२२ बैशाख २०८१, शनिबार

स्वास्थ्य बिमा कार्यक्रम : दीर्घ रोगीहरू आकर्षित हुँदै



धनगढी । नेपाल सरकारले कैलालीबाट शुरु गरेको सामाजिक स्वास्थ्य विकास समिति (स्वास्थ्य विमा) कार्यक्रमप्रति दीर्घ रोगीहरूको आकर्षण बढ्दै गएको छ ।
कैलालीमा २०७२ साल चैत २५ गतेदेखि दर्ता प्रक्रिया शुरु गरि २०७३ साल जेठ १ गतेदेखि स्वास्थ्य बिमा सेवा सुचारु गरेको थियो । यस कार्यक्रमप्रति दीर्घ रोगीहरूको आकर्षण बढेको सामाजिक स्वास्थ्य विकास समितिले जनाएको छ ।
कैलालीमा हालसम्म १५ हजार सात सय ७७ विमित सदस्य रहेकोमा ६० प्रतिशत दीर्घरोगी रहेको समितिका जिल्ला प्रबन्धक नरेश चौधरीले बताए । आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट कसैले वञ्चित हुनु नपरोस् भनेर कैलालीबाट सञ्चालन गरिएको सो कार्यक्रमप्रति आम सर्वसाधारणको आकर्षण घट्दै गएको देखिएको छ ।
कैलाली जिल्लाको जनसंख्या आठ लाख भन्दा बढी भए पनि स्वास्थ्य विमा कार्यक्रम शुरु भएको एक वर्ष आठ महिना पुग्नै लाग्दा समेत २० हजार विमित मात्रै सदस्य रहेका छन् ।
विमा कार्यक्रम शुरु गरेको एक महिनामा कैलालीमा पाँच सय दुई घरधुरीले यो कार्यक्रममा सहभागिता जनाएका थिए भने भदौसम्ममा एक हजार पाँच सय ५५ परिवारले विमा कार्यक्रममा सहभागिता जनाएका थिए । कैलालीमा एक वर्षको अवधिमा झण्डै नौ हजार बढी विमित्त सदस्य बनेपनि अहिले पनि विमित्त सदस्य बन्ने नयाँ दर कम हुँदै गएको समितिले जनाएको छ ।
समितिको तथ्यांकअनुसार स्वास्थ्य विमामा सहभागी भएका व्यक्तिहरूको पनि आकर्षण घट्दै गएको देखाइएको छ । २०७३ जेठ १ मा पाँच सय दुई घरधुरीले स्वास्थ्य विमा कार्यक्रममा सहभागिता जनाएकोमा २०७४ जेठ १ गते एक सय १२ घर परिवारले मात्र नविकरण गरेका छन् ।
२०७३ भदौ १ गतेसम्म एक हजार ५३ घरधुरीले विमा कार्यक्रम सहभागिता जनाएकोमा २०७४ भदौ १ गतेसम्म तीन सय १३ घरधुरीले मात्र नविकरण गरेका छन् । स्वास्थ्य विमा कार्यक्रमका जिल्ला प्रवन्धक चौधरीले भने– कहिलेकाँही विरामी हुने व्यक्तिले नविकरण गरेका छैनन् ।’
‘शुरुमा विमा गरेपछि आर्थिक भार घट्छ कि भनेर निरोगी व्यक्तिहरूले पनि विमा गरे’ जिल्ला प्रवन्धक चौधरीले भने– तर, अहिले विमा गरेका व्यक्तिहरूको पनि यो कार्यक्रमप्रति आकर्षण घटेको छ । स्वास्थ्य विमा गरेका व्यक्तिहरूप्रति सेवा प्रदायक संस्था जिम्मेवार बन्न नसकेका कारण यो कार्यक्रमप्रति उनीहरूको आकर्षण घट्दै गएको उनले बताए ।
समितिले एक परिवारमा पाँच जना सदस्यको कल्पना गर्दै प्रति सदस्य पाँच सय रुपैयाँको दरले दुई हजार पाँच सय प्रिमियम बुझाएर ५० हजार रुपैया बराबरको उपचार व्यवस्था गरेको छ । तर पाँच भन्दा बढी सदस्य भएका परिबारले प्रति सदस्य चार सय ५० रुपैयाँका दरले थप प्रिमियम बुझाएपछि थप १० हजार रुपैया बराबरको उचपार दिने व्यवस्था छ ।
बीमाका लागि अति गरिब परिबारको सतप्रतिशत प्रिमियम सरकारले बुझाउने व्यवस्था छ । त्यस्तै गरीव परिबारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिबारको लागि ५० प्रतिशत प्रिमियम सरकारले सहयोग गर्ने छ । उपचारका लागि छुट्टयाइएको ५० हजार रोगको पहिचान, परीक्षण, औषधि, भर्ना, बेड चार्जमा खर्च गरिने समितिले जनाएको छ ।

कात्तिक २२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार