५ जेष्ठ २०८१, शनिबार

आज विश्व हात धुने दिवस : सरकारी कार्यालयका शौचालयमा साबुन हुँदैनन्



धनगढी । कैलालीका अधिकाँस सरकारी कार्यालयका शौचालयमा साबुनको व्यवस्था गरिएको पाइन्न । शौचपछि साबुनपानीले हात धुने बानीको विकास गर्न देशभरी सरकारी तथा गैरसरकारी निकायबाट जनचेतना अभिबृद्धिमूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । तर, कतिपय सरकारी कार्यालयका
शौचालयमा पानीको समेत राम्रो प्रबन्ध भएको पाइन्न भने साबुन त प्राय: सौचालयमा राखिएको हुँदैन ।
प्राय: होटल र गैरसरकारी संस्थाका शौचालयमा साबुनपानीको प्रबन्ध हुने गरे पनि अधिकांस सरकारी कार्यालय, संस्थान, विद्यालय सहितका सार्वजनिक निकायका शौचालयमा साबुनको व्यवस्था गरिएको छैन ।
कैलालीको धनगढी उपमहानगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, नेपाल विद्युत प्राधिकरण लगायतका अधिकांस कार्यालयका शौचालयमा साबुनको व्यवस्था गरिएको पाइन्न ।
जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको भीड हुने मालपोत
कार्यालय, नापी कार्यालय, धनगढी उपमहानगरपालिका, जिल्ला कृषि विकास कार्यालय, सेती अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतमा निकायका शौचालयमा पानीको व्यवस्था भए पनि साबुन राखिएको नपाइने सेवाग्राहीको गुनासो छ ।
जिल्लाको आन्तरिक राजश्व कार्यालय, जिल्ला समन्वय समिति, नेपाल विद्युत प्राधिकरण धनगढी शाखा, अत्तरिया नगरपालिका, घोडाघोडी नगरपालिका लगायतका अधिकाँस कार्यालयमा हात धुनलाई पानीको पनि उचित व्यवस्था नरहेको सेवाग्राहीहरू बताउँछन् । ‘जिल्ला समन्वय समितिको शौचालयसंगै पानीको पनि व्यवस्था छैन’ एक जना सेवाग्राही गोपाल रायले भने– ‘बाहिर निस्केर नल्कामा हात धुनु पर्दछ ।’
उनले थपे– ‘सरकारले सावुन पानीले हात धुनुपर्छ भनेर बर्सेनि जनचेतनामूलक कार्यक्रममा ठूलो लगानी गर्ने गरेको छ, तर सरकारी कार्यालयहरूका शौचालयमा नै साबुनपानीको व्यवस्था गरिएको हुँदैन भने आम नागरिकले के बुझ्ने ?
धनगढी उपमहानगरपालिकाको कार्यालयको शौचालयमा साबुनको व्यवस्था नभएकोबारे अनुमोदन दैनिकको जिज्ञासामा उपमहानगरपालिकाका सामुदायिक विकास शाखा अधिकृत टंक बिष्टले भने– ‘शौचालयमा साब्ुनको व्यवस्था गरिएको हुन्छ, तर कहिलेकाही सेवाग्राहीले नै लग्छन्, कहिले अन्यत्र फाल्ने गर्छन् ।’
जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाईले सरकारी कार्यालयका शौचालयमा सरसफाईको कमी हुने गरेको स्वीकारे । उनले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका सबै सरकारी कार्यालयका शौचालयको अनुगमन गर्नुपर्ने र पानी तथा साबुनको व्यवस्था नभएको, गुट्खा, पान, सूर्ती खाएर थुक्ने गरेको तथा सरसफाईमा ध्यान दिएको नपाइएमा सुधार्न सुझाव दिनुपर्ने बताए ।
उनले विगतमा सरकारी कार्यालयहरूको सरसफाईको अवस्थाको पनि अनुगमन हुने गरे पनि पछिल्ला चार/पाँच वर्ष यता त्यो विषयमा अनुगमन नभएको बताए ।
आज अक्टोवर १५ तारिखका दिन विश्व हात धुने दिवस मनाइने गरेको छ । सन २००८ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।
विकासोन्मुख देशहरूमा पाँच वर्षभन्दा मुनिका बच्चाहरूको मृत्युको मुख्य कारण झाडाबान्ता र न्यूमोनिया रहेका छन् । यी रोगबाट हुने समस्या तथा मृत्यु घटाउन साबुन पानीको प्रयोग गरी हात धुने बानी बसाल्नु सर्वसुलभ र सजिलो उपाय हो ।
यसका बारेमा ज्ञान भएपनि आलटाल गर्ने गरेको पाइन्छ । दिसा गरेपछि वा बच्चाको दिसा धोएर डाएपर फेरेपछि जम्मा १९ प्रतिशतले मात्रै साबुन पानीले हात धुने गरेको एउटा तथ्यांकले देखाएको छ । विश्वभरि ४० प्रतिशत स्वास्थकर्मीले मात्रै हातको सरसफाई व्यवस्थापन गरेको पाइन्छ । नेपालमा यो अझै कम हुन सक्ने गरेको स्वास्थ्यकर्मीहरूको आकलन छ ।
कैलाली वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले दिसाको सम्पर्कपछि, दिसा गरिसके पछि, बच्चाको दिसा धोएर डायपर फेरेपछि, खाना खानु र बनाउन भन्दा पहिले र पछि, हाछ्यु वा खोकी गरेपछि, बिरामीको चेकजाँच गरेपछि, कुनै समान वा सार्वजनिक स्थानको सतह छोएपछि, फोहोर माटो चलाएपछि सावुन पानीले अनिवार्य हात धुनुपर्ने बताए ।

असाेज २९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार