४ जेष्ठ २०८१, शुक्रबार

‘एचआइभी संक्रमितहरूको मृत्युदर घट्दो’



धनगढी । कैलालीमा पछिल्ला समय एचआइभी संक्रमणमा कमी आउनुका साथै संक्रमितहरूको मृत्युदर घट्दै गएको अध्ययनले देखाएको छ ।
३० औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा जिल्ला जनस्वास्थ्य कार्यालय कैलाली र एड्स हेल्थ केयर फाउण्डेशनद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एचआइभी एड्स संक्रमण र संक्रमितहरूको मृत्युदरमा कमी आइरहेको तथ्यांक सार्वजनिक गरियो ।
समाज तथा परिवारमा एचआइभी एड्सबारे सचेतना बृद्धि भएको तथा संक्रमतिहरूले नियमित रूपमा एआरटी औषधिको सेवन गर्ने क्रम बढेपछि एचआइभी/एड्स संक्रमण र संक्रमितहरूको मृत्युदरमा कमी आइरहेको तथ्यांकमा उल्लेख छ ।
जिल्ला एड्स हेल्थ फाउण्डेशनको तथ्यांकअनुसार कैलालीमा पछिल्ला वर्षहरूमामा क्रमिक रूपमा एचआइभी एड्स संक्रमणमा कमी आइरहेको छ ।
आर्थिक वर्ष २०७२/७३ एचआइभी एड्सबाट मृत्यु हुनेको संख्या ४० जना रहेकोमा गत आर्थिक वर्ष २०७३/७४ मा त्यो संख्या घटेर २० जनामा सीमित भएको थियो । चालु आर्थिक वर्ष २०७४/७५ को कात्तिक महिनासम्म कैलालीमा एचआइभी एड्सका कारण १० जनाको मृत्यु भएको एड्स हेल्थ केयर फाउण्डेशन माधव पन्तले बताए ।
कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा एआरटी सेन्टर सञ्चालित छन् । जिल्लामा सन् २००६ देखि हालसम्म एचआइभी उपचार सेवामा दर्ता भएका तीन हजार चार सय तीन जनामध्ये दुई सय ६० जनाको मृत्यु भएको छ ।
सन् २००६ देखि चालू आर्थिक वर्षको कात्तिक महिनासम्म एक हजार पाँच सय ३४ महिला, एक हजार चार सय ८५ पुरुष, तीन सय ७४ बालबालिका र १० जना तेस्रो लिंगी सहित तीन हजार चार सय तीन जना संक्रमित रहेका छन् ।
सो अवधिमा एक हजार एक सय दुई पुरुष, एक हजार ४९ महिला, दुई सय १४ बालबालिका र छ जना तेस्रोलिंगी गरी दुई हजार तीन सय ७१ जनाले एआरटी उपचार सेवाका लागि दर्ता गरेकोमा चार सय २९ पुरुष, छ सय नौ महिला, एक सय २० बालबालिका र छ जना तेस्रो लिंगी गरी एक हजार एक सय ६६ जनाले एआरटी सेवा लिइरहेका थिए ।
तर हाल कैलालीमा हाल चार सय ५१ पुरुष, छ सय २६ महिला, एक सय आठ बालबालिका र चार तेस्रोलिंगी गरी एक हजार एक सय ८९ जनाले एआरटी सेवा लिइरहेको जनाइएको छ ।
अन्यले विभिन्न ठाउँबाट औषधि लिइरहेको फाउन्डेसनमा तथ्यांक छ । जिल्लामा सञ्चालित एआरटी सेन्टरमा कैलालीसहित कञ्चनपुर, डोटी, बर्दिया, डडेल्धुरा, दार्चुला, बझाङ, दैलेख, सुर्खेतलगायतका जिल्लाका साथै सीमावर्ती भारतका संक्रमितलेसमेत एआरटी औषधि सेवन गरिरहेका छन् ।
सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले एचआइभी एड्सबारे गाउँगाउँसम्म जानकारी व्यापक गर्न सकिएमा संक्रमितहरूको संख्या अझ बम गर्न सकिने बताए ।
पछिल्लो तथ्यांकअनुसार देशभर नै एचआइभी एड्स संक्रमणको अवस्था कम हुँदै गइरहेको छ । अहिले देशभर ३२ हजार सात सय ३५ एचआइभी संक्रमित रहेको अनुमान गरिएको भए पनि ३० हजार दुई सय संक्रमित मात्रै दर्ता भएका छन् ।
यसैबीच, विश्व एड्स दिवसको अवसरमा एचआइभी/एड्स रोकथाम र नियन्त्रणका लागि सरोकारवाला निकायले साताव्यापी रूपमा विभिन्न कार्यक्रम गर्दैछन् ।
यस क्रममा आज (शुक्रबार) ट्राफिक चौराहादेखि प्रभातफेरी निकालिनेछ । त्यस्तै, हाजिरीजवाफ प्रतियोगिता, विरामीलाई फलफूल वितरण, सूचना सन्देश प्रसारण, कण्डम वितरण र नि:शुल्क एचआइभी परिक्षण र परामर्शलगायतका कार्यक्रम गरिने छ ।

मंसिर १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार