२३ बैशाख २०८१, आईतवार

सिकलसेल रोगसम्बन्धी अन्तरक्रिया : ‘उपचारको दायित्व राज्यले नै बहन गर्नुपर्ने’



धनगढी । थारू समुदायमा देखापर्ने सिकलसेल रोगको उपचार र न्यूनीकरणका लागि राज्यले नै दायित्व बहन गर्नुपर्ने सरोकारवालाहरूको माग रहेको छ ।
थारू नागरिक समाज, कैलाली र सिकलसेल नेपालको संयुक्त आयोजनामा भएको ‘सिकलसेल रोग र राज्यको दायित्व विषयक’ अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सिकलसेल रोगको नियन्त्रण र न्यूनीकरणका लागि राज्यले दायित्व बहन गर्नुपर्ने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले जनतालाई कुनै पनि किसिमको स्वास्थ्य उपचार तथा प्रवद्र्धनको दायित्व सरकारको नै हुने चर्चा गरिन् । उपप्रमुअ मिश्र भट्टले भनिन्– ‘त्यसैले सिकलसेल रोगको उपचारको दायित्व पनि स्थानीय तथा केन्द्रीय सरकारको दायित्व हो ।’
उनले सिकलसेल रोग रोकथामका लागि सरकारले विशेष कार्यक्रम र नीति बनाएर कार्यान्वयन गर्नुपर्ने बताइन् ।
उनले सेती अञ्चल अस्पतालमा अहिले प्रयोगमा नरहेको सिकलसेल परीक्षण गर्नेे मेसिनको सञ्चालनका लागि तत्काल पहल गरिने बताइन् । ‘मानिस जन्मेपछि बाँच्न पाउनु पर्छ’ उनले राज्यलाई सही सल्लाह, सुझाव, जानकारी, खबरदारी, दवाव दिन चुक्न नहुने बताइन् ।
कार्यक्रममा प्राध्यापक डाक्टर शुभेषराज कायस्थले सिकेलसेल रोग रोकथामका लागि राज्यले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि सेवाग्राहीले जानकारी र सचेतनाको कमीका कारण अपेक्षित लाभ लिन नसकेको चर्चा गरे ।
प्राध्यापक डाक्टर कायस्थले कैलालीमा रोग परीक्षण गरिएका १२ प्रतिशत अविवाहित युवायुवतीमा सिकलसेलको समस्या देखिएको बताए । ‘यो बहुअंकहरूमा असर गर्ने रोग हो’ उनले सिकलसेल रोगका चुनौतिहरूलाई सामना गर्दै समय मै यसको उपचार गरिनु पर्ने बताए ।
सिकलसेल नेपालका उपाध्यक्ष प्रियंकरबहादुर चन्दले सिकलसेललाई बालरोगका रूपमा लिएर जन्मिने वित्तिकै शिशुमा सिकलसेल जाँच गर्ने नीति बनाउनु पर्ने बताए । चार वर्षदेखि अमेरिकामा सिकलसेलसम्बन्धी अनुसन्धान गर्दै आइरहेका चन्दले भने– ‘जन्मिने वित्तिकै शिशुलाई उपचार गर्न सकिएमा ७० प्रतिशत बालबालिकालाई यो रोगबाट जोगाउन सकिने छ ।’
‘सिकलसेल अणुवांशिक जन्मजात रोग भए पनि वयस्कमा मात्र जाँच गरेर पत्ता लगाएर उपचार गरिन्छ’ उनले सिकलसेल रोग रोकथामका लागि सरकारले व्यवस्थापनका साथै स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान गर्ने र जनचेतना अभिबृद्धिमूलक कार्यक्रम सञ्चालन गरिनु पर्ने बताए ।
कार्यक्रममा सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले सिकलसेलको मुख्य समस्या उपचार भएकोले बिरामीलाई उपचारका लागि सहयोग समूह खोज्नुपर्ने बताए । ‘बिरामीका चापका कारण राज्यले सबै बिरामीलाई सहयोग गर्न नसक्ने र सबै बिरामीको उपचारसम्म पहुँच हुन नसक्ने भएकाले सरकारले लागू गरेका सिकलसेल रोकथामका कार्यक्रम प्रभावकारी हुन सकेका छैनन्’ उनले भने ।
कार्यक्रममा सेती अञ्चल अस्पतालका काउन्सिलर यशोदा ढकालले सिकलसेलका प्राय: बिरामीले रोगका बारेमा ढिलो थाहा पाउने भएकाले उपचारका लागि ढिलो आउने गरेको बताइन् ।
कार्यक्रममा सिकलसेल बिरामी सुरेश कठरिया र माया चौधरीले सिकलसेल बिरामीको नि:शुल्क उपचार नीति बनाउन माग गरे ।
कार्यक्रम थारू नागरिक समाज, कैलालीका संयोजक दिलबहादुर चौधरीको अध्यक्षतामा भएको थियो ।
संस्थाका सदस्य जुहारीलाल चौधरीले स्वागत गरेका कार्यक्रमको रोहित चौधरीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार