२२ बैशाख २०८१, शनिबार

सन्दर्भ : नेपाल नर्सिङ दिवस : नर्सहरूको गुनासो– राज्यले उचित व्यवस्थापन गरेन



धनगढी । केही दिनअघि देशभरी नर्सहरूले आन्दोलन गरे । दिनरात विरामीको सेवामा खटिनुपर्ने भए पनि सेवासुविधामा राज्यले हेपचेप गरेको गुनासो सहित नर्सहरूले केही दिन कडा आन्दोलन गरेपछि अन्त्यमा सरकारले उनीहरूका कुरा सुन्न तयार भयो । सरकारले उनीहरूका माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेपछि आन्दोलन फिर्ता भएको छ ।
नर्सहरूको गुनासो छ– हरेक वर्ष उल्लेख्य संख्यामा नर्सहरू उत्पादन हुन्छन्, तर राज्यले उचित व्यवस्थापन गर्न सकेको छैन । परिणामस्वरूप नर्सहरूले रोजगारी र पेसागत सुरक्षालगायतका समस्या बेहोर्दै आएका छन् ।
कैलाली नर्सिङ संघकी अध्यक्ष यशोदा ढकाल भन्छिन्– ‘कैलालीमा मात्रै पनि बर्सेनि ७० देखि एक सय जना नयाँ नर्सहरू उत्पादन हुन्छन्, तर राज्यले उनीहरूको उचित रोजगारीको ग्यारेण्टी गर्न सकेको छैन । नर्सहरूले निजी अस्पताल, क्लिनिकहरूमा रोजगारी पाए पनि न्यून ज्यालामा काम गर्नुपरेको छ ।’
पछिल्लो समय कैलालीमा नर्सिङ विषय अध्यापन गर्ने शैक्षिक संस्थाको संख्या पनि बढेको छ । हाल कैलालीमा सिटिईभिटीबाट मान्यता प्राप्त पाँच वटा नर्सिङ कलेज सञ्चालनमा छन् ।
कैलालीको भागेश्वर र शैलेश्वरी नर्सिङ कलेजमा ४०/४० अध्यापन कोटा र अन्य तीन कलेजले २०/२० गरी जिल्लामा वार्षिक एक सय विद्यार्थीहरूले नर्सिङ विषय अध्ययन गरिरहेका छन् । नर्सिङ विषय अध्ययन गर्नेमध्ये सरदर ७० देखि ८० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।
भागेश्वर नर्सिङ कलेजका क्याम्पस प्रमुख नेत्रप्रसाद उपाध्यायले कलेजमा ४० जना विद्यार्थीले नर्सिङ अध्ययन गर्ने र ७० देखि ८० प्रतिशत विद्यार्थी पास हुने गरेको बताए । उनले नर्सिङ उत्तीर्णमध्ये कति जनाले रोजगारी पाउँछन् ? भन्ने खासै जानकारी नभएको बताए । उनले नर्सिङ विषय पढ्ने र रोजगारीका लागि विदेश जाने प्रचलन पनि बढिरहेको जानकारी दिए ।
‘कोही निजी र कोही सरकारी अस्पतालमा काम गर्न थाल्छन्, भने धेरैजसो विदेश जाने तरखरमा हुन्छन्’ उनले भने– ‘नर्सिङ विषय पढेका विद्यार्थीले बेरोजगार नै बस्नु परेको अवस्था भने छ्रैन ।’
कैलाली नर्सिङ संघकी अध्यक्ष ढकालले जिल्लामा रहेका प्रत्येक स्वास्थ्य केन्द्रमा एक नर्स र सेती अञ्चल अस्पतालमा ७२ जना नर्स कार्यरत रहेको जानकारी दिइन् । उनले विश्व स्वास्थ्य संगठनका अनुसार एउटा जनरल वार्डमा एक जना नर्सले पाँच जनासम्म बिरामी हेर्नुपर्ने पर्छ । तर, सेती अञ्चल अस्पतालमा एक नर्सले २५ देखि ५० जना विरामी हेर्नुपर्ने अवस्था रहेको छ ।
उनले हालसम्म कति जना नर्स सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत छन् भन्ने तथ्यांक नभएको बताइन् । उनले सरकारले आफूले बनाएको मापदण्डअनुसार सबै अस्पतालमा दरबन्दीअनुसार नर्स नियुक्त गर्ने हो भने एक तिहाइ नर्सको व्यवस्थापन गर्न सकिने बताइन् ।
उनले नर्सको आवश्यकता अत्यधिक हुँदाहुँदै पनि सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा बेरोजगारी समस्या बढेको बताइन् ।
‘प्रमाणपत्र तहको नर्स तयार हुँदासम्म छ लाख रुपैयाँ बढी रकम खर्च भइसक्छ’ उनले भनिन्– ‘तर, सजिलै जागिर पाइन्न । भोलेन्टियर भएर कति समय काम गर्ने भन्ने कतै उल्लेख छैन । अस्पतालमा भोलेन्टियर गरिरह्यो, वर्षौं बित्छ, तर अस्पतालले रोजगारी दिने विषयमा सोच्दैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार