२२ बैशाख २०८१, शनिबार

धनगढीको प्रथम नगरसभा आरम्भ : एक अर्ब १४ करोड बढीको बजेट प्रस्तुत



धनगढी  । धनगढी उपमहानगरपालिकाको प्रथम नगरसभा शनिबारबाट शुरु भएको छ । नेपालको संविधान–२०७२ ले व्यवस्था गरेअनुसार स्थानीय तहको निर्वाचन भएपछि धनगढी उपमहानगरपालिकाको यो पहिलो नगरसभा हो ।
नगरसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि एक अर्ब १४ करोड ४१ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको ।
प्रस्तुत बजेटमा पुँजीगततर्फ ८८ करोड ८५ लाख ८४ हजार र चालू खर्चतर्फ २५ करोड ५५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
नगरसभामा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले प्रस्तुत गरेको बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट नौ करोड ७९ लाख ८७ हजार रुपैयाँ अनुमान गरिएको छ ।
त्यस्तै, वित्तीय समानिकरणबाट ७२ करोड ३९ लाख २८ हजार, सामाजिक सुरक्षा कार्यक्रममा १६ करोड, मालपोत रजिष्ट्रेसनबाट दुई करोड ७० लाख, स्थानीय शासन सामुदायिक विकास कार्यक्रमबाट ८० लाख र सडक बोर्ड नेपालबाट ८४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, सौर्य बत्ती कार्यक्रमबाट ६५ लाख, सीमा क्षेत्र विकास कार्यक्रमबाट ९७ लाख ७५ हजार र क्षेत्रीय शहरी विकास कार्यक्रमबाट छ करोड ७७ लाख २० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, नगर विकास कोष अनुदान तथा ऋणबाट ३२ लाख, लागत सहभागिताबाट १५ लाख र अन्य आयबाट २८ लाख २९ हजार तथा बैंक मौज्दातमा रहेको दुई करोड ७३ लाख १९ हजार रुपैयाँ गरी एक अर्ब १४ करोड ४१ लाख ५९ हजार रुपैयाँ आयको अनुमान गरिएको छ ।
प्रस्तुत बजेटमा प्रत्येक वडालाई समान रूपमा ५० लाख रुपैयाँ र जनसंख्या तथा भूगोललाई आधार मानेर बाँकी रकम क्रमश: ६०:४० को अनुपातमा भार दिई खर्च विनियोजन गरिएको छ ।
विकास वजेटमध्ये ६० प्रतिशत पूर्वाधार विकास र ४० प्रतिशत प्रवद्र्धनात्मक कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाइएको छ ।
प्रस्तावित बजेटमा पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सुशासनका क्षेत्रमा विभिन्न कार्यक्रममा बजेट विनियोजन गरिएको छ ।
नगरसभाको सांसद पुष्करनाथ ओझाले एक समारोहबीच उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा सांसद ओझा, सांसद प्यारेलाल राना, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवा, गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँद, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम उपमहानगरपालिका प्रमुख वडको अध्यक्षतामा भएको थियो । धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत सुरेन्द्र कार्कीले गरेका थिए ।
उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका सबै वडाका वडाध्यक्षर वडा सदस्यहरू, नगर कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यापारी उद्योगी, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा सामाजिक, स्वास्थ्य सेवा, उद्योग वाणिज्य क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तित्व, उत्कृष्ट करदाता, उपभोक्ता समिति र कर्मचारीलाई सम्मान गरियो ।
उपमहानगरपालिकाले बरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारी, जनक गिरी, बाजी आउजी, बरिष्ठ चिकित्सक डाक्टर गणेशबहादुर सिंह, मनकामना युवा क्लव, भौनी चौधरी, व्यावसायी देवेन्द्र हमाल र मायाप्रकाश भट्ट, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लगायतलाई सम्मान गरेको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाका कर्मचारी सरस्वती धामी र राजेन्द्र विकलाई पनि पुरस्कृत गरियो ।

के–के छन्– नीति तथा कार्यक्रममा ? 

शनिबार धनगढी उपमहानगरपालिकाको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा प्रमुख रूपमा पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सुशासन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ ।
उपमहानगरपालिका प्रमुख नृपबहादुर वडद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/०७५ को नीति, कार्यक्रम र बजेटमा व्यवस्थित, सुन्दर र समृद्ध धनगढीको लक्ष्य प्राप्तीका लागि विभिन्न कार्यक्रम प्रस्ताव गरिएका छन् ।
नीति तथा कार्यक्रममा समेटिएका केही उल्लेख्य कार्यक्रमहरू :

  • धनगढी वडा नम्बर ३, चटकपुर र विशालनगरको बीचमा रहेको नेतुवा तालमा वाटर पार्क निर्माण गरिने ।
  • नगरका प्रमुख सडकहरूमा कुनै पनि निकाय तथा संघसंस्थाबाट कुनै पनि योजना सञ्चालन गर्दा पिचसडक भत्काइएमा एक साताभित्र पुन: पिच गर्ने गरी निर्माण व्यावसायीसंग सम्झौता गरी कार्य सञ्चालन गरिने ।
  • यसै वर्षबाट एकीकृत शहरी विकास योजनाको तयारी गरिने ।
  • उपमहानगरपालिकाको पाश्र्वचित्र तयार गरिने ।
  • मुख्य शहरी क्षेत्रलाई सुन्दर र व्यवस्थित गराउन सवारी पार्किङस्थलको व्यवस्था गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइने ।
  • अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न अध्ययन गरिने ।
  • घर निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गर्दा घरको फोटो निवेदन साथ अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिने ।
  • नक्सा पास नगरी वा एक तलाको नक्सा पास गरेको, तर अरु तलाको नक्सा पास नगरी निर्माण भएका घरहरूले २०७४ साउन १ गतेदेखि २०७५ असार मसान्तसम्म घर नक्सा अभिलेखीकरण/नियमित गर्ने व्यवस्था गरिएको ।
  • नयाँ बन्ने ‘ख’ वर्गका भवनहरूलाई सौर्य उर्जा प्रविधि जडान गर्नका लागि प्रोत्साहन गरिने ।
  • निर्माण क्रममा रहेका वा नयाँ बन्ने भवनहरूमा ‘एक घर, दुई विरुवा’ को नीति अवलम्बन गरिने ।
  • उपमहानगरपालिका क्षेत्रभित्र बन्ने प्रत्येक सार्वजनिक तथा सरकारी भवनलाई अपाङ्गमैत्री बनाइने ।
  • उपमहानगरपालिकाको शहरी क्षेत्रमा यसै आर्थिक वर्षबाट हाउस नम्बरिङ कार्यक्रमको शुरुवात गरिने ।
  • फूलबारीमा चिल्ड्रेन पार्क स्थापना गरिने ।
  • गरिब, आदिवासी/जनजाति, थारू, रानाथारू, मुक्त कमैया, हलिया, दलित, पिछडिएको वर्ग, अपाङ्ग र अनाथ बालबालिकाहरूलाई विशेष छात्रवृति कार्यक्रम सञ्चालन गरिने छ ।
  • सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत जेहेन्दार गरिब छात्रछात्राहरूमध्येबाट प्रत्येक वर्ष २० जनालाई ल्यापटप प्रदान गरिने ।
  • नयाँ निर्माण हुने भौतिक संरचनालाई बालमैत्री बनाउन लगाइने र पुराना संरचनालाई बालमैत्री बनाउन प्रोत्साहन गरिने ।
  • खेलकुद विकासका लागि खेलकुदसंग सम्बन्धित संघ/संस्थाहरूसंगको समन्वय र सहकार्यमा खेलकुद सामग्री वितरण गरिने ।
  • धनगढी उपमहानगरपालिका–१३, राजपुरमा प्रादेशिकस्तरीय आयुर्वेद चिकित्सालय स्थापना गरी सञ्चालनमा ल्याइने ।
  • ‘योग गरौ स्वस्थ बनौ’ भन्ने नाराका साथ घरघरमा योग पुर्‍याउने कार्यक्रमको शुरुवात गरिने ।
  • आर्थिक, सामाजिक, लैङ्गिक रूपमा पछाडि परेका महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिकहरूको स्वास्थ्य स्थिति सुधारमा जोड दिइने ।
  • नगर क्षेत्रभित्रका ऐतिहासिक तथा पुरातात्विक महत्त्वका क्षेत्रहरूको संरक्षण तथा विकासमा जोड दिइने ।
  • धनगढी–७ मा रहेको जाखोर ताल लगायत विभिन्न वडामा रहेका ताल तलैयाहरूको पहिचान गरी तिनीहरूको संरक्षण तथा विकास गरिने ।
  • चेलीबेटी बेचविखन तथा महिला हिंसाका घटनामा कमी ल्याउने उद्देश्यका साथ ‘हेलो छोरी’ ईन्टरनेट एप्सको व्यवस्था गरी जिल्ला प्रहरी सेलसंगको सहकार्यमा सञ्चालन गरिने ।
  • क्वारेन्टाईन चेकपोष्ट स्थापना गरिने ।
  • एक वडा एक कृषि उत्पादनको कार्यक्रमको अवधारणालाई अगाडि बढाउन आवश्यक अध्ययन गरिने ।
  • उपमहानगरपालिकाको खेतीयोग्य जमिनको माटो परिक्षण गरी कृषि व्यवसाय प्रवद्र्धनलाई टेवा पुर्‍याउने ।
  • छाडा पशुचौपायाहरूलाई नियन्त्रण तथा व्यवस्थापन गर्न यसै वर्ष फूलवारीमा रहको गौशालालाई विस्तार तथा स्तरोन्नती गरिनुका साथै बेहडाबाबा क्षेत्रमा नयाँ गौशाला निर्माणको थालनी गरिने ।
  • फूलबारीमा पशु हाटबजार, तरकारी तथा फलफूल हाटबजार सञ्चालन गरिने ।
  • उपमहानगरपालिकाको आन्तरिक स्रोत अभिवृद्धिका लागि करका नयाँ स्रोतहरूको पहिचान गरी राजश्व अभिवृद्धि गर्नका लागि थप अध्ययन गनुका साथै कर संकलनका लागि यस क्षेत्रसंग सम्बन्धित संघ/संस्थाहरूसंग सहकार्य तथा साझेदारी नीति अवलम्बन गरिने ।
  • उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण वडाहरूमा वैज्ञानिक रूपमा एकीकृत सम्पत्तिकर लागू गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न एक कार्य दल गठन गरिने ।
  • घरबाट निस्कने जैविक फोहोरबाट बायो उर्जा तथा मल उत्पादन कार्यक्रमको लागि साझेदारी डिबिएफओओटी मोडलमा प्लान्ट स्थापन गरिने ।
  • फोहोरमैलालाई वर्गीकरण तथा खण्डीकरण गर्न नगरवासीलाई उत्प्रेरित गर्ने खालका कार्यक्रम सञ्चालन गरी क्रमश: जैविक फोहोर नगरपालिकाले नउठाउने र व्यक्ति स्वयंले व्यवस्थापन गर्नुपर्ने नीति लिइने छ । साथै कुहिने र नकुहिने फोहोरलाई एक साथ नउठाई फरक–फरक समयमा उठाउने व्यवस्था यसै आर्थिक वर्षबाट मिलाइने छ ।
  • नगर क्षेत्रभित्रका सार्वजनिक तथा निजी संरचनाहरूमा वातावरण मैत्री स्थानीय शासन कार्यक्रमका सूचाकहरूलाई क्रमश कार्यान्वयन गर्दै लगिने छ ।
  • उर्मास्थित पथरी गाउँलाई हरियाली, शहरी सुविधा सम्पन्न नमुना गाउँका रूपमा विकास गरिने छ ।
  • खोला, खोल्सा तथा नालाहरूमा भएको अतिक्रमणलाई हटाई खाली जग्गामा साइकल पथ तथा हरियाली पार्क निर्माण कार्यको थालनी यसै आर्थिक वर्षबाट गरिने छ ।
  • पाँच लाख रुपैयाँभन्दा माथिका योजनाहरूको अनुगमन गर्न एक सुरपरिवेक्षण तथा अनुगमन समिति गठन गरिने र सो समिति वा सो समितिले गठन गरेको उपसमितिद्वारा अनुगमन गराई प्रतिवेदन दिए पश्चात भुक्तानी तथा फरकफारक गरिने व्यवस्था मिलाइने ।
  • उपमहानगरपालिकामा जनताका गुनासाहरू सुन्नका लागि टोल फ्रि नम्बर ५२७७७७ को व्यवस्था गरिएको छ ।
  • उपमहानगरपालिकाको काम कारबाहीलाई व्यवस्थित तथा पारदर्शी बनाई सूचनामा नगरिकको पहुँच बढाउन डिजिटल सूचना बोर्डको व्यवस्था गरिने ।
  • भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीतिलाई अख्तियार गरिने ।
  • शहरका विभिन्न स्थानमा सिसि क्यामेरा जडान गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सहयोग पर्‍याइने ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार