२१ बैशाख २०८१, शुक्रबार

सर्जनको संख्या न्यून



काठमाडौं । नेपालका २५ पहाडी जिल्लामा गरिएको एक अध्ययनले सर्जनको संख्या निकै न्यून रहेको देखाएको छ ।
निक साइमन्स इन्स्टिच्युटले हालै सार्वजनिक गरेको ‘सर्जरी इन नेपाल्स रिमोट डिस्ट्रिक्स’ नामक सर्वेमा एक लाख जनसंख्याका लागि एउटा सर्जन, एनेस्थेसियोलोजिस्ट र अब्सेट्रेटिसियनको समूह (एसएओ) समेत नभएको उल्लेख छ ।

फाइल तस्बिर

हालको अवस्थामा एक लाख जनसंख्याका लागि एकभन्दा कम अर्थात् ०.४ एसएओ रहेको देखिएको छ । जबकि ल्यासेन्ट कमिसनले प्रति एक लाख जनसंख्यामा २० एसएओ हुनुपर्ने जनाएको छ ।
२५ जिल्लामा जम्मा १३ एसएओ रहेकोमा त्यसमा पनि सात वटा त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै रहेको छ । सुदूरपश्चिदेखि सुदूरपूर्वका २५ जिल्लामा बाँकी ६ एसएओ अर्थात् सर्जरी गर्न सक्ने समूह रहेको पाइएको छ । जसले पहाडी जिल्लामा शल्यक्रिया सेवाको अवस्था निकै कमजोर रहेको देखिएको अध्ययनकर्तामध्येका एक ओल्ली रोसले बताएका छन् ।
नेपालको दुर्गम क्षेत्रमा शल्यक्रियाबाट गरिने उपचार सेवाको अवस्थाबारे तथ्यगत जानकारी लिन उक्त अध्ययन गरिएको हो । दुई वर्ष लगाएर गरिएको अध्ययनले यस बाहेकका कुराको पनि विश्लेषण गरेको छ ।
ल्यासेन्ट कमिसनले एक लाख जनसंख्यामा पाँच हजार शल्यक्रियाको लक्ष्य लिएको छ । तर, यी जिल्लामा सामान्य शल्यक्रिया प्रति एक लाखमा तीन सय ८७ मात्रै र जटिल शल्यक्रिया प्रति एक लाख जनसंख्यामा ८० मात्रै भइरहेको देखिएको छ ।
ती २५ जिल्लामा भइरहेका शल्यक्रियामध्ये पनि सिजरियन सेक्सन (सिएस) अर्थात् शल्यक्रियाबाट प्रसूति सेवा धेरै भइरहेका छन् । अध्ययन गरिएको उक्त जनसंख्यामध्ये सिएस ९७ प्रतिशतको पहुँचमा छ भने जिआई ल्यापरोटोमी २२ प्रतिशतको र मेजर अपरेटिभ अर्थोपेडिक्स ३४.८ प्रतिशतको पहुँचमा भएको देखिएको छ ।
विश्वमा एमडिजिपीलाई सर्जनका रूपमा लिइदैन । तर, नेपालको परिप्रेक्ष्यमा दुर्गम जिल्लामा आपतकालीन शल्यक्रियाका लागि एमडिजिपीकै भर पर्नुपर्ने अवस्था छ । त्यसैले हाल प्रति एक लाखमा ०.४ मात्रै एसएओ रहेकोमा एमडिजिपी जोड्दा एक जना हुनसक्ने विश्लेषण गरिएको छ । त्यसैगरी एमडिजिपी, एसिस्टेन्ट एनेस्थेसियोलोजिस्ट, दक्ष प्रसूति तालिम लिएको व्यक्ति र मेडिकल अफिसर जोड्दा ३.१ जना हुने देखिन्छ ।
हाललाई शल्यक्रियाका लागि जनशक्तिको अभाव कम गर्न एमडिजिपीलाई थप दक्ष बनाएर यसतर्फ केन्द्रित गराउन सकिने बहस सुरु गरिएको छ ।
अध्ययन टोलीमा ओल्ली रोस, रविना शाक्य, सृष्टि शाह, अमिता प्रधान, राहुल श्रेष्ठ, पुष्कर भण्डारी, बेक्की पेरिस, रिसभ श्रेष्ठ, अनिल श्रेष्ठ र मार्क जिम्मरम्यान रहेका थिए ।
टोलीले पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, सोलुखुम्बु, दोलखा, रामेछाप, रसुवा, लमजुङ, गुल्मी, म्याग्दी, मनाङ, मुस्ताङ, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङ, डोल्पा, अछाम, रुकुम, दार्चुला, बैतडी र डोटी गरि २५ जिल्लामा अध्ययन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार