१० श्रावण २०८१, बिहीबार

जाँतको रौनकमा सुदूरपश्चिम



धनगढी । सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लामा यतिबेला जाँत (जात्रा) को रौनक छाएको छ । सुदूरपश्चिमका डोटी, अछाम, बैतडी, डडेल्धुरा र दार्चुलाका विभिन्न शक्तिपीठ तथा मन्दिरमा कात्तिक शुक्लपक्षमा धार्मिक जाँत लाग्ने गर्दछन् । कात्तिक शुल्क पक्षको प्रतिपदादेखि पूर्णिमासम्म देवी भगवतीका शक्तिपीठ तथा मन्दिरमा धुमधामसंग जाँत लाग्ने गरेका छन् ।

सुर्मा सरोवर जात्रा, फाइल तस्बिर: एजेन्सी

कातिक शुक्ल पक्ष सुरु भएसँगै डोटीको भगवती मन्दिर, देउखराली लगायतका विभिन्न मन्दिरमा जात्राको रौनक छाउन थालेको छ ।
त्यस्तै, बैतडीका प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिर, बाह्र ज्योतिर्लिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ ।
त्यस्तै, दार्चुलामा रहेको राष्ट्रकै सातौं धामको रूपमा रहेको मलिकार्जुन धाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ ।
त्यस्तै, डडेल्धुराको उग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कातिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।
अछाममा कालिका मन्दिरमा पूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ । यसलाई ‘डौठेगडा जात्रा’का नामले पनि चिनिन्छ ।
आज डोटीको हेलेकाँडामा दुई दिने जात्रा शुरु हुने भएको छ । त्यस्तै १६ गते डोटीको शिखर नगरपालिकामा देउखराली जात्रा मनाइने छ ।
शरद ऋतु देवीदेवताहरूको पूजाउपासना गर्ने उत्तम ऋतुको रूपमा मानिन्छ । त्यसैले कातिक शुक्ल पक्षमा देवीदेवताहरूको पूजाआजा, ब्रतउपासना गर्ने पौराणिक कालदेखि नै धार्मिक परम्परा रहेको छ ।
कातिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कात्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहिआएको दार्चुलाको शैल्यशिखर नगरपालिकाका गंगासागर जोशी बताउँछन् । उनी भन्छन्– ‘असोज दुर्गा पक्षमा मात्र नभएर कातिक शुक्ल पक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठमा सामूहिक पूजाआजा गर्ने चलन रहेको छ । कातिक मास उत्तम भनेर शास्त्रमा समेत लेखिएकाले यो महिना देवीदेवता पूजनका लागि उत्तम रहेको मानिन्छ ।’
दशैंतिहार सकिए लगत्तै सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा जाँतको रौनक छाउने गर्दछ ।
बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रामा दर्शन गर्नका लागि सीमावर्ती भारतीय शहरगाउँका ठूलो संख्यामा दर्शनार्थी आउने गर्दछन् ।
कातिक शुक्ल सप्तमीदेखि सुरु भई कातिक शुक्ल अष्टमीका दिन लाग्ने मेला भारतको झुलाघाट, पिथौरागढ लगायत क्षेत्रबाट हजारौं दर्शनार्थी आउने गरेको दशरथचन्द नगरपालिका वडा नम्बर ४ का आनन्दमणि भट्ट बताउँछन् । उनी भन्छन्– ‘भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ । हाम्रा सांस्कृतिक चाडपर्वहरूमा भारतीय दर्शनार्थी थुप्रै आउने गर्दछन् । तर पनि विभिन्न कुराको अभावले दर्शन गर्ने इच्छा भएका जति आउन सकिरहेका छैनन् ।’
हिजोआज डोटी, बैतडी, दार्चुला र डडेल्धुराका गाउँगाउँमा चहलपहल बढेको स्थानीयबासी बताउँछन् । देवीदेवताका मन्दिरमा लाग्ने सामूहिक जात्राले सामाजिक भावनाको विकास गरेको धनगढीका समाजसेवी वद्रीनाथ भण्डारीले बताए । ‘तराई आएकाहरू पहाडका आफ्नै गाउँका मान्छेलाई नचिन्ने हुन्छन् । तर, मन्दिरमा लाग्ने जात्राका लागि उनीहरू आफ्नो जन्मथलो जादा सबैसंग भेटघाट हुन्छ । यसले आत्मीयता र भातृत्वको भावना बढाउने गर्दछ । भुगोलको दूरी भए पनि आत्मीयता तथा पारिवारिक सम्बन्ध नजिक बनाउन जात्राहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्’ उनले भने ।
डोटी, बैतडी, दार्चुला र डडेल्धुराका विभिन्न शक्तिपीठमा लाग्ने जात्रामा दर्शन गर्नका लागि अहिले तराईका जिल्लाबाट जानेको संख्या बढ्दै गएको छ ।
प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमका पहाडी जिल्लामा थुपै्र धार्मिक पर्यटनका क्षेत्र रहेका छन् । वर्षभरीमा ती धार्मिक क्षेत्रमा कम्तीमा पनि तीन पटक मेला जात्रा लाग्ने गर्दछ । पहाडका एकै गाउँमा कम्तीमा ५/६ ओटा मन्दिर रहेका छन् । सुदूर पहाडमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार नहुँदा यस क्षेत्रमा पर्यटक भित्र्याउन सकिएको छैन् ।

धनगढीमा पनि जाँत मनाइँदै
डोटी जिल्लामा मनाइने जात पर्व कैलालीको धनगढीमा पनि धुमधामसंग मनाइने भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको निङ्गलाशैनी भगवती मन्दिरमा डोटीको हिलेकाँडामा मनाइने जात पर्व धनगढीमा आयोजना गरिने शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
धनगढीमा आज साँझ जनप्रतिनिधिहरूबाट एक भव्य कार्यक्रममा रतेडी खेल्ने र भोली (सोमबार) जाँत गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सीताराम अवस्थीले जानकारी दिए ।
धनगढी उपमहानगरपालिकामा डोटीका विभिन्न स्थानका मानिसको बसोबास रहेको र मौलिक परम्परा तथा संस्कृति बिर्सदै गएकाले जाँत आयोजना गरिएको उनले बताए ।
आजदेखि हुन लागेको दुई दिने जातमा डोटीमा घर भई यस क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई सहभागी हुन समितिले आग्रह गरेको छ ।
समितिले २०६३/०६४ सालदेखिनै उक्त स्थानमा जात गरिरहेको भए पनि प्रचारप्रसार अभावका कारण श्रद्धालुहरूको उपस्थिति नहुने भएकाले शनिबार पत्रकार सम्मेलन गरेको जानकारी दिएको छ ।
कार्यक्रममा समाजसेवी वद्रीनाथ भण्डारी, १३ नम्बरका वडा अध्यक्ष विजयराज जोशी, सनातन धर्म सेवा समितिका केन्द्रीय सचिव नरबहादुर शाही, निङ्गलाशैनी भगवती मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

कात्तिक १२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार