बडीमालिका यात्रा रमाइलो तर चुनौतिपूर्ण



विभिन्न फूलहरू, अच्चमका रुखविरुवा, आश्चर्य लाग्ने खालका ढुंडा, पुराना गोठहरू, अनौठा चट्टान, ठूला मैदान, दलदले जमिन वा सिमसार क्षेत्र, त्रिवेणी नदी, खेतीवेती, कर्णाली नदी, सान्नी रास्कोट, त्रिवेणीबाट तेस्रो तप्पड कटेपछि नौमाने डाँडा, लौरिविनायक जहाँ यात्राका बेलाको लठ्ठी चढाउने गरिन्छ, जोगी पहिरो, जोगीढुंगाबाट, बासुधारा अर्थात् सहस्रधारा, बडीमालिका मन्दिर । मन्दिर पछाडिबाट देखिने दृश्य । धर्मद्वार, धवलपुरी दह र नाटेश्वरी मन्दिर लगायत ।
मेरो घर बाजुरा बाह्रबीसको माथिल्ला काप्रितोलाबाट बिहान सबैभन्दा पहिले देखिने भनेको बडिमालिकासहितका तीन चुचुरा हुन् । हजुरमुमाको चाहनाले म सानैदेखि माघ महिनामा श्रीस्वस्थानी पढ्न थाले । त्यसमा बडीमालिकामा श्री महादेवकी पत्नी सतिदेवीको बायाँकुम पतन भएको चर्र्चा छ । यो प्रसंग पढ्दा बडीमालिका कति प्रसिद्ध रहेछ भन्ने सोच आइरहन्थ्यो ।
हिउँदामा बडीमालिकासहितका तीन चुचुरा र हिउँ देख्दा आनन्द लाग्थ्यो । बडीमालिका शृंखला निकै लामो छ । हिउँदमा सबै शृंखलामा ढमक्क हिउ देखिन्छ । हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन चर्तुदशीमा त्यहाँ लाग्ने मेला भर्न र पूजाआजा गर्न गाउँबाट कोही न कोही गइरहन्थे । यसवर्ष भने चन्द्रग्रहणका कारण साउन २३ को जनैपूर्णिमा १३ गते सारिए पनि पुरानै चलनअनुसार साउन २३ लाई जनैपूर्णिमा मानेर साउन २२ गते बडीमालिकामा पूजाआजा र मेला लाग्ने भएको छ । बाजुरा जन्मेको मान्छेहरू प्रायः सबै मालिका पुग्छन् । मेरो मम्मी सायद चार पटक गएको हुनुपर्छ । बडीमालिका जान नपाएका विवाहित महिला मेला लाग्ने दिन रातभर ‘यसपाला बडीमालिकमा माईले क्या वर दिन्नी…’ भन्ने गीतहरू गाएर जाग्राम बस्थे ।
मेरो कथा भने फरक छ । म संगै पढ्ने, तर उमेरले मभन्दा पाकाहरू बडीमालिका पुगिसकेका थिए । तर, मलाई भने ‘बडीमालिका जान निकै कठिन हुन्छ’ भनेर घरबाट अनुमति दिइदैनथ्यो । त्यहाँ गइसकेकाहरूले गरेको वर्णन सुन्दा ‘अहिले नै जाउँ कि’ झैं लाग्थ्यो । घरबाट नजिकै जस्तो लाग्ने भएर पनि जान नपाउँदा निकै छटपटी हुन्थ्यो । दश कक्षामा पुग्दासम्म जाने अनुमति पाउने छाँट देखिन । एकचोटी विद्यार्थी संगठनको कामले सदरमुकाम मार्तडी गएको बेला गाउँबाट बडीमालिका जानेहरू आएको थाहा पाएपछि २०५३ सालको वर्षायाममा म पनि हिँडे, मालिकातिर ।

के के बोक्ने

  •  टेन्ट (तर रेडक्रसले त्रिपाल नि दिने गरेकोले आफूसित टेन्ट वा पाल नहुँदा नि गाह्रो हुन्न)
  •  सिलिपिंग व्याग
  • भुईबाट पानी नछिर्ने चिसो नलाग्ने पातलो कपडा (बोक्दा हल्का हुने चटाई)
  • छाता
  • टुमलेट
  • खुर्सानी वा चुकको अचार
  • पञ्जाहरू
  • पर्यटक जुत्ता
  • र्यानकोट
  • फास्टफुडहरू

साच्चै नै बडीमालिका यात्रा भनेजस्तै जोखिमपूर्ण रहेछ । त्यसैमा म संग एक सुको पैसा थिएन, न त रेनकोट, सिलिपिङ व्याज थियो, न त अरु सामान नै । तर भनिन्छ– ‘आँटे पछि दैवले पु¥याउ“छन्’ मलाई मेरो कान्छोबुबाका बैसाजु बिष्णु रेग्मी र बडीमालिका माविका प्रधानाध्यापक गणेशेश्वरराम जोशीले केही रुपैयाँ रेनकोट, सिलिपिङ व्याग दिनुभयो, अब भने मलाई यात्रा केही सहज भयो ।
गाउँका आफन्त र दौतरीहरूसंगै भएपछि कठिन यात्रा पनि रमाइलो हुन्छ । यात्रा शुरु गरेको दिन मार्तडीको ठाडो उकालो चढ्न दिनभरी लाग्यो । उकालो काट्ने वित्तिकै अनौठा खालका ढुंगा, खोला मैदान शुरु भयो । बडीमालिका यात्रा चुनौतिपूर्ण रहेछ भन्ने दिउँसो हिँडेको बाटोले स्पष्ट गरिसकेको थियो ।
मालिका जान बाजुराबाट मार्तडी, जडांगा, कोटिला र नाटेश्वरी तथा अछाम र कालिकोट लगायतबाट धेरै बाटा रहे पनि बढी प्रचलित भने मार्तडी र जडांंगा नै मानिन्छन् । देउलेकमा मार्तडी र कोर्दालीगाड दुई बाटाको भेट हुन्छ । त्यसपछि घोडा दाउने, लोध हुँदै हामी भित्तोचिर्ने भन्ने ठाउँमा बास बस्यौ । कोर्दालीगाड तर्फबाट आएकाहरू भने लोधमै बास बस्दा रहेछन् । रात निकै छिप्पिएको थियो । तर, हामीसंगै आएका भतिज मीनबिक्रम पालभित्र थिएनन् । केही तल रुवाबासी भएको सुनियो । खोज्दै जाँदा उनी तलको गोठमा भेटिए । ‘बडिमालिकामा मरेपछि वा पुगेर फर्केपछि स्वर्ग पुगिन्छ, मागेको वर पाइन्छ’ जस्ता विश्वासले प्रायः वृद्धवृद्धा मालिका जाने गर्छन् । बाजुरा ब्रहमतोलाका एक वृद्ध पनि मालिका दर्शनका लागि आएका रहेछन् । उनलाई लेक लागेको रहेछ । उनको अवस्था हेर्दा देहत्याग गरे झैं लागेर आफन्तले रुवावासी गरेका रहेछन् । रुवाबासी सुनेर हेर्न गएका मीनविक्रमले आगोले खुट्टा, छाती, निधार सेकेपछि उनी तंग्रिएका रहेछन् । त्यो यात्राभरी मीनविक्रम ‘डाक्टर साव’ कहलिए ।

दर्शनाभिलासीका पालहरु

ती बृद्धको अवस्थाले म पनि डराए । साच्चै गाह्रो हुने रहेछ भन्ने लाग्यो । २० वर्ष मुनिका र ६० वर्षमाथिकाले जानु हुन्न भन्ने लाग्यो । मालिका यात्राका क्रममा बाटो, विषफूल, हिमचितुवा, हिमाली भालुले पनि सताउँछ भनिन्थ्यो । तर, अहिलेसम्म मैले त्यस्तो घटना सुनेको छैन । त्यो क्षेत्रमा हिमचितुवा, हिमाली भालुका साथै नाउर, कस्तुरीमृग, वन कुकुर आदि वन्यजन्तु पाइन्छन् । बाटोमा भोक लाग्दा साथीहरूले ल्याएको सातु खाइयो । चिसो नलागोस भन्नका लागि खुर्सानीको अचार र चुक खाइयो । चिसोले होला खुर्सानी जति खाँदा पनि पिरो लाग्दैनथ्यो ।
दोस्रो दिन ओरालो झरेपछि कोर्दालीगाडको मुहान भेटियो फेरि उकालो चढेर त्रिवेणी क्षेत्रतिर गयौं । सुन्दर फाँट, बाटोमा भेडाको बथान, घरी आउने, घरी जाने कुहिरो, सानासाना भञ्ज्याङको वर्णन गरी साध्य नै छैन । अघिल्लो दिनको जस्तै उकालो काटे पनि प्राकृतिक सौन्दर्यले हामी लठ्ठ भयौ । दिउसो त्रिवेणी पुगेपछि खेतीवेती हेर्न गयौ । खेतीवेती र गलौचा ओछ्याए जस्ता समथर ठुल्ठूला २२ गरा (पाटन) ले बडीमालिका क्षेत्रलाई अनुपम बनाएको छ । खेतीवेतीमा धान पाक्न थाले जस्तो, केही ठाउँमा बीऊ राखेजस्तो, त केही ठाउँमा रोपाई भइरहेजस्तो दृश्य देखिन्छन् । त्रिवेणीबाट पूर्वतिर कर्णाली नदी र कालिकोटको रास्कोट गाउँ हेर्ने चाहना भने छिनछिनमा आउने कुहिरो पुरा हुन दिएन । नियमअनुसार त्रिवेणीमा एकरात बसेर मालिका जाँदाको बिहान नुहाएर मालिकाको दर्शन गरे फल मिल्छ भन्ने विश्वास छ ।

बडीमालिका मन्दिर

त्रिवेणीमा दूधका विभिन्न परिकार र शाकाहारी पकवान पाइन्छ । त्रिवेणीको रात मेरा लागि भने सुखद रहेन । एक जना अग्रजले सरकारी पाल लिएका थिए । मलाई पनि त्यही सुत्न आउने निम्तो आयो । खुसीसाथ गए, तर त्यो आधुनिक टेन्टमा तालमाल फरक मात्र देखिएन, मलाई आफ्नै पालमा जान भनियो । म फेरि के मुख लिएर आफ्न्तको जानु । त्यसपछि एक सिल्पिङ व्यागको भरमा एउटा भट्टीमा रात कटाए । भट्टीमा रातभरी आगो बलेकोले रात राम्र्रैसंग कट्यो, विमारी पनि भइएन ।
तेस्रो दिन । मालिका मन्दिरतर्फ गयौं । मालिका जाँदा त्रिवेणी र वरपरका झन राम्रा दृश्य देखिए । त्रिवेणीबाट तेस्रो तप्पड कटेपछि नौमाने डाँडा आउँछ । निकै बलियोले पनि एकै रन्कोमा त्यो सजिलै लाग्ने ठाडो उकालो दौडेर पुग्न सक्दैन । लगत्तै लौरिविनायकमा लठ्ठी चढाउने गरिन्छ । त्यसपछि आउने जोगी पहिरोमा वर मागिन्छ, जहाँ बढीजसो महिलाले लामो कपाल र सन्तानबिहीनले सन्तानको वर माग्छन् । अलि पर जोगीढुंगाबाट हेर्दै रिंगटा लाग्ने पहिरो पनि रोमाञ्चक छ । मालिका मन्दिर पुग्नै लाग्दा बासुधारा अर्थात् सहस्रधारा आउँछ । वासुधाराबाट थली अर्थात् बडीमालिका मन्दिर जान त्यति सहज छैन । मन्दिर पुग्ने क्रममा बहुत जोगिएर हिड्नु पर्ने रहेछ । केही गरी खुट्टा चिप्लियो भने मृतशरीर पाउने सम्भावना नै हुदैन । किनकि त्यहाँ ठूलो खोच छ । मालिका मन्दिरमा पानी पाइदैन । फेरि जोखिम मोलेर पानी लिन त्यही बाँसुधारामा पुग्नुपर्छ ।
४ हजार २ सय १६ मिटरको उचाईमा रहेको मालिका मन्दिर पुग्दाको अनुभव चै छुट्टै छ । त्यहाँ पुग्दा वास्तवमा सगरमाथाको चुचुरो पुगे जस्तो भयो । हुन पनि आठ वर्षमा चेतनास्तर खुलेको गणना गर्ने हो भने घरको आगनबाट मैले लगातार सात वर्षसम्म देखेको चचुरोमाथिको विजय थियो, मेरो मालिका यात्रा । मालिका चुचरोमा सानो ठाउँ छ । जहाजबाट काठमाडौंको घरहरूको घनत्व देखिए झै त्यो चुचुरोमा पनि एक हजारको हाराहारीमा रहने पालको घनत्व मज्जाका देखिन्छ । चुचुरोबाट दक्षिणमा तराईको फाँट देखिन्छ, जसलाई बर्दियाको राजापुर हो भन्ने अनुमान गरिन्छ । पश्चिममा भगवती ढुंगो, मेरो गाउँ, गाउँमाथिको धवलपुरको डाँडो देखिन्छ । भगवती ढुंगालाई बडीमालिकाले दिसा पुछेर फालेको ढुंगा पनि भनिन्छ । त्यो ढुंगा सायद पृथ्वीकै ठूलो ढुंगा हो, त्यसलाई मालिका भगवती मानेर पूजा पनि गरिन्छ ।

भात लोटाउने भीर

तेस्रो रात मालिका बसेपछि चौथो दिन मालिका भगवतीको पूजापछि हामी नाटेश्वरी लाग्यौ । नाटेश्वरीको बाटो पनि आधा दिन जस्तो निकै कठिन छ । मालिका मन्दिरबाट ओरोलो झर्दा निक्कै ध्यान पु¥याएर खुट्टा जोगाएर हिड्नु पर्ने हुन्छ । हामी पानीको काम गर्ने भनिएको पद्मचारोको अमिलो डाँठ खादै आरोलो लाग्यौं । धेरै तल पुगेपछि धर्मद्वार छिर्दा मात्र ओरालोको थकाई मर्छ । धर्मद्वार अर्थात् सानो ढुंगामा सानो प्वाल छ त्यो प्वालमा एकातिरबाट पसेर अर्केतिर निस्कन सक्नेलाई धर्मात्मा मानिन्छ । संयोगले म दुईपटक नै त्यसबाट निस्कन सकेको छु । धेरै त छिर्न नै डराएर पस्न सक्दैनन् । फेरि हिलाम्य घना जंगल हुँदै ओरालोमा हिड्दै धवलपुरी दह (ताल) नपुग्दासम्म कठिनाई भोग्नुपर्छ । तालबाट नाटेश्वरी भने सोझो बाटो भएकोले यात्रा सहज हुन्छ ।
नाटेश्वरीमा पनि एक रात काटेपछि दोस्रो दिन भाकल गरेकाले बोका बलि गर्छन् । नाटेश्वरीमा सयौ बोका अनेकौ शैलीमा काटिन्छन् । त्यो हेर्न पनि रमाइलो हुन्छ । यात्रा जति कठिन भए पनि ती प्राकृतिक रमणीय दृश्य कही गए पनि भेटिदैनन् । वास्तवमा मालिकाको जस्तो प्राकृतिक रमाइलो मैले खप्तडमा समेत अनुभव गरिन । वर्षमा एकपटक मात्र जनैपूर्णिमाको अघिल्लो दिन चर्तुदशीका दिन त्यहाँ मेला लाग्छ । त्यही मेलाको बेला पारेर जानु नै मालिका यात्राका लागि उपयुक्त हुन्छ । चर्चा अनुसार एकपटक मालिका नपुगेको भए सायद मेरो जीवन नै अधुरो हुन्थ्यो होला । संयोगले दुईपटक जान पाए । दोस्रो पटकको यात्रा झन कठिन भएको थियो, किनकि लगातार जस्तो पानी परिरह्यो, त्यसले मन हर्ने गरेर डुल्न पाइएन । एक पटक हेलिकोप्टरबाट मालिका हेर्न पाइयो त्यो पनि मेरो जीवनको ऐतिहासिक क्षण हो ।
दोस्रो पटक २०६४ सालमा बडीमालिका जाने अवसर मिल्यो । त्यतिबेला म पत्रकारका रूपमा गएको थिए । दोस्रो पटक जा“दा थाहा भो– ‘मालिका क्षेत्रमा ५० भन्दा बढी दुर्लभ र बहुमुल्य जडीबुटी पाइने रहेछन् ।’ क्यान्सर रोगको औषधीमा प्रयोग हुने लौठसल्ला र गोव्रेसल्लादेखि गदाल्नो, बुझो, वनलसुन, बायोजडी, पाँचऔले, पद्मचाल, सुगन्धवाल, भूतकेश, कटुकी, हातेजडी, सिलाजितसम्मका जडीबुटी त्यहाँ पाइने गरेको सिनामंगलको पाथीभरा आयुर्वेदिक हस्पिटल प्रालिका डा. विपी तिमिल्सेनाले बताए ।

धर्मद्धारबाट निस्कदै एक सर्वसाधारण

राजादेखि रंकसम्म
मालिका परापूर्वकालदेखि नै महत्त्वपूर्ण रहेको तथ्यहरू छन् । तत्कालीन राजा, सेना, प्रहरी प्रमुखहरू दर्शनका लागि जान थालेपछि झन् महत्त्व बढ्दै गयो । तत्कालीन राजा वीरेन्द्रले २०३६ मालिकामा सालमा सबैभन्दा ठूलो घण्ट चढाएका छन् । गणतन्त्र आएपछि राष्ट्रपति, संवैधानिक अंगका प्रमुखहरू मालिका पुगेका छन । मन्दिरका पुजारी भानुभक्त पाध्याका अनुसार ०७२ सालमा पदमै रहँदा तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले मालिकामा भव्य पूजाआजा गरेका थिए ।
मालिकामा बाजुरा, अछाम, डोटी, कालिकोट र जुम्लाबाट सरकारी तहबाटै पूजाआजा गरिन्छ । डोटीबाट मेलाको १५ दिनअघि नै डोलजात्रा सहितको टोली, अछामको वैद्यनाथ मन्दिरबाट पाक्न लागेको धानको बाला लगेर आठ दिन अगाडि र बाजुराको टोली तीन दिन पहिले मालिका मन्दिर पुग्ने गर्दछन् । डोटी र जुम्लाको टोली बाइसे र चौबीसे राज्यकाल भन्दा पहिलेदेखि नै मालिका पूजाआजाका लागि जाने गरेको बुढापाकाहरू बताउँछन् ।
पाँच पटक मालिका पुगेका बुढीगंगा नगरपालिका–९ का ७९ वर्षिय देवीमान शाहका अनुसार पृथ्वीनारायण शाहले समेत मालिकामा पूजा गर्न टोली पठाउँथे । आधुनिक कालमा सेनाको कर्णेलले सुनको जनैले मालिकामा पूजा गर्दथे, पूजापछि त्यो सुन फिर्ता लैजान्थे उनको सुरक्षा गाउँले दिएर डोटी पुगाइन्थ्यो । खप्तडबाबाले पनि धेरै पटक मालिकाको भ्रमण तथा दर्शन गरेको स्थानीयको कथन छ ।
यात्रा कठिन र चुनौतिपूर्ण भएकोले अहिले पनि बाजुरा बाहेकका मान्छे नगन्य रूपमा मात्रै जाने गरेका छन् ।

त्रिवेणी पाटन
प्रतिक्रिया दिनुहोस्