५ जेष्ठ २०८१, शनिबार

कृषि उत्पादन बढाउन अनुदानमा बृद्धि



कञ्चनपुर । कृषि उत्पादन बढाउन सरकारले अनुदान र ऋण उपलब्ध गराउँदै आएको छ । गैरसरकारी संघसंस्थाले पनि कृषि उत्पादन वृद्धिका लागि कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । बीउबिजनदेखि कृषि औजार वितरणसंगै कृषकलाई उत्साहित बनाउन सरकारले एउटै जिल्लामा पनि बर्षेनी करोडौं रुपैयाँ लगानी गरिरहेको छ ।
तर, भारतबाट आयात हुने खाद्यान्न तथा तरकारी र फलफूलको परिमाण हेर्ने हो भने आयात बढिरहेको छ । प्रदेश ७ का मुख्य नाकाहरू कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीबाट दिनहुँजसो लाखौंको परिमाणमा खाद्यान्न र तरकारी भित्रिने गरेको छ ।
क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका अनुसार गत आर्थिक वर्ष २०७३/०७४ मा ३७ करोड रुपैयाको खाद्यान्न, साढे १३ करोड रुपैयाको तरकारी २३ करोड रुपैयाको आलु तथा १२ करोड रुपैया बढीको फलफूल भारतबाट आयात भएको थियो ।
यसैगरी १२ करोड रुपैया बढीको तेलहन र ३७ करोड रुपैयाको पशुदाना आयात भएको कार्यालयले जनाएको छ । खाद्यान्नतर्फ १४ करोड रुपैयाको चामल र २३ करोड रुपैयाको गहुँ आयात भएको छ ।
त्यसैगरी तरकारीमध्ये अढाई करोड रुपैयाको टमाटर र एक करोड रुपैयाको प्याज आयात भएको छ ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा खाद्यान्न तथा तरकारी आयात अझ बढ्ने कार्यालयले अनुमान गरेको छ ।
क्षेत्रीय प्लान्ट कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकको अवधिमा साढे चार करोड रुपैयाको गहुँ र चार करोड रुपैया बढीको चामल आयात भइसकेको छ ।
त्यसैगरी पाँच करोड रुपैयाको तरकारी र छ करोडको फलफूल आयात भइसकेको छ । ‘गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा खाद्यान्न, तरकारी र फलफूल आयातको अनुपात निकै बढेको छ’ प्लान्ट क्वारेन्टाइन अधिकृत गजाधर जोशीले भने– यहाँबाट निर्यात हुने वस्तुको परिमाण भने शून्य जस्तै भएको छ ।
तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर धान र गहुँ उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छन् । तर यिनै दुई जिल्लाको नाका भएर आयात हुने खाद्यान्नको परिमाणले सबैलाई झस्काउने गरेको छ ।
‘भारतबाट आयात हुने खाद्यान्नको परिमाण झस्काउने खालको छ’ जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी भन्छन्– खाद्यान्नसंगै तरकारी र फलफूल आयातको तथ्यांक पनि डरलाग्दो तरिकाले बढिरहेको छ ।
कैलालीमा ७० हजार हेक्टरभन्दा बढीमा धान खेती र ३५ हजार हेक्टरमा गहुँ खेती गरिन्छ । यस्तै कञ्चनपुरमा ५० हजार हेक्टरमा धान खेती र ३० हजार हेक्टरमा गहुँ खेती गरिंदै आएको छ । दुवै जिल्लामा धान र गहुाको उत्पादकत्व ३ देखि साढे ३ टन प्रतिहेक्टर छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार