२३ बैशाख २०८१, आईतवार

डेंगुका रोगी बढ्दै



धनगढी । कैलालीमा डेंगु रोगका विरामीहरू बढ्दै गएका छन् । एक हप्ताको अवधिमा मात्रै जिल्लामा १२ जना डेंगु रोगी देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । चिकित्सकहरूले डेंगु रोगका विरामी बढेपछि महामारी फैलिन सक्ने चेतावनी दिएका छन् ।
वैज्ञानिक मान्यताअनुसार एक जना गम्भीर डेंगु रोगी विरामीको आसपासमा करिब साढे ३ सय मानिसमा डेंगु संक्रमित विरामी हुन सक्छन् । बरिष्ठ फिजिसियन सुभेशराज कायस्थले डेंगु रोगका विरामी बढिरहेका बेला जिल्लामा यसले महामारीको रूप लिन सक्ने चेतावनी दिए ।
यसअघि डेंगु रोग कैलालीमा जिल्ला बाहिर र भारतबाट आएका व्यक्तिहरूमा मात्रै फाटफुट रूपमा देखिने गरेको भए पनि अहिले स्थानीय ठाउँमै बसोबास गरिरहेका मानिसहरूमा नै यो रोग देखिन थालेको छ ।
अहिले जिल्लामा फेला परेका डेंगु रोगीहरूमा पनि ५० प्रतिशत मानिस स्थानीय ठाउँमा बसोबास गरेका व्यक्ति रहेका छन् । विरामी बढ्दै गएपछि जिल्ला डेंगोको उच्च जोखिममा परेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अधिकृत हरिश भट्टले बताए ।
जिल्ला डेंगुको उच्च जोखिममा पर्दै गएपछि सरकारी निकायको पनि ध्यानआकृष्ट भएको छ । यसअघि डेंगु रोग सम्बन्धि सामान्य जनचेतनामूलक कार्यक्रम मात्रै सञ्चानल गर्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले अब विभिन्न ठाउँमा सरसफाई अभियाननै सञ्चालन गर्ने तयारी गरेको कैलाली वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले बताए ।
डेंगु सार्ने एडिस एजिप्टाई नामको लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने भएकाले त्यस्ता ठाउँहरूको पहिचान गरी फुल तथा लार्भा नष्ट गर्न सरसफाई कार्य अगाडि बढाइने जनस्वास्थ्य प्रशासक चापागाईले जानकारी दिए ।
डेंगु रोग लागेमा लगातार अत्याधिक ज्वरो आउने, शरीरका विभिन्न अंगमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, चिलाउने वा सुन्निने, पिसाबमा रगत देखापर्ने, बान्ता गर्दा रगत आउने, कालो दिसा आउनेलगायतका लक्षण देखा पर्ने गर्दछन् । यस्ता लक्षण देखा परेमा छिटो उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । साथै डेंगु रोगका विरामी बढिरहेको बेला यो रोगले महामारीको रूप धारण गर्न नदिन सबैले सचेत हुन जरुरी देखिन्छ ।

कात्तिक २१ गते (epaper)

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार