२३ बैशाख २०८१, आईतवार

तीन महिनादेखि सिकलसेल परीक्षण उपकरण बन्द



धनगढी । सेती अञ्चल अस्पतालमा रहेको सिकलसेल एनिमिया रोगको परीक्षण गर्ने उपकरण तीन महिनादेखि बन्द अवस्थामा छ ।
गत वर्ष २० लाख रुपैयाँभन्दा बढी लागतमा अञ्चल अस्पतालमा जडान गरिएको सिकलसेल एनिमिया परीक्षण उपकरण रियजेन्ट रसायनको अभावमा बन्द हुन पुगेको छ । सो रसायन अभावमा गत जेठ १५ गतेदेखि सो उपकरण बन्द हुनपुगेको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सर्जन केसीले बताए ।
मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केसीले सो रयासन आपूर्तिका लागि सप्लायर्सलाई पत्राचार गरिए पनि अझैं आइनपुगेको बताए ।
सिकलसेल भएनभएको जाँच गर्न आवश्यक पर्ने उक्त रसायन कम्पनीमा मात्र पाइने भएकाले सप्लायर्सलाई उपलब्ध गराउन पत्राचार गरे पनि अझैसम्म पुग्न नसकेको उनले बताए । उनले आफू अस्पतालमा आएको केही दिनभित्रै सो रसायन आपूर्तिका लागि आपूर्तिकर्तासंग कुराकानी गर्दा दुई हप्ताभित्र ल्याउने बताएको बताए । ‘तर कुराकानी भएको दश दिन भइसक्यो, कुनै सूचना आएको छैन’ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केसीले भने ।
उनले सप्लायर्सले रसायन ल्याइपुर्‍याएको लगत्तै सो उपकरण सञ्चालनमा ल्याउने बताए । ‘एक कन्टेनर रसायनले झण्डै दुई सयदेखि दुई सय ५० जना सिकलसेलका बिरामीको स्वास्थ्य परीक्षण गर्न सकिन्छ’ उनले हाल सो रसायनको अभावका कारण रोग परीक्षण कार्य ठप्प भएको बताए ।
सिकलसेल एनिमिया थारू समुदायमा देखा परेको रोग हो । सो उपकरणबाट एक घण्टामा नौवटा नमुना परीक्षण हुने गरेको छ ।
सेती अञ्चल अस्पतालमा सिकलसेल चेकजाँच गर्ने मेसिन बन्द भएपछि सेवाग्राहीहरू निजी क्लिनिकमा चेकजाँच गराउन बाध्य छन् । सेती अञ्चल अस्पतालमा सिकलसेल चेक गराएवापत एक जना विरामीबाट एक हजार रुपैयाँ शुल्क लिने गरिएको छ । निजी क्लिनिकले एक जना बिरामीसंग दुई हजार रुपैयाँ शुल्क लिने गरेका छन् ।
मेडिकल सुपरीटेन्डेन्ट डाक्टर केसीले सरकारले उपलब्ध गराएको भेरी अञ्चल अस्पतालमा रहेको सिकलसेल एनिमिया परीक्षण उपकरण बिग्रिसकेको बताए ।
थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखा परेको सिकलसेल एनिमिया (एक किसिमको रक्तअल्पता) रोगको बारेमा थारू समुदाय सचेत हुन थालेका छन् । वंशाणुगत रूपमा थारू समुदायलाई मात्र सिकलसेल एनिमिया रोग भएको जानकारी पाएपछि उनीहरू स्व:स्फूर्त सिकलसेल जाँच गराउन स्वास्थ्य संस्था आउने गरेको सेती अञ्चल अस्पतालले जनाएको छ ।
सिकलसेल हुँदा घरमै झारफुक गर्ने वा दुखाई कम हुने औषधि खाएर बस्ने थारू समुदायका बिरामी अहिले आफूलाई सिकलसेल भए नभएको थाहा पाउन स्व:स्फूर्त रूपमा रगत जाँच गराउन आउने गरेको डाक्टर केसीले बताए ।
सरकारले मध्यपश्चिम तथा सुदूरपश्चिमका थारू समुदायमा देखापरेको सिकलसेल एनिमियाको नि:शुल्क उपचारको प्रबन्ध गरेको छ ।

भदाै ९ गते (epaper)

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार