८ जेष्ठ २०८१, मंगलवार

फस्टाउँदै घाँस खेती



टीकापुर । टीकापुरका युवा युवराज शर्मा केही वर्षदेखि वर्षे घाँस (मकै चरी) को वीऊ उत्पादनमा व्यस्त छन् । २०७१ सालमा आठ विघा जग्गामा मकै चरी खेती शुरु गरेका उनले अहिले ७० हेक्टर जमिनमा घाँस खेतीलाई विस्तार गरेका छन् ।
शुरुमा थोरै जग्गामा मकै चरी लगाउँदा सोचजस्तो वीऊ उत्पादन नभएपछि उनले २०७३ मा घाँसखेती विस्तार गरे । यस वर्ष उनले तीन सय क्विन्टल मकै चरीको वीऊ उत्पादन गरेको बताए । शुरुका वर्षमा उनले वार्षिक ६० क्विन्टल मात्र वीऊ उत्पादन हुने गरेको बताए ।
‘प्राविधिकसंग प्राविधिक ज्ञानसीप लिएपछि घाँसको हेरचाहमा ध्यान दिएँ’ उनले भने– ‘उनीहरूकै सल्लाहअनुसार काम गर्दा उत्पादन पनि राम्रो भयो ।’ युवराजले आर्थिक वर्ष २०७२/०७३ मा दुई सय ८० क्विन्टल वीऊ उत्पादन भएको बताए ।
उनी अरू पेसामा पनि संलग्न छन् । ‘तर मलाई व्यावसायिक घाँस खेतीले नै सन्तुष्टी दिएको छ’ उनले टीकापुर मै एउटा निजी विद्यालय पनि सञ्चालन गरिरहेको बताए । यसका अतिरिक्त उनले तरकारी खेती र धान खेती पनि गरेका थिए । ‘रानी जमरा कुलरिया सिंचाईं आयोजना अन्तर्गत कृषि इकाई कार्यक्रम लागू भएपछि मैले पनि तरकारी खेती शुरु गरे’ उनले तरकारी खेती गर्ने किसानको संख्या निकै भएकाले बजार पाउन गाह्रो हुन थालेपछि आफूले सो व्यावसाय छोडेर घाँस खेती शुरु गरेको बताए ।
वर्षे चरी घाँसको वीऊको बजार मूल्य अहिले एक सय ५० रुपैयाँ रहेको छ । उनले आफूले प्रतिकिलो एक सय रुपैयाँको दरमा सरकारलाई पनि वीऊ बिक्री गरिरहेको बताए ।
किसान युवराजका अनुसार वर्षे चरी घाँसलाई फागुनदेखि असार महिनासम्म लगाउन सकिन्छ । यो घाँसबाट कात्तिक मंसिरमा वीऊ उत्पादन हुन्छ । यो घाँसबाट रोपेपछि दुई पटक काटेर गाईभैसींलाई खुवाउन सकिन्छ र वीऊ उत्पादन गर्न सकिन्छ । यो घाँसमा काब्रोहाईड्ेरड बढी पाइने गरेकाले पशुहरूलाई खुवाउँदा बढी दूध उत्पादन हुने पशु प्राविधिकको भनाई छ ।
कैलालीकै गोदावरी नगरपालिकाका मीनराज जोशीले पनि केही वर्षदेखि व्यावसायिक घाँसखेती गरी बेर्ना उत्पादन गरिरहेका छन् । उनले चार बिघामा विभिन्न उन्नत जातका घाँसका बेर्ना उत्पादन गरिरहेका छन् ।
कैलालीमा पछिल्ला केही वर्षदेखि व्यावसायिक व्यवसायीक रूपमै उन्नत जातका घाँस रोप्ने गरेको जिल्ला पशुसेवा कार्यालय कैलालीले जनाएको छ । पशु प्राविधिकहरूका अनुसार कैलालीमा तीन वर्षअघिसम्म घाँसको जोहो गर्न वन जंगल धाउनु पर्ने अवस्था थियो । अहिले यो अवस्थामा निकै सुधार आएको छ । पशुपालक किसानले प्राय: आफ्नो बारीमा उन्नत जातको घाँस लगाउने गरेका छन् ।
जिल्ला पशुसेवा कार्यालय, कैलालीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा दुई सय ९० हेक्टरमा घाँस खेती गरिएकोमा १८ हेक्टरमा व्यावसायिक रूपमा घाँस खेती गरिएको थियो ।
आर्थिक वर्ष २०७३/०७४ मा तीन सय ३० हेक्टरमा घाँस खेती गरिएकोमा ३० हेक्टरमा व्यावसायिक रूपमा घाँस खेती गरिएको छ । व्यावसायिक घाँस खेती भन्नाले घाँसको वेर्ना वा वीऊ उत्पादन गर्नेलाई बुझिन्छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा दुई जना किसानले घाँसको वीऊ उत्पादन गरिरहेका छन् ।
जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक पुष्प भारतीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा जिल्लामा वर्षे घाँस दुई सय ५० क्विन्टल र हिउँदे घाँस ९० क्विन्टल उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७३/७४ मा तीन सय ८० क्विन्टल वर्षे घाँस र एक सय ९५ क्विन्टल हिउदे घाँस उत्पादन भएको जनाइएको छ ।
‘विगतमा बाहिरी जिल्लाबाट घाँसका वीऊ आयात गरेर किसानलाई वितरण गर्नुपर्ने अवस्था थियो’ पशु प्राविधिक भारतीले भने– ‘तर चार वर्ष यता कैलालीमा व्यावसायिक घाँस खेती शुरु भएपछि जिल्लामा वीऊ तथा बेर्ना उत्पादनमा उल्लेख्य बृद्धि आएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार