२० बैशाख २०८१, बिहीबार

कामसहितको तालिमका लाग इन्स्योर परियोजना शुरु



धनगढी । नेपाली श्रम बजारमा आवश्यक मागअनुसारको जनशक्ति आपूर्ति गर्ने र बेरोजगारी समस्या समाधान गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) बाट दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) लागू भएको छ ।
सन् २०१६ देखि २०२५ सम्म तीन चरणमा लागू हुने परियोजनाले पहिलो चरणमा सन् २०१९ डिसेम्वरभित्र तालिमसहित प्रशिक्षण, औद्योगिक प्रशिक्षार्थी, पेशा व्यवसाय सम्वन्धी सल्लाह, वृति परामर्श गरी ६४ हजार युवाहरू लाभान्वित हुने भएका छन् ।
मंगलबार धनगढीमा भएको कार्यक्रममा इन्स्योरका टीम लिडर सुभाष सुवेदीले व्यवसायीले काम लगाउन दक्ष जनशक्ति छैन भन्ने, युवाले मैले काम नपाएर वेरोजगार छु भन्ने र तालिम दिने संस्थाले तालिम लिएका व्यक्तिले कामै पाएनन् भन्ने अवस्थाको अन्त्यका लागि एक वर्ष अवधिका कामसहितको तालिम दिन लागेको बताए ।
परियोजनाको प्रथम चरण निर्माण कार्य, पर्यटन (हस्पिटालिटी)ं, अटोमोबाइल, मेकानिकल, इलेक्ट्रोनिक्स गरी पाँचवटा आर्थिक क्षेत्रका उद्योगहरूमा केन्द्रित हुने जनाइएको छ ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्रले प्रदेश नम्बर ७ कै व्यावसायिक केन्द्र धनगढी ९ वटै जिल्लाका युवाहरूको अवसर खोज्ने शहर भएकाले इन्स्योर परियोजनाले सहयोग पुग्ने बताइन् । स्वीस विकास नियोगका वरिष्ठ कार्यक्रम अधिकृत डाक्टर उषा भण्डारीले संभावनाको खानी प्रदेश नम्बर ७ मा प्रशस्तै औद्योगिक प्रतिष्ठान खुल्ने र त्यसका लागि आवश्यक पर्ने जनशक्तिको सूची बनाउने र त्यस्तो खालको जनशक्ति उत्पादन गर्ने बेला आएको बताइन् । भण्डारीले नेपालभर दीर्घकालीन सीपयुक्त जनशक्ति उत्पादन गर्न इन्स्योर परियोजनामार्फत स्वीस सरकार सीटीइभीटीलाई सहयोग गर्न तयार भएको बताइन् ।
घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ७ का महिला संयोजक रुक्मणि देवकोटा, जिल्ला अध्यक्ष पुष्कल कर्माचार्य, कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष गजराज पाण्डे, छापाखाना व्यवसायी कैलाश दाहाल, मेटल व्यवसायी शिवकुमार फूलारा लगायतले तालिमका नामका अर्बौ पैसा खर्च भएपनि उपलब्धिमूलक नभएको भन्दै इन्स्योर परियोजना पनि त्यस्तै नहुन सचेत गराएका छन् । परियोजना प्रवन्धक महेश भट्टराईले यसअघि अरूले गरेका कामको अनुभवलाई लिएर परियोजना व्यवस्थित गर्न लागेको बताए । कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले तालिमकै लागि तालिम भन्ने गुनासोको अन्त्य गर्न र देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न कार्यक्रममा सहभागी तालिम प्रदायक संस्थाका प्रतिनिधिलाई सुझाव दिए ।
इन्स्योरसँगै नेपाल व्यवसायिक योग्यता निर्धारण प्रणाली (एनभीक्यूएस) पनि सञ्चालनमा ल्याइ व्यक्तिको आधारभूत सीप देखि लेवल आठ (विद्यावारिधी) सम्मको व्यवस्था गर्दै नेपालमा प्रदान गरिने सीप प्रमाणपत्र र त्यो पाउने व्यक्तिको अन्तर्राष्ट्रिय समकक्षता प्रमाणित गरिने एनवीक्यूएसका टीम लिडर देवीप्रसाद दाहालले जानकारी दिए ।
इन्स्योर र एनवीक्यूएस परियोजनाबारे जानकारी दिन सीटीइभीटी र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा परियोजनाका प्रतिनिधिहरू, उपमहानगरपालिकाका वडाध्यक्षहरू, तालिम प्रदायक संस्थाका प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू, पत्रकारहरू सहभागी थिए । परियोजना सञ्चालनमा हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालले प्राविधिक सहयोग गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार