२३ बैशाख २०८१, आईतवार

ईटा व्यावसाय कमजोर हुँदै



धनगढी । कैलालीमा केही वर्षदेखि ईटा व्यावसाय कमजोर बन्दै गएको छ । सेती ईटा व्यावसायी संघका अनुसार दुई वर्षअघिको भूकम्प, नाकाबन्दी, शितलहर, वर्षा लगायतका कारण ईटा व्यावसाय कमजोर हुँदै गएको छ ।
संघमा आवद्ध ४० वटा ईटा उद्योगमध्ये दुई वर्षको अवधिमा तीन वटा उद्योग पूर्ण रूपमा बन्द भइसकेका छन् । त्यस्तै, पाँच वटा उद्योग आंशिक रूपमा बन्द हुने अवस्थामा पुगेको संघको तथ्यांकमा उल्लेख छ । संघका अनुसार धनगढीमा एक र घोडाघोडी क्षेत्रमा रहेका दुई ईटा उद्योग पूर्ण रूपमा बन्द भइसकेका छन् ।

फाइल तस्बिर

‘२०७२ सालको भूकम्पपछि सरकारले घर निर्माणमा रोक लगाउनु, नाकाबन्दी र आर्थिक वर्ष २०७३/०७४ मा बैंकले घर निर्माणमा लगानी बन्द गर्नु लगायतका कारणले दुई वर्ष ईटा व्यावसायीले मार खेप्न पर्‍यो’ संघका महासचिव दीपेन्द्र श्रेष्ठले अनुमोदन दैनिकसँग भने– ‘यस आर्थिक वर्षमा ईटा व्यावसायीले राहत मिल्छ भन्ने सोचेको थिए, तर झन् मार खेप्नु परेको छ ।’
महासचिव श्रेष्ठले चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ब्याजदर १४ प्रतिशतसम्म पुर्‍याउनु, कोईलाको मूल्य बृद्धि तथा डिजेल, ईन्धनको मूल्य बृद्धि र कच्चा ईटा उत्पादनमा ह्रास आएकोले व्यावसायीलाई समस्या भइरहेको बताए ।
ईटा व्यावसायी संघले चालू आर्थिक वर्षमा ईटाको माग बढ्ने अनुमान गरे पनि उत्पादनमा ४० प्रतिशतसम्म ह्रास आउने आँकलन गरेको छ । आर्थिक वर्ष २०७१/०७२ मा २० करोड गोटा ईटाको माग रहेकोमा दुई वर्षमा १० करोड ईटा पनि बिक्री नभएको संघले जनाएको छ । ‘चालू आर्थिक वर्षमा ईटाको माग बढ्ने अनुमान छ, सो अनुसार उत्पादन बृद्धि हुने अवस्था छैन’ महासचिव श्रेष्ठले शितलहर, वर्षा लगायतका कारण कच्चा ईटाको उत्पादनमा ह्रास आएको बताए ।
संघले पछिल्लो तीन वर्षमा ईटा व्यावसायीले प्रतिवर्ष १० देखि २५ लाख रुपैयाँसम्म घाटा ब्यहोर्नु परेको जनाएको छ । संघले अहिले प्रति ईटा ११ रुपैयाँका दरमा बिक्री भइरहेको र यो मूल्यमा बृद्धि नभए धेरैले व्यावसाय त्याग्नुपर्ने अवस्था सिर्जना हुने संघले जनाएको छ । संघले ढुवानीसहित प्रति ईटाको उत्पादन लागत १२ रुपैयाँ रहेको दावी गरेको छ ।
संघका अध्यक्ष विनोद शाहले सरकारले उद्योगहरूलाई प्रवद्र्धन गर्ने नीति बनाउन नसकेकोका बताए । ‘ईटा आवश्यक वस्तुमा पर्छ’ अध्यक्ष शाहले भने– ‘तर, ईटा व्यावसायलाई राज्यले मूल्य अभिवृद्धि कर (भ्याट) मा राखेको छ ।’
उनले हरेक वर्ष वर्षाका कारण काँचो ईटा गल्नु, कोईला, ईन्धन तथा श्रमिक मजदुरहरूको ज्यालामा बृद्धि लगायतका कारण उत्पादन लागत बढेको र सञ्चालक तथा उद्योगीले कडा परिश्रम र लगानी गरेर उत्पादन गरेको ईटाको मूल्य नबढेका कारण व्यावसायीले घाटा सहनु परिरहेको बताए ।
उनले सरकारले अहिले भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्ने नीति बनाएको, तर जगमा ईटाको प्रयोगको नीति नबनाइएकोले पनि घाटा भइरहेको बताए ।
अध्यक्ष शाहले सरकारले ईटा उद्योगहरूलाई फिक्स चिम्नीमा जानुपर्ने नीति बनाएको भए पनि अझै अस्थायी अनुमतीपत्र लिएर र केही अनुमतीपत्र नलिएर भुस्से ईटा सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार