२७ पुष २०८१, शनिबार

सम्बन्ध विच्छेदका घटनामा बृद्धि



डडेल्धुरा । पछिल्ला वर्षहरुमा डडेल्धुरामा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । जिल्ला अदालतको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा २२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
चालू आर्थिक वर्षमा दर्ता भएका जम्मा ४२ मुद्दामध्ये २२ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेको जिल्ला अदालत डडेल्धुराका मुद्दा शाखाका खरिदार धर्मसिंह महराले जानकारी दिए । ‘चालु आर्थिक वर्षमा लगत सरेका २५ मुद्दासमेत गरी ६७ मुद्दा दर्ता भएका छन,’ उनले पछिल्ला वर्षहरुमा जिल्ला अदालतमा दर्ता हुने मुद्दामध्ये ४५ प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेको बताए ।
गत आर्थिक वर्ष २०७३/०७४ मा दर्ता भएका कूल ९९ मुद्दामध्ये सम्बन्ध विच्छेदका २९ वटा रहेको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । अदालतका अनुसार चालू आर्थिक वर्षमा दर्ता भएका २२ वटा सम्बन्ध विच्छेदका मुद्दामध्ये ६ महिनामा ६ वटा फच्र्याैट भएका छन् । ‘अंश मागसहित दर्ता हुने सम्बन्ध विच्छेदका मुद्दाहरु फच्र्यौट हुन बढी समय लाग्ने गरेको छ,’ मुद्दा फाँटका खरिदार महराले भने, ‘वहुविवाह, घरेलु हिंसा र जबर्जस्ती करणीसम्बन्धि मुद्दासमेत बर्सेनी बढदै गएका छन् ।’
जिल्ला अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदको मुद्दा संख्याले समाजमा पति–पत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको देखाउँछ । वैदेशिक रोजगारीका कारण लामो समयसम्म श्रीमान् नफर्किएको, बालविवाह, बढ्दो घरेलु हिंसा, महिलामा आएको चेतना र श्रीमानले श्रीमतीको समान अस्तित्व नस्वीकार्ने लगायतका कारण सम्बन्ध विच्छेद बढेको कानून व्यवसायीहरु बताउँछन् ।
नेपाल बार एसोसिएशन जिल्ला अदालत बार इकाइ डडेल्धुराका अध्यक्ष अधिवक्ता विष्णु भट्ट बदलिंदो सामाजिक परिस्थिति, मोबाइल, फेसबुकजस्ता प्रविधीहरुको दुरुपयोग, सामाजिक, पारिवारीक र सांस्कृतिक परिवर्तनसँगै सम्बन्ध विच्छेद पनि वृद्धि भएको बताउँछन ।
‘वैवाहिक सम्बन्धलाई पछिल्लो पुस्ताले ‘कच्चा धागो’ मा परिणत गरेका छन,’ उनले भने, ‘महिला अधिकारको विषयलाई सही रूपमा व्याख्या विश्लेषण नगरी सतही रूपमा मात्र बुझ्ने गरिएकाले पनि सम्बन्ध विच्छेदतर्फ अग्रसर गराइरहेका छन् । यस कार्यमा सुधार नभएसम्म सम्बन्ध विच्छेदका घटना वृद्धि भइरहन्छन् ।’
स्थानीयका अनुसार सम्बन्ध विच्छेद गरेका केही महिलाले मात्र सहज जीवनयापन गरेका छन् । ‘बालबालिका भएका अधिकांश महिलाले सम्बन्ध विच्छेदपछि तत्कालका लागि राहत पाएको महसुस गरे पनि दीर्घकालीन रूपमा समाज र परिवारमा धेरै कठिनाइहरूसँग सामना गर्नुपर्ने हुन्छ’ स्थानीय सामाजिक अगुवा शेरबहादुर गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार