१ जेष्ठ २०८१, मंगलवार

एक सातादेखि कुहिरो र शीतलहर : सार्वजनिक ठाउँमा आगो ताप्ने व्यवस्था



धनगढी । निरन्तर जाडो बढेपछि धनगढी उपमहानगरपालिका नगरका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था
मिलाएको छ ।

धनगढीमा पनि एक सातादेखि बाक्लो कुहिरोसँगै शीतलहर जारी रहेपछि अत्याधिक जाडो बढेपछि उपमहानगरपालिकाले मानिसको बढी भीड लाग्ने नगरका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
नगरका ट्राफिक चौराह, क्याम्पस चौक, सेती अञ्चल अस्पताल लगायतका ६/७ स्थानमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ ।

फाइल तस्बिर

उपमहानगरपालिकाका सामुदायिक विकास शाखा अधिकृत टंक बिष्टले सर्वसाधारणको बढी ओहोरदोहोर
हुने स्थानमा आगो बाल्ने व्यवस्था मिलाइएको जानकारी दिए । धनगढी उपमहानगरपालिकाको कार्यालयमा
मौज्दात रहेको दाउरा चोकचोकमा वितरण गरिएको उनले बताए । नेपालकै अत्यधिक गर्मी हुने तेस्रो सहरका रूपमा रहेको धनगढीमा एक हप्तादेखि घाम लागेको छैन । शुक्रबार साँझतिर केही समय हल्का घाम लागेको थियो ।
यो वर्ष धनगढीमा गत आइतबार (पुस १६ गते) सबैभन्दा बढी जाडो भएको थियो । सो दिन धनगढीको तापक्रम छ दशमलव नौ डिग्री सेल्सीयसमा झरेको थियो ।
गत आइतबारदेखि बढेको जाडो शुक्रबारसम्म पनि जारी रहेको छ । गत मंगलबार धनगढीमा १० दशमलव पाँच डिग्री सेल्सियस तापक्रम रहेको थियो । त्यस्तै, बुधबार आठ दशमलव पाँच, बिहीबार आठ दशमलव दुई र शुक्रबार आठ डिग्री सेल्सीयस तापक्रम रहेको मौसम पुर्वानुमान महाशाखाको अनलाइनमा उल्लेख छ । मौसम पुर्वानुमान महाशाखाको अनलाइन पोर्टलका अनुसार धनगढीमा मध्यरातमा तापक्रम तीन डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।
शीतलहर र बाक्लो कुहिरोसँगै चिसो हावा चल्न सुरु गरेपछि जनजीवन कष्टकर बन्दै गएको छ । चिसोका कारण बजारमा चहलपहलसमेत घट्न थालेको छ । जाडोबाट गरिब तथा विपन्न परिवारका मानिसहरू बढी प्रभावित भएका छन् । वृद्धवृद्धा र बालबालिकाहरू बढी समस्या परेका छन् ।

अस्पतालमा बिरामी बढे
चिसोसँगै अस्पतालहरूमा रुघाखोकी, निमोनिया, दम, झाडापखाला लगायतका रोगबाट ग्रस्त बिरामीको संख्यामा बृद्धि आएको छ ।
सेती अञ्चल अस्पतालमा पछिल्लो एक सातायाता उपचारका लागि आउने बिरामीमध्ये ७० प्रतिशत चिसोबाट प्रभावित रहेका छन् ।
अञ्चल अस्पताल प्रशासनका अनुसार हाल दैनिक एक सय ५० देखि दुई सय जना बिरामी उपचारका लागि आउने गरेका छन् ।(बाँकी ३ पेजमा) पछिल्लो एक सातायता अस्पतालमा उपचारका लागि आउने बिरामीमा ज्येष्ठ नागरिक र बालबालिकाको संख्या बढी छ । अञ्चल अस्पतालका इमर्जेन्सी ईञ्चार्ज कृष्ण बोहराले भने– ‘दम र रुघाखोकीका बिरामीको संख्या निकै बढेको छ ।’
अस्पतालमा आएका ज्येष्ठ नागरिकहरू मुटुसम्बन्धी समस्या, दम लगायतको रोगको उपचारका लागि आउने गरेको इमर्जेन्सी वार्ड ईञ्चार्ज बोहराले बताए । उनका अनुसार दैनिक १० जना ज्येष्ठ नागरिकहरू मुटुसम्बन्धी समस्या लिएर आउने गरेका छन् ।

मुटुसम्बन्धी समस्याका कारण २० दिनमा आठ जनाको मृत्यु
धनगढीको भादा होमस्टेमा जुत्ताचप्पलको स्टल राखेका धनगढीका व्यावसायी भीम मगरातीको बुधबार मुटुमा समस्या देखियो । उपचारका लागि बुधबार नै सेती अञ्चल अस्पतालमा पुगेका उनको उपचारका क्रममा मृत्यु भयो ।
बिहीबार धनगढीका खाद्य उद्योगी राकेश गुप्ताको पनि हृदयघातका कारण निधन भयो । मुटुको समस्या उत्पन्न भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।
सेती अञ्चल अस्पतालमा उपचारका लागि आएका मध्ये पछिल्लो २० दिनको अवधिमा आठ जना मुटुरोगीको मृत्यु भइसकेको छ ।
पछिल्लो समय कैलालीसहित देशभरी सर्नेभन्दा नसर्ने रोगको समस्या बढ्दै गएको छ । तर, सेती अञ्चल अस्पतालमा मुटुरोग विशेषज्ञ डाक्टरको अभाव रहेको छ ।
सेती अञ्चल अस्पतालमा दुई वर्षअघि स्वास्थ्य मन्त्रालयले एक जना मुटुरोग विशेषज्ञको दरबन्दी स्वीकृत गरे पनि अहिलेसम्म दरबन्दी पूर्ति भएको छैन ।

झुक्याउने रोग हो मुटुरोग: डाक्टर कोइराला
मुटुरोग विशेषज्ञ डाक्टर रमेश कोइरालाले मुटुरोग सम्बन्धी समस्याप्रति लापरबाही गर्दा बढी क्षति हुने गरेको बताउँछन् । शुक्रबार टेलिफोनमा अनुमोदनसंग कुरा गर्दै राजधानीमा रहेका डाक्टर कोइरालाले भने– रोगको समयमै पहिचान गर्न नसक्दा र समस्यालाई सामान्य रूपमा लिने तथा शरीरका अंगहरू काम नलाग्ने अवस्थामा पुगेपछि मात्र डाक्टरकहाँ पुग्ने बानीले बढी क्षति भइरहेको छ ।
‘कहिलेकाहीँ स्वस्थ्य देखिने मानिस पनि हिँड्दाहिँड्दै एकाएक अस्वथ्य हुनसक्छन् । कतिपय अवस्थामा रोगका लक्षणहरू देखिन्छन्, कतिपय अवस्थामा देखिँदैनन्’ उनले भने– ‘मुटुका मूख्य लक्षण भनेको शरीर सुन्निदै जानु, बारम्बार रगत बान्ता हुुनु वा खकारमा रगत देखिनु, मुटु, कलेजो, फोक्सो आदि फेल हुँदै जानु जस्ता लक्षण देखापर्छन ।’
मुटुको बाथ रोगले मुटुका भल्भहरूमा क्षति पुर्‍याउने र समयमै आवश्यक उपचारको अभावमा भल्भको समस्याका कारण मुटुका कोठाहरू सुन्निदै जाने उनले बताए । मुटु सुन्निदै गएपछि कमजोर हुने र आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने भएपछि शरीर सुन्निदै जाने तथा शरीर सुन्निने क्रम खुट्टाबाट शुरु भएर माथिमाथि सर्दै गएर अन्त्यमा पूरै शरीर सुन्निन पुग्ने उनले बताए । यस क्रममा फोक्सोमा पर्ने असरले रगतका नलीहरू फुट्ने र खोक्दा रगत देखिने समस्या सुरु हुन्छ ।
उनले नियन्त्रण बाहिरको उच्च रक्तचापले पनि मानिसको अचानक मृत्यु गराउने बताए । तर, मानिसको मृत्यु उच्च रक्तचापबाट नभई यसले पार्ने नकारात्मक असरले अंगहरू खराब भएर हुने गर्दछ । अनियन्त्रित रक्तचापले हृदयघात, पक्षघात गराउन सक्छ । मुटुका मांसपेशीमा रक्त प्रवाह गर्ने रक्तनलीहरू साँघुरिँदै बन्द भई मुटुको मांसपेशीमा अक्सिजनको कमी हुन पुगेमा मांसपेशीहरू मर्न थाल्छन्, यसलाई हृदयघात भनिन्छ ।
त्यस्तै, दिमागको रक्तनली साँघुरिई दिमागमा अक्सिजनको कमी हुन पुगेमा वा रक्तचापकै कारण दिमागभित्रका रक्तनली फुटेर रगत जम्न गएमा यसलाई मस्तिष्कघात भनिन्छ । यस्तो समस्या सानो भएमा बिरामीको तुरन्तै मृत्यु नहुन सक्छ तर ठूलो घात हुन गएमा मानिसको तत्कालै मृत्यु हुन सक्छ ।
डाक्टर कोइरालाका अनुसार अनियन्त्रित रक्तचापकै कारण मुटुमा अत्याधिक चाप परेमा मुटुले आवश्यक पम्प गर्न सक्दैन । यसको प्रत्यक्ष असर फोक्सोमा पर्छ । मुटुले आवश्यक पम्प गर्न नसकेपछि फोक्सोबाट सफा भई मुटुमा फर्कनुपर्ने रगत फर्कन नसकी फोक्सोमै जाम हुन्छ र अचानक सास फेर्न गाह्रो भई बिरामीको तत्काल मृत्यु हुन सक्छ ।
कहिलेकाहीँ हृदयाघातको पीडा छातीमा नभई, छाती र पेटको बीच भागमा हुने गर्छ । यसलाई धेरैले ‘ग्यास्ट्रिक हो’ भन्दै घरमै उपचार गरेर बस्छन् । घरायसी उपचारले ठीक नभएपछि अस्पताल आउँदा हृदयाघात भइसकेको घटना पनि धेरै भेटिने गरेको मुटुरोग विशेषज्ञ डाक्टर कोईरालाले बताए ।
उनका अनुसार अस्वभाविक रूपमा मुटुको ढुकढुक बढेको महसुस हुनु, अचानक छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, चक्कर लाग्नु, ढल्नु आदि मुटुको समस्याका लक्षण हुन सक्छन् भन्ने बिर्सनु हुँदैन । त्यसबाहेक लामो समय खोकी लागिरहे, सास फेर्न गाह्रो भइरहे, फोक्सोको उपचार गर्दा पनि ठिक नभए मुटुको समस्या हुन सक्ने शंका गर्नुपर्छ । यस्ता समस्या आएमा सकेसम्म चाँडो चिकित्सक कहाँ पुग्नुपर्छ । त्यसैले मुटुरोगले झुक्याउन सक्छ, बेलैमा जाँचपड्ताल गर्न नबिर्सौं ।

पुस २२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार