२० बैशाख २०८१, बिहीबार

खेर गइरहेका पातबाट आम्दानी बढाउँदै



धनगढी । हिउँदे याममा साल लगायतका रुखका पात झर्ने गर्छन् । खसेका पात मलसोत्तरका लागि प्रयोग गरिन्छ । ठूलो संख्यामा भने वनमै कुहेर जान्छन् । अझ सुकेर खसेका पातका कारण वन डढेलोको जोखिम पनि उत्तिकै रहने गरेको छ । तर, कैलालीको भजनीस्थित वनदेवी सामुदायिक वनका उपभोक्ताले भने खेर जाने पातलाई आम्दानीमा परिणत गर्ने अभियान अघि बढाएका छन् ।
तीन सय १२ हेक्टर क्षेत्रफल रहेको वनदेवी सामुदायिक वन समितिले एक वर्षदेखि दुनाटपरी उत्पादन कार्य शुरु गरेको छ । वन समितिका उपाध्यक्ष राजकुमार चौधरीले भने– ‘वनमा खसेका सालका सुकेका पात संकलन गरेर दुनाटपरी बनाउने काम भइरहेको छ ।’
उपाध्यक्ष चौधरीका अनुसार सो वन समितिका उपभोक्ताहरूले दैनिक २५ सय पात र आठ हजार जति कागजका दुनाटपरी उत्पादन गरिरहेका छन् । सामुदायिक वनले मासिकले २५ हजार जति दुनाटपरी उत्पादन गरिरहेको छ । उपाध्यक्ष चौधरीले दुनाटपरी उत्पादन सुरु गरेपछि जोशीपुर, भजनी लगायतका क्षेत्रमा माग पनि बढेको बताए ।
सामुदायिक वनले उत्पादन गरिरहेको दुनाटपरी ब्रतबन्ध, विवाह, पूजापाठ लगायतका धार्मिक सांस्कृतिक कार्य तथा भोजभतेरमा बढी प्रयोग हुने गरेको बताए । उनले कागज भन्दा पनि पातको दुनाटपरीको माग अधिक रहेको बताए । उनले कागजको दुना होटल तथा ठेला व्यापारीले खरिद गर्ने गरेका छन् ।
सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता परियोजना कार्यक्रमअन्र्तगत दिगो विकास समाज भजनी र सामुदायिक वनको लगानीमा दुनाटपरी उत्पादन कार्य भइरहेको छ । दिगो विकास समाजको ७५ हजार र सामुदायिक वनको एक लाख ९० हजार रुपैयाँ समेत दुई लाख ६५ हजार रुपैयाँको लगानीमा कागज तथा पातका दुनाटपरी बनाउने मेसिन ल्याएर उद्योग सञ्चालन भइरहेको छ ।
‘दुनाटपरी बनाउने काम शुरु गरेपछि यस क्षेत्रका एकलतथा दलित तथा विपन्न वर्गका महिलाहरूले रोजगारी पाएका छन्’ उपाध्यक्ष चौधरीले भने– ‘दुनाटपरीको आम्दानीबाट ७५ प्रतिशत महिलालाई र २५ प्रतिशत वनको आम्दानीभित्र राखिने गरेको छ ।’
सो वनले सात जना महिलालाई प्रत्यक्ष रोजगारी दिएको छ । भने थुप्रैले ज्यालादारीमा काम गरिरहेका छन् । सो सामुदायिक वनमा एक हजार छ सय उपभोक्ता रहेका छन् ।
वनदेवी सामुदायिक वन झैं जिल्लामा अन्य केही सामुदायिक वनले पनि उपभोक्ताको जिविकोपार्जनमा सहयोग पुर्‍याउन विभिन्न क्रियाकलाप गरिरहेका छन् ।
कैलालीका केही सामुदायिक वन समितिले उपभोक्ताको आयस्रोत बृद्धि गर्न जडीबुटी खेती, तरकारी खेती, बेर्ना उत्पादन लगायतका काम गरिरहेको जिल्ला वन कार्यालयले जनाएको छ । सामुदायिक वन समितिहरूले जिविकोपार्जन तथा आयस्रोतका लागि विभिन्न कार्य गरे पनि जिल्लामा के–कति सामुदायिक वनले आयआर्जनका काम गरिरहेका छन् भन्ने बारे पूर्ण तथ्यांक नभएको जिल्ला वन कार्यालय, कैलालीका सूचना अधिकारी भीमप्रसाद ढकालले बताए ।
उनले भने– ‘सामुदायिक वन समितिहरूले जिल्ला वन कार्यालयलाई पठाउने विवरणमा प्राय: आयआर्जन सम्बन्धी गतिविधि उल्लेख गरेको पाइदैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार