२ जेष्ठ २०८१, बुधबार

मंसिरमा कैलाली खुला दिसामुक्त घोषणा हुँदै



धनगढी । कैलालीलाई मंसिर महिनाको पहिलो साताभित्र खुला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ ।
सरसफाई रणनीति–२०६८ ले कैलाली जिल्लालाई सन् २०१६ भित्रै खुला दिसामुक्त गर्ने लक्ष्य लिए पनि असफल भएपछि यहाँका जनप्रतिनिधिहरूले मंसिर पहिलो साताभित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रबार खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको ‘जिल्लामा खानेपानी तथा सरसफाईको अवस्थाका विषयमा समितिका सदस्यहरूसंगको बैठक तथा छलफल’ कार्यक्रममा कैलालीका १३ वटै स्थानीय तहका जनप्रतिनिधिहरूले खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका उपमहानगर/नगरपालिका र गाउँपालिकालाई कात्तिकभित्रै खुल्ला दिसामुक्त घोषणा गर्ने र जिल्लालाई मंसिर पहिलो साताभित्र घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख नारायणप्रसाद काफ्लेले जिल्लामा खानेपानी तथा सरसफाईको अवस्थाबारे प्रस्तुतिकरण गर्दै कैलाली जिल्लामा एक लाख ५२ हजार चार सय ९४ घरधुरी रहेकोमा एक लाख ५१ हजार चार सय १७ घरधुरीमा शौचालाय बनिसकेका छन् । त्यस्तै, एक हजार ७७ घरधुरीमा शौचालय बन्न बाँकी रहेको उनले बताए ।
डिभिजन प्रमुख काफ्लेका अनुसार कैलाली जिल्लामा एक उपमहानगरपालिका, छ नगरपालिका र छ गाउँपालिका रहेकोमा तीन नगरपालिका र चार गाउँपालिका खुला दिसामुक्त घोषणा भइसकेका छन् ।
जिल्लाको सबैभन्दा बढी गोदावरी नगरपालिकामा चार सय नौ र लम्की चुहाँ नगरपालिकामा तीन सय ७७ घरधुरीमा शौचालय निर्माण हुन बाँकी रहेको र गौरीगंगा र भजनी नगरपालिका खुल्ला दिसामुक्त घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिए । धनगढी उपमहानगरपालिकामा एक सय घरधुरी, जोशीपुर गाउँपालिकामा एक सय ९१ घरधुरीमा शौचालय बन्न बाँकी रहेको जानकारी दिए ।
डिभिजन प्रमुख काफ्लेका अनुसार जिल्लामा आठ लाख ४४ हजार चार सय ३३ जनसंख्या रहेकोमा आठ लाख २६ हजार नौ सय ५१ (९७.९३ प्रतिशत) खानेपानीबाट लाभन्वित रहेको भएपनि सुरक्षित तथा व्यवस्थित खानेपानी सुविधा भएका जनसंख्या ६० प्रतिशत मात्र रहेका छन् ।
सबै घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउन नसकिनुमा खानेपानीको आयोजनाको नाममा न्यून बजेट विनियोजन हुनु प्रमुख समस्या रहेको उनले बताए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष नेत्रप्रसाद खनालले नेपालमा अझैं ६२ प्रतिशत जनसंख्यामात्र सरसफाईबारे सचेतना रहेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांक रहेको जानकारी दिए । उनले सरकारले बर्सेनि खानेपानीका नयाँ योजना ल्याउने तर पुराना योजनामा न्यून बजेट विनियोजन गर्ने गरेकाले यो प्रवृति रोक्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा युनिसेफका होमनाथ योगीले ७ नम्बर प्रदेशको कैलाली, कञ्चनपुर र दार्चुला अझै खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी रहेको जानकारी दिए । उनले कैलाली जिल्लालाई मंसिरभित्रै खुल्ला दिसामुक्त जिल्ला घोषणा गरी तराईका जिल्लामा तेस्रो स्थान बनाउन यहाँका जनप्रतिनिधिहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । युनिसेफका योगीले जनप्रतिनिधिहरूले संकल्प, संयुक्त प्रयास र सकारात्मक सोचका साथ काम गरेमा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न चुनौति नरहेको बताए ।
कार्यक्रममा भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटाले भजनीका सबै घरधुरीमा शौचालय निर्माण भएपनि छाउपडि भएका समयमा महिलाहरूले शौचालय प्रयोग गर्न नपाएको गुनासो गर्दै भनिन् ‘छाउपडि भएको समयमा महिलाहरू अझै खुल्ला दिसा गर्न बाँध्य छन्, मानिसको सोचमा परिवर्तन ल्याउन जरुरी छ ।’
कार्यक्रममा जनप्रतिनिधिहरूले एक घर एक धाराको अवधारणा प्रत्येक स्थानीय तहमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, खुल्ला दिसामुक्त क्षेत्रमा काम गरिरहेका संघ/संस्था, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत योगेन्द्र ओझाले गरेका थिए ।

कात्तिक १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार