५ जेष्ठ २०८१, शनिबार

गिट्टी कुटेर पढाई खर्च जुटाउँदै बालबालिका



अछाम । बिहान सूर्य नउदाउँदै गिट्टी कुट्न जाने कक्षा ५ मा अध्ययनरत (वर्ष १२) हस्त धामी विद्यालय जाने समय ९ बजे घर पछि मात्र घर फर्कने गरेका छन् । विद्यालयको समय पठनपाठन सकिए पछि साँझ ४ बजे फेरि गिट्टी कुट्न जाने गरेका छन् । धामी जस्तै अछामको साँफेबगर नगरपालिका वडा नं. ११ का देविस्थानस्थित सेती लोकमार्गमा देविस्थानस्थित सेती लोकमार्ग सडक छेउछाउमा केही बालबालिकाहरू यसरी गिट्टी कुटेर पढाई खर्च जुटाउदै आएका छन् । विद्यालय समय वाहेक उनीहरू राजमार्ग छेउछाउमा ढुंगा जम्मा गरेर गिट्टी कुटिरहेको अवस्थामा भेटिने गर्दछन् । विद्यायल समयमा पढाई गर्ने र अन्य समय प्रायः उनीहरू गिट्टी कुट्ने काममा व्यस्त रहने गरेका छन् । आवश्यकताहरू आफै जुटाउन र खाली समयको सदुपयोग गर्ने गरेको धामीको भनाई रहेको छ । ‘आर्थिक अवस्था कमजोर छ ।’ उनले भने– ‘गिट्टी कुटेर पढाई खर्च जुटाउँदै आएको छु ।’ देविस्थानमा रहेको महाकाली प्राविमा कक्षा ५ मा अध्ययनरत साउँद पढाई खर्चसँगै लुगाफाटोको जोहो समेत गर्दै आएका छन् ।
यस्तै, साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानमास्थिते महाकाली प्रावि कक्षा ३ मा अध्ययनरत (१०) विरकला बोहरा पनि आर्थिक अवस्था कमजोर भएपछि गिट्टी कुटेर पढाई खर्चको जोहो गर्दै आएकी छन् । दुई वर्षअघि आमाको मृत्यु भएपछि बोहरालाई पनि पढाईको लागि खर्च जुटाउन समस्या भएपछि गिट्टी कुट्न बाध्य भएकी छन् । आँखाबाट आँशु खसाल्दै उनले भनिन– दुई वर्षअघि आमा वितिन अहिलेको आमाको याद सारै आइरहेको छ । गिट्टी कुटेर नै आफूले आवश्यक पर्ने कापी कलमका साथै लुगाफाटोका लागि समेत पैसा जम्मा गर्ने गरेको बताइन् । साथीहरूसँग गिट्टी कुटनको लागि हथौडा भएपनि आफूसँग हथौडा नभएपछि कोदालोले गिट्टी कुटने गरेको बताइन् । बालबालिकाका क्षेत्रमा काम गर्ने कर्यौ संस्थाहरू भएपनि आफूहरूलाई कसैले सहयोग नगरेको बताइन् । महाकाली प्राविमा अध्ययनरत विद्यार्थीहरू राजमार्ग छेउछाउमा गिट्टी कुट्नका लागि नै बिहान बेलुका जादै आएका छन् । छेउमै रहेको महाकाली प्राविको भवन निर्माणको लागि उनीहरू गिट्टी कुट्न थालेका हुन् ।
महाकाली प्राविका कक्षा २ मा अध्ययनतरत गर्ने युवराज बोहरा पनि विद्यायलमा पढाईसँगै गिट्टी कुट्ने खर्च जुटाउँदै आएका छन् । आफ्ना आवश्यकताहरू आफै जुटाउन र खाली समयको सदुपयोग गर्ने गरेको उनले बताए । ‘बुवा भारततिर हुनुहुन्छ, आमा घरको काममा व्यस्त हुनुहुन्छ ।’ उनले भने– ‘त्यसैले मैले पनि केही काम गरेर आफ्नो खर्च जुटाउन पर्छ सोचेर खाली समय गिट्टी कुटेर बिक्री गर्ने गर्दछु ।’ उनले भने बिहान बेलुका कम्तिमा पनि ४ देखि ५ कट्टा गिट्टी फोडेर बेच्ने गर्दछु । यसले मेरो कापी कलम मात्र नभएर घरको आश्यकता समेत परिपूर्ति हुने गरेको छ ।’ एक कट्टाको दुई समय रुपैयाँ दिने गरेको बोहराले बताए । अरु बिहान र बेलुकाको समय खेलेर बिताउँछन् तर आफू भने हातमा हतौडा र कट्टा लिएर सडक छेउ गिट्टी कुट्न निस्कने गरेको बताउँछन् ।
यस्तै सोही विद्यालय कक्षा पाँचमा अध्ययरत बालिका भाग्य धामी पनि दिनहँु फुर्सदको समयमा गिट्टी कुटेर आफ्नो पढाइ खर्च जुटाउने गर्छिन् । उनी आफ्नो साथीहरूसँग खेल्न जानुभन्दा पनि गिट्टी कुटेर समय बिताउन सहज लाग्ने बताउँछिन् । सडक छेउका विपन्न र गरीब परिवारका बालबालिका विद्यालय समय अघिपछि प्रायः गरी हातमा हतौडा र गिट्टी जम्मा गर्ने बोरा समातेको अवस्थामा सडक छेउमा भेटिने गर्दछन् । गिट्टी कुट्ने रहर नभएर बाध्यता रहेको आयआर्जन कम भएका विपन्न परिवारका बालबालिकाको भनाइ रहेको छ । राजमार्ग आसपासका गाउँका पुरुष प्रायः रोजगारका लागि भारततिर जाने भएकाले र सो पैसाले घरखर्च चलाउन पनि मुस्किल पर्ने भएकाले बालबालिका दैनिक कामकाज चलाउनका लागि भए पनि सडक किनारामा गिट्टी कुट्ने कार्य गर्दै आएका छन् । जिल्लाका केही सडक छेउमा कलिला हातले कुटेको गिट्टी र जम्मा गरेको बालुवाले ठूल्ठूला निर्माण कार्य भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार