८ कार्तिक २०८१, बिहीबार

बालिकाहरूले विद्यालयमै गरे सेनेटेरी प्याडको व्यवस्था



कैलाली । महिनाबारी हुँदा विद्यालय नआउने र पढिरहेको समयमा महिनावारी हुँदा कक्षा छोडेर जाने बाध्यता भएका सामुदायिक विद्यालयका बालिकाहरूको समस्यालाई ध्यान दिँदै छात्राहरूले विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गर्न थालेका छन् ।
विशेषगरी आधारभूत तह र सोभन्दा माथिका कक्षामा अध्ययनरत बालिकाहरूले महिनाबारी भएका बेला कम्तिमा चार दिन पढाई नै छोड्नुपर्ने बाध्यता रहेको छ ।
कक्षामा पढाई भइरहेको बेला महिनावारी हुँदा कक्षा छोडेरै घर दौडनुपर्ने बाध्यता झेल्दै आएका बालिकाहरूले विद्यालयमा बालिकामैत्री शौचालयको अभावमा झन् समस्या झेल्नु परिरहेको छ ।
यो समस्याबाट छुटकारा पाउन कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारी ‘एफ’ गाउँस्थित श्री खप्तड आधारभूत विद्यालयका बालिकाहरूले आफैले विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरेका छन् ।
विद्यालयमा अध्ययनरत कक्षा ६, ७ र ८ का विद्यार्थीहरू मिलेर सक्नेजति पैसा उठाएर सेनेटेरी प्याडको जोहो गरेको कक्षा ८ मा अध्ययनरत अंकिता दाहालले बताइन् । विद्यालयको एउटा छुट्टै कोठामा सेनेटेरी प्याड राखेको बताउँदै छात्रा दाहालले अहिले महिनावारी भएको अवस्थामा समस्या कम भएको बताइन् ।
कक्षा ८ मा अध्ययनरत प्रीति सुनारले पनि विद्यालयमा कहिलेकाही अपरझट हुने महिनावारीका कारण झेल्दै आएको समस्या समाधानका लागि आफूहरूले सेनेटेरी प्याडको व्यवस्था गरेपछि कम भएको बताइन् ।
‘अहिले टेन्सन कम भएको छ, महिनावारी भएपछि पढाई छोडेर जानुपर्ने अवस्था पनि हटेको छ’ अंकिताले भनिन्– ‘पढाई छोड्नु पर्दा धेरै तनाव हुन्थ्यो ।’
विद्यालयमा गठन भएको बाल क्लवको अध्यक्ष समेत रहेकी अंकिताले पुरानो कुरा सम्झदै भनिन्– ‘एक दिन बैठक बसेको थियो, अघिल्लो दिन विद्यालय नआएको साथीलाई सोध्दा महिनावारीका कारण नआएको भनेपछि समस्या समाधानका लागि साथीहरू मिलेर पैसा उठाएर सेनेटेरी प्याडको व्यवस्था गर्‍यौं ।’ उनले अभियान चलाएको दुई महिना भएको बताइन् ।
विद्यालयका शिक्षिका देवी पौडेलले विद्यालयमा सेनेटेरी प्याडको व्यवस्था भएसँगै बीचैमा कक्षा छोडेर घर जाने बाध्यताबाट छात्राहरूले छुट्कारा पाएको बताइन् ।
तथ्यांकअनुसार सार्वजनिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी रहेको देखाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १५, १६ र १७ (साविकको फुलवारी, उर्मा र हसुलिया गाविस) का ३० वटा सार्वजनिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी रहेको छ ।
विद्यालयमा अध्ययनरत पाँच हजार तीन सय ३६ विद्यार्थीमध्ये छात्राको संख्या तीन हजार एक सय ९५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार