८ पुष २०८१, सोमबार

तथ्यांकले देखाउँछ– अवैध रूपमा ठूलो परिमाणमा चिनी भित्रिन्छ



धनगढी । प्रदेश नम्बर ७, अथवा सुदूरपश्चिममा बर्सेनि ठूलो परिमाणमा भारतबाट अवैध रूपमा चिनी भित्रिने गरेको तथ्यांकले देखाएको छ ।
कैलाली भन्सार कार्यालयका अनुसार वार्षिक हजारौं टन चिनी अवैध रूपमा भित्रिइरहेको छ । सामान्यतया: एकजनाले एक वर्षमा छ किलो चिनी उपभोग गर्छन् । यस आधारमा प्रदेश नम्बर ७ मा वार्षिक २० हजार मेट्रिकटन बढी चिनीको आवश्यकता पर्दछ ।
कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा छ हजार दुई सय ४९ क्विन्टल चिनी कानूनी रूपमा भित्रिएको थियो । प्रदेश नम्बर ७ मा रहेको दुई वटा चिनी मिलबाट वार्षिक पाँच हजार टन चिनी उत्पादन भइरहेको छ ।
आन्तरिक आपूर्ति तथा आयातबाट आपूर्ति हुने चिनीको परिमाण र मागको तुलना गर्दा वार्षिक झण्डै आठनौ हजार मेट्रिक टन चिनी अवैध रूपमा पैठारी भइरहेको छ ।
साल्ट ट्ेरडिङ कर्पोरेशन धनगढी वितरण शाखाका अनुसार ७ नम्बर प्रदेशको मागको ठूलो हिस्सा अवैध रूपमा भित्रिने चिनीले धान्ने गरेको छ । बैध रूपमा आयातित चिनीको मूल्य अहिलेको बजार मूल्यभन्दा बढी हुने बताइन्छ ।
स्रोतका अनुसार धनगढीका सातआठ वटा व्यापारिक फर्मले ठूलो परिमाणमा भारतबाट अवैध रूपमा चिनी भित्र्याउने गरेका छन् ।
धनगढीमा अहिले चिनीको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ । भारतको गौरीफन्टा बजारबाट भरियामार्फत अवैध रूपमा भित्र्याइने चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ पर्ने गर्दछ । सो मूल्यमा खरिद गरेर ल्याइएको चिनी होलसेल पसललाई ८० रुपैयाँका दरले तथा होससेल पसलले खुद्रा पसललाई प्रतिकिलो ८२ रुपैयाँका दरले बिक्री गर्ने गरेको पाइएको छ । खुद्रा पसलले ग्राहकलाई प्रतिकिलो ८५ रुपैयाँका दरले बिक्री गरिरहेका छन् ।
अवैध रूपमा ठूलो परिमाणमा चिनी भित्रिने गरेबाट कैलालीमा सरकारको राजश्व संकलनमा पनि प्रभाव परेको छ ।
विगतको तुलनामा कैलाली भन्सार कार्यालयको राजश्व संकलनमा चालू आर्थिक वर्ष २०७४/०७५ को पहिलो महिना (साउन) मा गिरावट आएको छ ।
कैलाली भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो महिना अर्थात् साउनमा जम्मा १९ करोड ४३ लाख ५१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । भन्सार कार्यालयलाई साउन महिनाका लागि २७ करोड १५ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिइएको थियो । तर यो महिनामा ७१ दशमलव ५६ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार गत वर्षको तीन सय १५ क्विन्टल चिनी अझै स्टक रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको चिनी कैलालीमा पुग्दा हल्का महँगो बन्ने गरेको भए पनि पहाडी जिल्लामा पुग्दा खुद्रा व्यापारीको तुलनामा सस्तो बन्ने गरेको जनाइएको छ । शाखाका अनुसार यस प्रदेशको बैतडी, बाजुरा, डोटी, अछाम, बझाङमा शाखाले शुरु गरेको सुपथ मूल्य बजार प्रभावकारी भएको छ ।
भन्सार छलीमा बढोत्तरी हुनु नै भन्सार कार्यालयले लक्ष्य प्राप्त गर्न नसकेको स्रोतले जनाएको छ । पछिल्लो समय ठूला व्यापारिक सामग्री बाहेक साना तथा खुद्रा सामग्री ठूलो परिमाणमा अन्य नाकाबाट नेपाल भित्रिने गरेको बताइन्छ ।
सवारी साधनका स्पेयर्स पार्ट्स, ग्यास, डिजल, पेट्रोल, कुखुराका दाना लगायतका सामग्री भन्सार कार्यालय भएर भित्रिने गरे पनि कस्मेटिक, चिनी, तयारी कपडा लगायतका सामग्री चोरी नाका भएर आउने गरेको स्रोतको दाबी छ ।
कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत नरेशप्रसाद आचार्यले पनि चोरी पैठारीमा बृद्धि हुनु नै प्रमुख समस्या रहेको बताए ।
उनले अहिले चाडपर्वको समयमा चिनी, कस्मेटिक, तयारी कपडा लगायतका सामग्रीको आयात बढ्नु पर्नेमा नबढेको बताए । ‘तर बजारमा यी सामग्री छ्याप्छ्याप्ती पाइराखेका छन्’ उनले भने– ‘यसको सोझो अर्थ भन्सार छलेर यस्ता सामग्री भित्रिरहेका छन् भन्ने नै हो ।’
प्रहरी प्रशासन, भन्सार कार्यालय र व्यापारीहरूको मिलोमतोमा कैलाली सहित यस प्रदेशमा अबैध रूपमा चिनी भित्रने गरेको जनाइएको छ ।

भदाै १७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार