२२ बैशाख २०८१, शनिबार

पाँच दिनमै ४९ जना नयाँ कुुष्ठरोगी



धनगढी । कैलालीमा पाँच दिनको अवधिमा ४९ जना नयाँ कुुष्ठरोगी फेला परेका छन् । जिल्ला स्तरीय कुष्ठरोग निवारण अभियानअन्तर्गत गरिएको खोज पडतालका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा गरी ४९ जना नयाँ कुष्ठरोगी फेला परेको जनाइएको छ । फेला परेका नयाँ कुष्ठरोगीमध्ये छ जनामा कडा खालको अपाङ्गता रहेको छ ।
फेला परेका ४९ जना कुष्ठरोगीमध्ये पौसिबेसिलरी (पिवि) का ३५ र मल्टिबेबिसलरीका १४ जना कुष्ठरोगी रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले लम्की–चुहा, टीकापुर, भजनी र गौरीगंगा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकामा खोज पडताल अभियान सञ्चालन गरेको थियो ।
अभियानअन्तर्गत सबैभन्दा बढी टीकापुर नगरपालिकामा पौसिबेसिलरी (पिवि) का नौ र मल्टिबेबिसलरीका चार गरी १३ जना कुष्ठरोगी फेला परेका थिए । १३ जनामध्ये दुई जनामा कडा खालको अपाङ्गता भएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीले जनाएको छ ।
त्यस्तै, भजनी नगरपालिकामा ११, जानकी गाउँपालिकामा १०, गौरीगंगा र लम्की चुहा नगरपालिकामा छ/छ र जोशीपुर गाउँपालिकामा तीन जना कुष्ठरोगी फेला परेका थिए ।
भजनी नगरपालिकामा तीन र गौरीगंगा नगरपालिकामा एक जनामा कडा खालको अपाङ्गता रहेको पाइएको छ ।
खोज पडताल अभियानका क्रममा २५ जना पुरुष, २४ जना महिला र दुई जना बालकमा कुष्ठरोग देखा परेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी कुष्ठरोगी रहेका छन् ।
गत आर्थिक वर्ष २०७३/०७४ मा धनगढी उपमहानगरपालिकामा प्रति दश हजार जनामा एक दशमलव ६१ प्रतिशत कुष्ठरोगी रहेका थिए ।
त्यस्तै, लम्की चुहा नगरपालिकामा एक दशमलव २५, टीकापुरमा एक दशमलव ३४, भजनीमा एक दशमलव ४८ र गौरीगंगामा शून्य दशमलव ३० प्रतिशत कुष्ठरोगी रहेका थिए ।
त्यस्तै, जोशीपुरमा एक दशमलव ६४ र जानकी गाउँपालिकामा एक दशमलव ५९ प्रतिशत रहेका थिए । कैलालीका अन्य स्थानीय तहमा भने प्रति दश हजारमा एक प्रतिशतभन्दा कम कुष्ठरोगी रहेका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका सहायक कुष्ठरोग सुपरभाइजर दीपेन्द्र जोशीले कैलालीमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म २० जना नयाँ कुष्ठरोगी फेला परेको बताए । गत आर्थिक वर्ष २०७३/७४ मा यो अवधिमा ४७ जना नयाँ कुष्ठरोगी फेला परेका थिए ।
सहायक कुष्ठरोग सुपराइजर जोशीका अनुसार यस वर्ष कैलालीमा उपचारमा आएका नयाँ २० जना कुष्ठरोगीमध्ये दुई जनामा देखिने खालको अपाङ्गता रहेको छ । यो वर्ष १० जना महिलाहरू कुष्ठरोगबाट प्रभावित रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा ८४ जना कुष्ठरोगीहरू उपचारत रहेका छन् ।
जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०६९/७० मा एक सय ६० जना नयाँ कुष्ठरोगी फेला परेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७०/७१ मा एक सय ७८ र आर्थिक वर्ष २०७१/७२ मा दुई सय ६४ जना नयाँ कुष्ठरोगी रहेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा ९४ र आर्थिक वर्ष २०७३/०७४ मा एक सय २३ नयाँ कुष्ठरोगी फेला परेका थिए ।
जनस्वाथ्य कार्यालयको तथ्यांकअनुसार कैलालीमा आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२, २०७२/७३ र आर्थिक वर्ष २०७३/०७४ मा क्रमश: ७६, ६९, एक सय ३२, ४० र ५७ जना महिला कुष्ठरोगबाट ग्रसित थिए ।
त्यस्तै, यी वर्षहरूमा कुष्ठरोगबाट ग्रसित भएका बालबालिकाको संख्या क्रमश: १५, आठ, सात, दुई र छ रहेको थियो ।
सरकारले प्रति दश हजारमा एक प्रतिशतभन्दा बढी कुष्ठरोगी रहेको जिल्लामा कुष्ठरोगको बढी जोखिम रहेको मानेको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामध्ये कैलालीमा एक प्रतिशतभन्दा बढी कुष्ठरोगीका बिरामी रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कैलालीले दिएको जानकारी अनुसार जिल्लामा आर्थिक वर्ष २०६९/०७० मा प्रति हजारमा एक दशमलव ७८ प्रतिशत कुष्ठरोगी रहेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७०/७१ मा एक दशमलव सात, ०७१/७२ मा एक दशमलव तीन, ०७२/७३ मा एक दशमलव ३९ र आर्थिक वर्ष ०७३/७४ मा एक दशमलव २० प्रतिशत कुष्ठरोगी रहेका छन् ।
जिल्लामा नयाँ बिरामी पत्ता लगाउने दर प्रति एक लाखमा १३ जना रहेका छन् । कार्यालयले कुष्ठरोगीका बिरामी दर लक्ष्य अनुरूप घटाउन नसकेको सुपरभाईजर जोशीले बताए ।
तराईको दाङ जिल्लाबाहेक अन्य जिल्लामा कुष्ठरोगको जोखिम रहेको बताइन्छ ।
सुपरभाइजर जोशीका अनुसार नेपालभरी तीन हजारभन्दा बढी कुष्ठरोगी उपचारमा रहेका छन् । उनले सुदूरपश्चिममा कैलालीमा सबैभन्दा बढी कुष्ठरोगी रहेको बताए । त्यस्तै, कञ्चनपुर र अछाम क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् । उनले कुष्ठरोगको समस्या रहेकाले निवारणका लागि नेपाल सरकारले चालू आर्थिक वर्षमा विशेष अभियान सञ्चालन गरिरहेको बताए ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक अनुज भट्टचनले कुष्ठरोगका कारण कसैको मृत्यु नहुने बताए । उनले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा अझैं पनि कुष्ठरोगीहरू खुलेर उपचारमा आउन नसकिरहेको बताए । उनले कुष्ठरोग लुकाएर राख्दा मानिसले अपाङ्ग हुनुपर्ने अवस्था सिर्जना हुने बताउँदै कुष्ठरोगका लक्षण देखिएमा नलुकाएर उपचार विधिमा आउन आग्रह गरे ।
कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चापागाईले कैलाली नेपाल–भारत सीमा क्षेत्रमा पर्ने र भारतमा बढी कुष्ठरोगी भएका कारण यस क्षेत्रमा निवारण गर्न चुनौति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार