२३ बैशाख २०८१, आईतवार

सडकमा आयुर्वेदिक इलाज



धनगढी । ‘के तपाई बबासीर, उच्च रक्तचाप, मधुमेह आदि रोगबाट ग्रस्त हुनुहुन्छ । आउनुहोस्, तपाईका यी सबै समस्याको हामीसंग समाधान छ ।’ धनगढीको मुख्य बजारको सडक किनारामा सानो टहरोमा विभिन्न प्रकारका औषधि (?) राखेर एक जना भारतीय व्यापारी लगातार भट्याइरहेको छ । ‘जस्तोसुकै असाध्य रोगको पनि इलाज’ हुनेमा विश्वस्त पार्ने प्रयासमा रहेको ‘झोले वैद्य’ को एकोहोरो भट्याइले फाट्टफुट्ट पैदलयात्री उत्सुकतापूर्वक आफ्नो रोगको उपचारका लागि उनीकहाँ पुगे । झोले वैद्यले केही बेर समस्या सुन्यो र निकै विश्वासका साथ ‘हकिमी औषधि’ को गुणगान गाउन थाल्यो ।
धनगढीको मुख्य बजारको सडक किनारमा आइतबार एक जना भारतीय व्यापारीले ‘आयुवेर्दिक’ औषधि बिक्री गरिरहेको दृश्य हो यो । ‘जस्तोसुकै रोगको इलाज तथा सबै रोगको एक औषधि’ को शैलीमा बेलाबेलामा भारतीय झोले डाक्टरहरूले धनगढीका विभिन्न सडकमा औषधिको व्यापार गरिरहेका पाइन्छन् । केही समयसम्म हराएका यी झोले आयुर्वेदिक व्यापारीहरू पुन: देखापरेका छन् । धनगढीको भन्सार रोडदेखि अत्तरिया र ट्राफिक चौराहदेखि क्याम्पसरोडसम्म जहातही भारतीय ‘हकीम’हरूले व्यापार गरिरहेका छन् ।
ढाडको दुखाई होस् अथवा दाँतको दुखाई होस्, अथवा सास गन्हाउने देखि यौन दुर्वलतासम्मका औषधि रहेको दाबी गर्ने यी ‘हकिम’हरूसंग खानेदेखि मालिस गर्ने सबै खालका औषधि उपलब्ध छन् । सडक किनारामा टहरा बनाएर माइकबाट लगातार ‘रोगबाट छुटकारा पाउन हामीलाई सम्झनुहोस्’ भन्दै प्रचार गरिरहेका उनीहरूले एउटै प्रकारको औषधिबाट धेरै किसिमका रोग निको हुने दाबी गरिरहेका छन् ।
सडकका यी हकिमहरूले २० रुपैयाँदेखि दुई हजारसम्म मूल्यका औषधि बिक्री गरिरहेका छन् । नियमनकारी निकायको ध्यान नजाने भएकाले यस्ता झोले डाक्टरहरू एक पटक १५/२० दिनसम्म बस्ने गरेको भुक्तभोगीहरू बताउँछन् । यिनीहरूले प्राय: बृद्धबृद्धा, महिला तथा निम्न आयस्तर भएका व्यक्तिलाई प्रभावमा पार्ने गरेका छन् ।
औषधि बिक्रीका लागि कुनै पनि अनुमति नलिएका यी भारतीय व्यापारीहरूले बिक्री गर्ने औषधिको गुणस्तरबारे पनि कुनै टुंगो हुँदैन ।
सेती अञ्चल आयुर्वेदिक औषधालयका अनुसार सडकमा टहरा बनाएर औषधि विक्रीवितरण गर्नेहरूले कुनै अनुमति लिएका हुँदैनन् । सेती अञ्चल आयुुर्वेदिक औषधालय कैलालीका प्रमुुख खगेन्द्र बमले दुई दिनअघि बजार अनुगमन गरी यसरी अनाधिकृत रूपमा औषधि विक्रीवितरण नगर्न चेतवानी दिएको बताए । उनले दोस्रो पटक अनुुगमन गर्दा नहटाइएको पाइए प्रहरी प्रशासनमार्फत हटाइने बताए । उनले औषधि सेवनकर्ताले पनि बिना प्रमाणित यस्ता औषधि प्रयोग नगर्न आग्रह गरे ।
सेती अञ्चल आयुुर्वेदिक औषधालयका कविराज निरीक्षक दीपक पन्तले प्रशोधन नगरिएका औषधिहरूको सेवन गर्न नहुने बताए । उनले ती व्यक्तिहरूले औषधि नबन्ने भएको भन्दै उनीहरूले छलेर गुुणस्तर हिन औषधि विक्री गर्ने गरेको जानकारी दिए । ‘आर्थिक वर्ष २०७३/७४ हाम्रो ३/४ जनाको टिमले अवैध रूपमा औषधि विक्री गर्नेहरूलाई हटाएका थियौं’ उनले भने– ‘यो वर्ष पनि अनुुगमनका क्रममा भेटिएकाहरूलाई अनाधिकृत औषधि नवेच्न चेतावनी दिइरहेका छौं ।’
कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले यस्ता गलत कार्यलाई रोक्न विषयगत कार्यालयले नियमित अनुगमन, निगरानी गर्नुपर्ने र आवश्यक परे प्रशासनको सहयोग लिनुपर्ने बताए ।

भदाै १२ गते epaper

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार