६ कार्तिक २०८१, मंगलवार

आठ जना उम्मदवारले मात्र खर्च विवरण बुझाए



डडेल्धुरा । गत मंसिर २१ गते भएको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ उम्मेदवारमध्ये आठ जनाले मात्र हालसम्म खर्च विवरण बुझाएका छन ्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा खर्च विवरण बुझाउने उम्मेदवारहरूमा नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार लालबहादुर जाग्री र स्वतन्त्र उम्मेदवारी दिएका कर्ण रावल रहेको जिल्ला निर्वाचनका कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी कृष्णसिंह नायकले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले आइतबार निर्वाचन खर्च विवरण बुझाएको जनाइएको छ ।
सभापति देउवाले निर्वाचनमा २३ लाख चार हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । देउवाले सबैभन्दा बढी गोष्ठी र कार्यकर्ता परिचालनमा सात लाख ६५ हजार रुपैयाँ खर्च भएको विवरणका उल्लेख गरेका छन् ।
त्यस्तै, सवारी साधनमा चार लाख ५० हजार, मतदाता नामावली खरिदमा अढाई हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा चार लाख ५० हजार, प्रतिनिधि परिचालन एक लाख ८० हजार र विविध एक लाख १५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
त्यस्तै प्रदेशसभातर्फ खर्च विवरण बुझाउने उम्मेदवारहरूमा नेपाली कांग्रेसका प्रदेश सभा ‘क’ का उम्मेदवार रघुवर भट्ट, राष्ट्रिय यथार्थवादी पार्टी नेपालका प्रदेश सभा ‘क’ का उम्मेदवार लालबहादुर दमाईं, राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका चन्द्रसिंह बोहरा रहेका छन् ।
त्यस्तै, कांग्रेसका प्रदेश सभा ‘ख’ का उम्मेदवार कर्णबहादुर मल्ल र राष्ट्रिय जनमोर्चाका उम्मेदवार पदमबहादुर ओलीले निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आठ जनाले निर्वाचन आयोगको सीमाभन्दा कम खर्च भएको विवरण पेस गरेको निर्वाचन अधिकारी नायकले बताएका छन् ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जाग्रीले एक लाख ५२ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन् । स्वतन्त्र उम्मेदवार रावलले चार लाख ४१ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार भट्टले निर्वाचनको सम्पूर्ण खर्च नौ लाख ५५ हजार रुपैयाँ भएको विवरण पेस गरेका छन् ।
राष्ट्रिय यथार्थवादी पार्टी नेपालका प्रदेश सभा उम्मेदवार दमाइले छ लाख १२ हजार पाँच सय, राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका चन्द्रसिंह बोहराले ७७ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
त्यस्तै, कांग्रेसका तर्फबाट प्रदेश सभा ‘ख’ मा विजयी मल्लले १३ लाख २२ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण पेस गरेको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै, राष्ट्रिय जनमोर्चाका ओलीले ८२ हजार रुपैयाँ खर्च गरेको विवरण पेस गरेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारले २५ लाख तथा प्रदेश सभा सदस्यले १५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सिमा तोकेको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको निर्वाचन अधिकारी नायकले जानकारी दिएका छन् ।

को को बाँकी छन् खर्च विवरण बुझाउन ?
प्रतिनिधि सभा सदस्यका वाम गठबन्धनका उम्मेदवार खगराज भट्ट, नेपाल दलित पार्टीका रमेश टमट्टा र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले खर्च विवरण बुझाएका छैनन् ।
त्यस्तै, प्रदेश सभा सदस्य ‘क’ मा विजयी वाम गठबन्धनका पठानसिंह बोहराले पनि खर्च विवरण निर्वाचन कार्यालयमा पेश गरेका छैनन् । त्यस्तै, वाम गठबन्धनबाट प्रदेश सभा ‘ख’ का उम्मेदवार डाक्टर ताराप्रसाद जोशी र नेपाल दलित पार्टीका रामबहादुर टमट्टाले पनि खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पुस २४ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार