२१ बैशाख २०८१, शुक्रबार

कुष्ठरोग निवारण अभियान : रोगीहरूको संख्यामा कमी आउँदै



धनगढी । कैलालीमा पछिल्ला वर्षहरूमा कुष्ठरोगीको संख्या कमी हुँदै गएको छ । यद्यपि अझैं पनि कैलालीमा कुष्ठरोग निर्मुल हुन केही वर्ष लाग्ने बताइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका अनुसार जिल्लामा कुष्ठरोगका बिरामीको संख्या पछिल्ला वर्षहरूमा कम हुँदै गएको छ ।
जनस्वास्थ्य कार्यालयले शुक्रबार धनगढीमा आयोजना गरेको ‘सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया’ मा सहायक कुष्ठरोग सुपरभाइजर दीपेन्द्र जोशीले कैलालीमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म २० जना नयाँ कुष्ठरोगी फेला परेको बताए । गत आर्थिक वर्ष २०७३/७४ मा यो अवधि (कात्तिक मसान्त) सम्ममा ४७ जना नयाँ कुष्ठरोगी फेला परेका थिए ।
सहायक कुष्ठरोग सुपरभाइजर जोशीले चालू आर्थिक वर्षमा खोज पडताल अभियान सञ्चालन नभएकाले पनि नयाँ कुष्ठरोगी कम फेला परेको हुनसक्ने बताए । ‘विविध कारणले चालू आर्थिक वर्षमा हामीले खोज पड्ताल अभियान सञ्चालन गर्न सकेनौं, आफै स्वास्थ्य चौकीमा उपचारमा आएका नयाँ कुष्ठरोगी २० जना रहेका छन्’ उनले भने– ‘खोज पडताल गर्ने हो यो संख्या बढ्न सक्ने अनुमान गरेका छौं ।’
सहायक कुष्ठरोग सुपराइजर जोशीका अनुसार यस वर्ष कैलालीमा उपचारमा आएका नयाँ २० जना कुष्ठरोगीमध्ये दुई जनामा देखिने खालको अपाङ्गता फेला परेको छ । यो वर्ष १० जना महिलाहरू कुष्ठरोगबाट प्रभावित रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा ८४ जना कुष्ठरोगीहरू उपचारत रहेका छन् ।
जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०६९/७० मा एक सय ६० जना नयाँ कुष्ठरोगी फेला परेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७०/७१ मा एक सय ७८ र आर्थिक वर्ष २०७१/७२ मा दुई सय ६४ जना नयाँ कुष्ठरोगी रहेका थिए ।
त्यस्तै, आर्थिक वर्ष ०७२/७३ मा ९४ र आर्थिक वर्ष २०७३/७४ मा एक सय २३ नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए ।
जनस्वाथ्य कार्यालयको तथ्यांकअनुसार कैलालीमा आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२, २०७२/७३ र आर्थिक वर्ष २०७३/०७४ मा क्रमश: ७६, ६९, एक सय ३२, ४० र ५७ जना महिला कुष्ठरोगबाट ग्रसित थिए । त्यस्तै, यी वर्षहरूमा कुष्ठरोगबाट ग्रसित भएका बालबालिकाको संख्या क्रमश: १५, आठ, सात, दुई र छ रहेको थियो ।
सरकारले प्रति हजारमा एक प्रतिशतभन्दा बढी कुष्ठरोगी रहेको जिल्लामा कुष्ठरोगको बढी जोखिम रहेको मानेको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामध्ये कैलालीमा एक प्रतिशतभन्दा बढी कुष्ठरोगीका बिरामी रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कैलालीले दिएको जानकारी अनुसार जिल्लामा आर्थिक वर्ष २०६९/०७० मा प्रति हजारमा एक दशमलव ७८ प्रतिशत कुष्ठरोगी रहेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७०/७१ मा एक दशमलव सात, ०७१/७२ मा एक दशमलव तीन, ०७२/७३ मा एक दशमलव ३९ र आर्थिक वर्ष ०७३/७४ मा एक दशमलब २० प्रतिशत कुष्ठरोगी रहेका छन् ।
जिल्लामा नयाँ बिरामी पत्ता लगाउने दर प्रति एक लाखमा १३ जना रहेका छन् । कार्यालयले कुष्ठरोगीका बिरामी दर लक्ष्य अनुरूप घटाउन नसकेको सुपरभाईजर जोशीले बताए ।
कार्यक्रममा कुष्ठरोगको लक्षण, अवस्थाको बारेमा जानकारी गराउँदै एनएलआरका डा. कृष्णप्रसाद ढकालले तराईको दांगबाहेक अन्य जिल्लामा कुष्ठरोगको जोखिमनै रहेको बताए । उनले नेपालभरी तीन हजारभन्दा बढी कुष्ठरोगीका बिरामी अझै रहेको बताए ।
उनले सुदूरपश्चिमको सबैभन्दा बढी कैलाली, दोस्रोमा कञ्चनपुर र अछाममा कुष्ठरोगको समस्या रहेकाले निवारणका लागि नेपाल सरकारले यस आर्थिक वर्षमा कैलालीमा निवारणका लागि विशेष अभियान सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक अनुज भटचनले कुष्ठरोगका कारण कसैको मृत्यु नहुने बताए । उनले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा कुष्ठरोगीहरू खुलेर उपचारमा आउन नसकिरहेको बताए । उनले कुष्ठरोग लुकाएर राख्दा मानिसले अपाङ्गता हुनुपर्ने अवस्था सृजना हुने बताउँदै ‘कुष्ठरोगका लक्षण देखिएमा नलुकाएर उपचारविधिमा आए अपाङ्गता हुनुपर्दैन ।’
कार्यक्रम कैलाली वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चापागाईको अध्यक्षतामा भएको थियो ।

कुष्ठरोग निवारण अभियान सञ्चालन
कैलालीमा जिल्लास्तरीय कुष्ठरोग निवारण अभियान सञ्चालन गरिएको छ । कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयले कुष्ठरोग प्रभावित स्थानीय तहमा सो अभियान सञ्चालन गरेको जनाएको छ ।
६५ औं विश्व कुष्ठरोग दिवस तथा जिल्लास्तरीया कुष्ठरोग निवारण अभियान अन्तर्गत सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्लाको छ वटा स्थानीय तहमा अभियान सञ्चालन गरिएको कार्यालयका सहायक कुष्ठरोग सुपरभाइजर दीपेन्द्र जोशीले जानकारी दिए ।
उनले जिल्लाको लम्की–चुहा, टीकापुर, भजनी, गौरीगंगा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकामा अभियान सञ्चालन गरिएको जानकारी दिए । अभियान अन्तर्गत स्वास्थ्यकर्मीसँग अन्तरक्रिया, स्वास्थ्य शिविर, खोज पडताल लगायतका काम गरिने उनले जानकारी दिए ।
कैलाली नेपाल–भारत सीमा क्षेत्रमा पर्ने र भारतमा बढी कुष्ठरोगी भएका कारण यस क्षेत्रमा निवारण गर्न चुनौति रहेको उनले बताए । कार्यालयका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी कुष्ठरोगी रहेका छन् । आर्थिक वर्ष २०७३/७४ मा धनगढी उपमहानगरपालिकामा प्रति हजारमा एक दशमलब ६१, लम्की चुहामा एक दशमलब २५, टीकापुरमा एक दशमलब ३४, भजनीमा एक दशमलब ४८, गौरीगंगामा शून्य दशमलब ३०, जोशीपुरमा एक दशमलब ६४ र जानकी गाउँपालिकामा एक दशमलब ५९ प्रतिशत रहेको छ । जिल्लामा प्रति हजारमा एक दशमलब २० प्रतिशत कुष्ठरोगी रहेका थिए । जिल्लाका अन्य स्थानीय तहमा प्रति हजारमा एक प्रतिशतभन्दा कम कुष्ठरोगी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार