१ जेष्ठ २०८१, मंगलवार

ग्यास उद्योग अन्यत्र सार्न माग



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३, मालाखेतीमा रहेको रेडियन्ट ग्यास उद्योग अन्यत्र सार्न स्थानीयले माग गरेका छन् ।
ग्यास उद्योगका कारण वस्ती असुरक्षित बन्दै गएको र मानव स्वास्थ्यमा प्रतिकुल असर परिरहेको भन्दै स्थानीयले अन्यत्र सार्न कैलाली जिल्ला प्रशासनसँग माग गरेका छन् ।
रेडियन्ट ग्यास उद्योग स्थानान्तरण संघर्ष समितिका संयोजक धु्रव भट्टराईले कम्पनीले शुरुमा मेडिकल कलेज सञ्चालन गर्ने भनेर झुक्याएको आरोप लगाए । उनले भने– शुरुमा हामीलाई मेडिकल कलेज स्थापना गर्ने भनियो, तर पछि हामीलाई कुनै जानकारी नै नदिएर सुटुक्क ग्यास उद्योग सञ्चालनमा ल्याइयो ।
संघर्ष समितिका संयोजक भट्टराईले कम्पनीले कानुन, नीति नियमलाई मिचेर उद्योग सञ्चालन गरिरहेकोले अन्यत्र स्थानान्तरण गर्नुपर्ने स्थानीयको माग रहेको बताए । स्थानीयका अनुसार रेडियन्ट ग्यास उद्योगले सन्धियारहरूको समेत मन्जुरी नलिएर उद्योग स्थापना तथा सञ्चालन गरेको छ ।
रेडियन्ट ग्यास उद्योगको ५० मिटर दूरीमा खप्तड विद्या निकेतन (विद्यालय) रहेको छ । स्थानीयले सम्बन्धित सरकारी निकायले सो उद्योगलाई सो ठाउँमा स्थापना गर्ने अनुमति दिँदा नजिकको विद्यालय तथा वस्तीबारे कुनै चासो नदिएको आरोप लगाए । आइतबार उद्योग स्थानान्तरणको माग सहित कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल कहाँ गुनासो गर्न पुगेको स्थानीयले आफूहरूले उद्योग स्थापनाको शुरुदेखि नै विरोध गरे पनि कुनै सुनुवाई नभएको बताए ।
स्थानीयले ‘सुरक्षित र स्वस्थ भएर बच्न पाउने मौलिक अधिकारलाई सुनिश्चित गर्नुका साथै कानुन बमोजिम उद्योगलाई कारबाही गर्न’ माग गरेका छन् ।
स्थानीयका अनुसार रेडियन्ट ग्यास उद्योग सञ्चालनमा रहेको जग्गा भावना मेडिकल कलेजका नाममा दर्ता गरिएको छ । उनीहरूका अनुसार उद्योगले सुरक्षाका कुनै पनि मापदण्ड अपनाएको छैन । ‘उद्योगले ग्यासहरू पानीभित्र लिक गर्नुपर्ने भए पनि हावामै लिक गर्ने गरेको छ’ स्थानीय पदमराज भट्टले भने– यसले गर्दा मानव बस्तीभरी नै नराम्रो दुर्गन्ध आउँछ र बस्न सकिदैन । उनका अनुसार स्थानीयले मेडिकल कलेज सञ्चालन हुने भनेर आफनो जग्गा सो कम्पनीलाई बेचेका थिए ।
उद्योग सञ्चालन गरिसकेपछि सार्वजनिक सुनुवाई गर्नुपर्ने, वस्तीसँग सहकार्य गर्नुपर्ने, उद्योगको कुल आम्दानीमध्ये केही रकम सामाजिक कार्यमा लगानी गर्नुपर्ने भएपनि सो कार्य नभएको पनि स्थानीयहरूले बताएका छन् ।
स्थानीयको मागपत्र बुझ्दै कैलाली प्रमुख जिल्ला अधिकारी रिजालले जिल्ला प्रशासन कार्यालयले यस विषयमा गम्भीर भएर अनुसन्धान कार्य अघि बढाउने आश्वासन दिए । प्रशासन कार्यालयले कानुन अधिकृत लोकमणि पाण्डेको नेतृत्वमा कम्पनीमाथि छानविन अघि बढाउने र एक हप्ताभित्र रिपोर्ट स्थानीयलाई प्रदान गर्ने बताए । उनले अनुसन्धानपश्चात प्रशासनले कानुनी कारवाही अघि बढाउने बताए ।
उता, कम्पनीका प्रवन्ध निर्देशक दिवान चन्दले ग्यांस उद्योग सञ्चालनका लागि आफूहरूले सम्पूर्ण मापदण्ड पूरा गरेको दावी गरेका छन् । उनले शुरुमा मेडिकल कलेज खोल्न भनी जग्गा लिए पनि सेयर होल्डरहरूबीच कुरा नमिल्दा सो उद्योग सञ्चालन गरिएको स्वीकार गरे ।
उनका अनुसार ०६५ सालमा उद्योग सञ्चालन प्रक्रिया अघि बढाउँदा सञ्चारमाध्यम, गाविस र घरेल तथा साना उद्योग कार्यालयमा दावी विरोधसम्बन्धी सार्वजनिक सूचना टाँस गरिएको र कसैको दावी विरोध नआएपछि गाविस, घरेलु कार्यालयले सञ्चालनको अनुमतीपत्र दिएको थियो । उनले २०६५ सालतिर उद्योग गाउँ विकास कार्यालय अन्तर्गत परेको र गाविस कार्यालयमा जग्गा लिँदा सन्धियारहरूको मन्जुरी नामा लिनुपर्ने व्यवस्था नभएको बताए ।
ग्याँस उद्योग महासंघका महासचिव समेत रहेका चन्दले सुरक्षा मापढण्ड चेकजाँचका लागि गुणस्तरिया तथा नाप तौल प्रविधि कार्यालयमा निवेदन दिएको बताए । उनले सुरक्षा मापढण्ड जारी भएको एक वर्ष भएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार