२० बैशाख २०८१, बिहीबार

तीन दर्जन स्थानीय तहमा बैंकिङ सेवा विस्तार हुँदै



कैलाली । प्रदेश तथा स्थानीय सरकारको संरचना निर्माणसँगै वाणिज्य बैंकहरूले स्थानीय तहमा आ–आफ्ना शाखा विस्तार गर्दैछन् ।
नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय धनगढीका अनुसार वाणिज्य बैंकहरूले प्रदेश नम्बर ७ मा ३६ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने प्रस्ताव गरेका छन् ।
मुलुक संघीय संरचनामा गएपछि हरेक स्थानीय तहमा कम्तिमा एक वाणिज्य बैंकको सेवा पुर्‍याउने लक्ष्य राखिएको छ । नेपाल राष्ट्र बैंकका क्षेत्रीय निर्देशक रमेश आचार्यका प्राय: शहर र सुविधाजनक ठाउँमा मात्रै बैंकिङ सेवा उपलब्ध हुँदै आएकोमा अब ग्रामीण क्षेत्रमा समेत बैंक पुग्ने बताए ।
सरकारको निर्देशन बमोजिम हरेक स्थानीय तह (गाउँपालिका) मा शाखा विस्तार गर्न केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) ले वाणिज्य बैंकहरूलाई पत्राचार गरेको छ । प्रदेश नम्बर ७ का सबै नौ जिल्लामा गरी ८८ वटा स्थानीय तह रहेका छन् । तत्कालका लागि ३६ स्थानीय तहमा बैंक शाखा विस्तार हुँदैछन् । तर, २० वटा स्थानीय तहमा भने बंैक शाखा विस्तार हुन कठिनाई रहेको बताइएको छ ।
सडक, विजुली, टेलिफोन, सुरक्षालगायत आधारभूत पूर्वाधार नपुगेका स्थानीय तहमा तत्काल बैंक शाखा स्थपना गर्न गाह्रो भइरहेको बताइन्छ ।
बैंकहरूले ७ नम्बर प्रदेशको कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बैतडी, बाजुरा, दार्चुला र बझाङमा शाखा विस्तार गर्ने भएका छन् । .कैलालीमा भने तत्काल कुनै पनि बैंकले थप शाखा विस्तार हुने छैनन् ।
कञ्चनपुरका पाँच, डडेल्धुरा र डोटीका चार/चार, बैतडी, दार्चुला र बझाङका छ/छ, अछामका तीन तथा बाजुराका दुईवटा स्थानीय तहमा बैंकहरूले आ–आफ्नो शाखा विस्तार गर्ने जनाएका छन् ।
डडेल्धुरा र दार्चुलाको एक/एक, डोटी र अछामका तीन/तीन, बझाङ र बाजुराका पाँच/पाँच तथा बैतडीका दुईवटा स्थानीय तहमा चालू आर्थिक वर्षभित्र बैंक शाखा विस्तार हुने छैनन् । भने कैलालीका दुई वटा स्थानीय तहमा पनि बैंक शाखा स्थापना हुने छैनन् ।
७ नम्बर प्रदेशको ३६ वटा स्थानीय तहमा बैंकहरूले शाखा विस्तारका लागि सबै तयारी पुरा गरिसकेको जनाइएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एनसीसी, वेदकोट नगरपालिकामा एनआईसी, लालझाडी गाउँपालिकामा एनएमबी तथा महाकाली र बेलौरी नगरपालिकामा कुमारी बैंकले शाखा विस्तार गर्ने भएका छन् ।
त्यस्तै, डडेल्धुराको आलिताल गाउँपालिकामा नविल, गन्यापधुरा गाउँपालिकामा एनआईविएल, नवदुर्गा गाउँपालिकामा प्रभु तथा भागेश्वर गाउँपालिकामा सानिमा बैंकले शाखा विस्तार गर्ने छन् ।
डोटीको शिखर नगरपालिकामा एभरेष्ट बैंक, बोगटान गाउँपालिकामा ग्लोबलआइएमई, आदर्श गाउँपालिकामा मेघा तथा केआइसिंह गाउँपालिकामा एनएमबी बैंकले शाखा विस्तार गर्ने जनाइएको छ ।
त्यस्तै, अछामको पञ्चदेवल विनायक नगरपालिकामा माछापुच्छ्रे बैंक, बान्नीगढी जयगढ गाउँपालिकामा मेघा बैंक र रामारोशन गाउँपालिका एनआईसी एसिया बैंकको शाखा स्थापना हुँदैछ ।
बैतडीका पुर्चौडी नगरपालिकामा ग्लोबलआइएमई, डिलाशैनी गाउँपालिकामा कुमारी, मेलौली गाउँपालिकामा एनसिसि बैंक, सुर्नया गाउँपालिकामा एनआईविएल, शिवनाथ गाउँपालिकामा एनएसबिआई र सिगास गाउँपालिकामा प्रभु बैंकको शाखा स्थापना हुने छ ।
त्यस्तै, बझाङको बुंगल नगरपालिकामा एडिविएल, केदारस्यु गाउँपालिकामा सिटिजन, वित्थडचिर गाउँपालिकामा एडिविएल, खप्तडछान्ना गाउँपालिकामा प्राईम तथा तलकोट र मष्टा गाउँपालिकामा सनराईज बैंकले सेवा विस्तार गर्दैछन् ।
बाजुराको त्रिवेणी नगरपालिकामा बैंक अफ काठमाण्डू र बुढीगंगा नगरपालिकामा शिद्धार्थ बैंकको शाखा विस्तार हुने छन् ।
दार्चुलाको नौगाड गाउँपालिकामा जनता, लेकम गाउँपालिकामा लक्ष्मी, मालिकार्जुन गाउँपालिकामा एमविएल, दुहु गाउँपालिकामा एनआईविएल, ब्याँस गाउँपालिकामा प्रभु बैंक तथा मार्मा गाउँपालिकामा सनराईज बैंकको शाखा विस्तार हुने भएको छ ।
त्यस्तै, डडेल्धुराको अजयमेरु, डोटीको बडीकेदार, सायल र पुर्वीचौकी गाउँपालिका, अछामको मल्लेख, तुर्माखाद र चौरपाटी गाउँपालिका, बैतडीको पञ्चेश्वर र दोगडाकेदार गाउँपालिका, बझाङको काँडा, सुर्मा, दुर्गाथली र छविसपाथीभारा तथा थलारा गाउँपालिका, बाजुराको गौमुल, हिमाली, पाण्डवगुफा, स्वामिकार्तिक र छेडेदह गाउँपालिका तथा दार्चुलाको अपिहिमाल गाउँपालिकामा तत्काल बैंकहरूका शाखा विस्तार हुने छैनन् ।
नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय धनगढीका अनुसार आर्थिक वर्ष २०७३/७४ सम्म यस प्रदेशमा एक सय ६८ वटा बैंक शाखा विस्तार भइसकेका छन् । राष्ट्रबैंकका अनुसार सबैभन्दा बढी कैलालीमा ७५ र सबैभन्दा कम बाजुरामा चार वटा बैंक शाखा रहेका छन् ।
त्यस्तै, कञ्चनपुरमा ३८, डोटीमा नौ, डडेल्धुरामा १३, अछाममा नौ, बझाङ र बैतडीमा छ/छ र दार्चुलामा आठ वटा बैंकहरूले सेवा दिइरहेका छन् ।

पुस १२ गते बुधबार (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार