८ जेष्ठ २०८१, मंगलवार

फजुल खर्च घटाउँदै महिला



टीकापुर । टीकापुर नगरपालिका–४, मौरनियाकि रेखा शाहले अघिल्लो वर्षसम्म महिनामा दुई हजार रुपैयाँसम्म टेलिफोन खर्च गर्ने गरेकी थिइन्, तर गत माघदेखि उनको टेलिफोन खर्च चार सय रुपैयाँमा झरेको छ ।
‘मेरा श्रीमान कतारमा रोजगारमा हुनुहन्छ, उहाँलाई फोन गर्न मोवाइलमा महिनामा दुई हजार रुपैयाँसम्मको रिचार्ज गर्ने गरेकी थिए’ उनले भनिन्– ‘गत माघदेखि वित्तीय साक्षरता कक्षामा सहभागी बनेपछि टेलिफोन खर्चमा निकै कटौती गरेकी छु ।’ रेखाले माघदेखि श्रीमानसंग आवश्यक र छोटो कुरा मात्र गर्ने गरेको बताइन् ।
मौरनियाकै कृष्णा चौधरीले पनि चाउचाउ विस्कुटको सट्टा घरमै रोटी, चनाजस्ता खाने कुरा बनाएर बच्चालाई खुवाउन थालेको बताइन् । ‘यसले एकातिर फजुल खर्च रोकिएको छ’ उनले भनिन्– ‘अर्कोतिर बालबच्चाको स्वास्थ्यमा पनि सुधार आएको छ ।’
सुरक्षित आप्रवासन (सामी) हेल्भेटासको सहयोगमा सञ्चार प्रतिष्ठान नेपाल कैलालीद्वारा सञ्चालित विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारमा गएका परिवारका सदस्यहरूका लागि सञ्चालित वित्तीय साक्षरता कक्षामा सहभागी भएकाहरूले विस्तारै फिजुल खर्च कम गर्दै लग्नुका साथै आर्थिक व्यवस्थापन गर्न थालेका छन् ।
‘साक्षरता कक्षामा विदेश गएर दु:खले कमाएको पैसा अनावश्यक रूपमा खर्च गर्नुहुन्न, वरु घरमा रहेकाले केही न केही सीपमूलक काम गरेर थप आम्दानी बढाउनुपर्छ भन्ने सिकाएपछि धेरै महिलाले फजुल खर्च नियन्त्रण गरेर आयअर्जनका काम गर्न थालेको’ वित्तीय साक्षता सहजकर्ता लक्ष्मी शाहीले बताइन् ।
फजुल खर्च गर्नुहुन्न वरु सीप सिकेर केही गर्नुपर्छ भन्ने ज्ञान पाएपछि मौरनियाकै भूमिका शाहीले माछापालन गर्न थालेकी छन् भने फूलरानीले सिलाइकटाई गर्न थालेकी छन् । २५ जनाको वित्तिय साक्षरता कक्षाका प्राय: सबै महिलाले केही न केही गर्न थालेको सहजकर्ता शाहीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार