२ जेष्ठ २०८१, बुधबार

नेपाली केराको बिक्री प्रभावित



धनगढी । कृत्रिम तरिकाले पकाइएका र सस्तो मूल्यका भारतीय केराका कारण नेपाली केराको बिक्री नराम्ररी प्रभावित भइरहेको छ ।
स्थानीय केरा उत्पादक किसानहरूका अनुसार आकारमा साना भए पनि सस्तो मूल्यका कारण भारतीय केरा बढी बिक्री हुने गरेका छन् ।
‘विषादि प्रयोग गरेर जबरजस्ती पकाइएकाले भारतीय केरामा स्वाद छैन, कोसा पनि साना छन्’ नेपाली केरा उत्पादक किसानहरू भन्छन्– तर नेपाली केराको तुलनामा सस्तो भएकाले भारतीय केरा नै बढि बिक्री हुने गरेको छ ।
स्थानीय केरा उत्पादक किसानका अनुसार लगानीका आधारमा नेपाली केराको थोक मुल्य कम्तिमा ३५ रुपैयाँ प्रतिदर्जन रहेको छ । तर, भारतीय केराको थोक मुल्य प्रतिदर्जन २२ देखि २५ रुपैयाँ रहेको छ । टीकापुरका किसान रामबहादुर कुँवरले भने– भारतीय केरासंग प्रतिस्पर्धा गर्न नसक्दा हाम्रो उत्पादनको बिक्री ठप्प भएको छ । राष्ट्रिय कृषक महासंघका कैलालीका अध्यक्ष प्रकाश थापाका अनुसार कैलाली र कञ्चनपुरमा एक हजार पाँच सय बढी किसान केराखेतीमा संलग्न छन ।
नेपाली किसानहरूले विषादि प्रयोग गरेर पकाइएको भारतीय केरा स्वास्थ्यका लागि समेत हानिकारक भएकाले आयातमा रोक लगाउन माग गर्दै आएका छन् । त्यस क्रममा किसानहरुले बुधबार कञ्चनपरका प्रमुख जिल्ला अधिकारी मोहन खनाल, भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्ट लगायतकालाई भेटेर भारतीय केराको आयातमा रोक लगाउन माग गरेका थिए ।
सो अवसरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खनालले किसानका मागबारे सम्बन्धित विभागलाई जानकारी गराउने बताए । किसानहरूले यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल तथा जनप्रतिनीधिहरुलाई भेटेर भारतीय केराको आयात रोक्न पहल गर्न आग्रह गरेका थिए ।
सम्बन्धित जिल्ला कृषि विकास कार्यालयका अनुसार कैलालीमा छ सय ५० र कञ्चनपुरमा चार सय हेक्टरमा केराखेती हुँदै आएको छ । कैलाली र कञ्चनपुरमा गरी वार्षिक ४० हजार मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ ।
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाईं आयोजना अन्तर्गत कृषि आयाम संयोजक कुलप्रसाद तिवारीले पनि केरा उत्पादक किसानहरूले आफ्नो उत्पादन बिक्री नभएको बारे दिनहुँ गुनासो गरिरहेको बताए ।
उनले कृषि आयाम कार्यक्रमअन्तर्गत केरा उत्पादन बृद्धि तथा विस्तारका लागि विभिन्न अनुदान दिने गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार