५ जेष्ठ २०८१, शनिबार

घाँसे मैदानको अनुसन्धान शुरु



कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धानको कार्य सुरु गरिएको छ । निकुञ्जमा डार्बिन परियोजना सुरु भएपछि वैज्ञानिक अनुसन्धानको कार्यलाई अगाडि बढाइएको छ ।
सिंहपुरफाँटाको २० हेक्टर घाँसे मैदानलाई पाँच वटा ब्लकमा विभाजन गरी हरेक ब्लकलाई फरकफरक क्रियाकलाप गरी वैज्ञानिक परीक्षणको कार्य भइरहेको जुलोजिकल सोसाइटी अफ लण्डन, नेपाल अफिसका निरीक्षण एवं सर्भेक्षण अधिकृत प्रदीपराज जोशीले बताएका छन् ।
‘तीन वर्षदेखि घाँसे मैदानमा रहेका ढड्डी, खरलगायतका वनस्पति काटेर आगो लगाउने, त्यसै छाड्ने, वनस्पति नकाटी आगो लगाउने र काटेर त्यसै छाडिदिने, बन्यजन्तुको उपस्थितिको अभिलेख राख्ने र घाँसको अवस्थालाई हेर्ने लगायतका क्रियाकलाप अगाडि बढाउँदै आएका छौ’, उनले भने ‘यस्तै विधिका आधारमा वन्यजन्तुको उपस्थिति, व्यवहार अवलोकन गर्ने, वनस्पतिको अवस्थालाई परीक्षण गर्ने र वन्यजन्तुको अनुकूलनका साथै ब्लकको नतिजाअनुसार घासे मैदान प्रयोगमा ल्याइने छ ।’
वैज्ञानिक अनुसन्धानको कुन विधि सफल हुन्छ त्यसै आधारमा घासे मैदान प्रयोगमा ल्याइने बताउँदै घासे मैदानमा यस्तो अनुसन्धानको कार्य नौलो हो । निकुञ्जलाई राष्ट्रिय अन्तराष्ट्रियस्तरमा चिनाउने नै घासे मैदान भएकाले यो बाह्रसिंगे, बाघ, गौडा र विभिन्न चराचुरुङ्गीको बासस्थानका रुपमा रहेकाले वन्यजन्तु र विचरणका दृष्टिले महत्वपूर्ण रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका सहायक संरक्षण अधिकृत अनिल प्रसाईंले बताएका छन् ।
‘निकुञ्जमा खाद्यचक्रको मुख्य परभक्षी बाघ, चितुवा लगायतले आहाराका रुपमा प्रयोग गर्ने बाह्रसिंगा, हरिण, बादेल लगायतलाई लखेटीलखेटी संघर्ष गरेर शिकार गर्ने भएकाले सयौको संख्यामा निकुञ्ज क्षेत्रमा छाडिने चौपायालाई नलखेटिकनै शिकार गर्ने भएकाले त्यो सिद्धान्तविपरीत हुन्छ’, उनले भने । रोगको संक्रमण बढ्ने सम्भावनासमेत उत्तिकै रहेको उनको भनाइ छ ।
नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाटा निकुञ्जलाई घासे मैदान संरक्षण र व्यवस्थापनका हिसाबले सबैभन्दा महत्वपूर्ण संरक्षण क्षेत्रका रुपमा लिइन्छ । निकुञ्जमा सानाठूला गरी १२ ठूला तथा फराकिला खुला घांसे मैदान रहेका छन् ।
बाह्रसिंगाको ठूलो बथान निकुञ्जको घासे मैदानमै आश्रित रहेको छ । यो निकुञ्ज संकटापन्न अवस्थामा रहेका बाघ, गैंडा, हात्ती, खरमजुर र सेतोकण्ठे धिप्सीलगायतका वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार