल्क औषधि अभाव नहुन दिन गाउँपालिकाले भूमिका निर्वाह गर्नुपर्ने केन्द्रका प्रमुुख जैसवालले बताए।

पोषण सेवा शुरु
स्वास्थ्य सेवामा सुधार ल्याएको जोशीपुर स्वास्थ्य केन्द्रले सोमबारदेखि कुपोषित बालबालिकालाई पोषण सेवा शुरु गरेको छ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाँईको उपस्थितिमा जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी त्यहाँका शीघ्र कुपोषित बालिका फूलमाया चौधरीलाई पोषणा खाना खुवाएर सेवाको शुरु गरे। जोशीपुरमा चार जना शीघ्र कुपोषित र एक अति कुपोषित गरी पाँच जना कुपोषित बालबालिका फेला परेका छन्।

कार्यक्रममा कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले कैलाली सहित तराईका जिल्लामा कुपोषित बालबालिकाको संख्या अझै अत्याधिक रहेको बताए।

असपतालमा भवन अभाव टार्न र जनशक्ति थप्न जोशीपुर गाउँपालिकाले नि:शर्त अनुदानबाट ६० लाख बजेट विनियोजन गरिसकेको गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले बताए।

उनले कुपोषण नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेपनि नियन्त्रण हुन नसकेको बताए। गरिबी, अशिक्षा, खुल्ला सीमाना, बालविवाह लगायतका कारणले बालबालिका कुपोषित हुने गरेको उनले बताए।

भिडियो एक्सरे पनि डाक्टरबाटै
स्वास्थ्य केन्द्रलाई सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले भिडियो एक्सरे मेशिन पनि प्रदान गरेको छ तर चलाउने जनशक्ति छैन।

‘डाक्टरले विरामी चेकजाँच गर्नेकी अन्य काम ?’ डाक्टर जैसवालले भने ‘कहिलेकाही ईमर्जेन्सी विरामी आएका बेला आफैले भिडियो एक्सरे गर्ने गरेको छु नत्र प्राय: बन्द रहने गरेको छ।’ उनले मेसिन चलाउन सक्ने तालिम प्राप्त व्यक्तिका लागि दर्खास्त आव्हान गरिसकेको र छिट्टै पूर्णरूपमा सञ्चालन हुने बताए।

अहिले भिडियो एक्सरे मेसिन चलाउने व्यक्ति नहुँदा हात भाँचिएका, काटिएका एवं जटिल समस्या लिएर आएका विरामीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रले अन्यत्र रिफर गर्नुपर्ने अवस्था रहेको छ।

डेन्टल सेवा शुरु गरिदै
जोशीपुर स्वास्थ्य केन्द्रले डेन्टल सेवा दिने तयारी थालेको छ । जोशीपुर गाउँपालिकाले एक/एक जना रेडियोग्राफर, डेण्टल हाईजेनिष्ट, फार्मेसिष्ट, अनमी, चौकीदार र स्विपरको भर्नाको सूचना निकाली सकेको र अबको दुई हप्ताभित्र पदपूर्ति गरिने तयारी भइरहेको डाक्टर जैसवालले बताए। डेन्टल भिडियो एक्सरे मेशिन कोरियन संस्था कोइकाले यसअघि नै प्रदान गरिसकेको छ।

गाउँपालिकाबाट ६० लाख
दुई जना डाक्टर, ओपीडी, प्रसूति कक्ष, फार्मेसी, २४ घण्टे आकस्मिक सेवा, ल्याव, भिडियो एक्सरे, चिकित्सक र कर्मचारीलाई आवास आवश्यक भएपनि स्वास्थ्य चौकीबाट स्तरोन्नती गरेर प्राथमिक स्वास्थ्य केन्द्र बनाइएको जोशीपुरमा भवन अभाव रहेको छ।

यसका साथै प्राथमिक स्वास्थ्य केन्द्रले डेण्टल, स्टोर कक्ष, नि:शुल्क औषधि वितरण पनि साँघुरो कोठाबाटै गर्नुपर्ने बाध्यता रहेको छ।

‘साँघुरो भवनबाट सेवा दिनुपर्दा सामान्य उपचार गरेर जटिल विरामीलाई थप उपचारका लागि घोडाघोडी अस्पताल, अत्तरिया, धनगढी, नेपालगञ्ज, टीकापुर अस्पताल लगायतमा पठाउनुपर्ने बाध्यता रहेको छ’ डाक्टर जैसवालले भने, ‘भवन अभावकै कारण स्वास्थ्य केन्द्रमा विरामी कुरुवालाई बस्ने सुविधा पनि व्यवस्था गर्न सकिएको छैन।’

असपतालमा भवन अभाव टार्न र जनशक्ति थप्न जोशीपुर गाउँपालिकाले नि:शर्त अनुदानबाट ६० लाख बजेट विनियोजन गरिसकेको गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले बताए।

उनले तल्ला निर्माणका लागि उपभोक्ता समिति गठन भइसकेको पनि बताए । त्यस्तै स्वास्थ्य केन्द्रलाई सुरक्षित राख्नका लागि गेट निर्माण कार्य पनि अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार