८ जेष्ठ २०८१, मंगलवार

जैतुनको जिल्ला बन्दै बाजुरा



बाजुरा । बाजुरामा वैकल्पिक तेलको स्रोतका रूपमा रहेको जैतुनको प्रचूर सम्भावना रहेको छ । बाजुराका पूर्वी तथा पूर्वोत्तर क्षेत्रमा प्रशस्त मात्रामा जैतुन पाइने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय, बाजुराका प्रमुख डाक्टर रामकृष्ण श्रेष्ठले जैतुन खेतीको उचित व्यवस्थापन तथा विकास गर्न सकिएमा जिल्लालाई आर्थिक रूपमा सबल बनाउन सकिने बताए ।
सांसद कर्ण थापाले पनि सरकारले यस वर्षदेखि बाजुरामा जैतुन खेतीका विस्तार प्रवद्र्धनका लागि कार्यक्रम लागू गरेको बताए । सांसद थापाका अनुसार बाजुरामा जैतुन खेतीको विकास र विस्तारका लागि सरकारले यस वर्ष तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जैतुनको तेल विश्कै महंगोमध्येको एक हो । हाल जैतुनको तेल प्रति लिटर दुई हजार पाँच सय रुपैयाँ रहेको छ । यो तेल क्यान्सर र छालारोगको उपचारमा निकै उपयोगी हुने गरेको स्वासथ्यकर्मीहरू बताउँछन् ।
बाजुरामा केही वर्षअघि एचआरसी नामक एक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणमा जिल्लामा जैतुनको निकै सम्भावना रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
सो संस्थाको अध्ययनले बाजुराका तीन प्रजातिका जैतुन रहेको देखाएको छ । बाजुराका वाई, जगन्नाथ, गोत्री, कोल्टी, रुगीन, जुकोट, ब्रह्मतोला, साप्पाटा र बाह्रबिसमा तीन प्रजातिका जैतुन पाइएको संस्थाका अधिकृत लक्ष्मण जोशीले बताए ।
उनका अनुसार बढि खडेरीको चपेटामा पर्ने गरेको जगन्नाथमा र वाईमा गरेका करिब ८० हजार जैतुनका बोट रहेका छन् । त्यस्तै, कोटिलामा १५ हजार, कोल्टीमा २८ हजार, रुगीनमा तीन हजार, बाह्बीसमा छ सय जैतुनका रुख रहेको पाइएको छ ।
तर, स्थानीयले जैतुनको उपयोगिता र महत्त्वबारे जानकारी नपाएका कारण जथाभावी फडानी हुने गरेको छ । जगन्नाथका वीरबहादुर शाहीले स्थानीयलाई जैतुनको महत्त्व थाहा नपाएका कारण खेर गइरहेको बताए ।
बाजुराको कोल्टीमा रहेको जनप्रकाश उमावि परिसरमा लगाइएको जैतनु परीक्षण सफल भएको जनाइएको छ । इटाली सरकारको सहयोगमा सन् २००६ मा लगाएको जैतुन सफल भएपछि बाजुरामा जैतुन सम्भावना रहेको परीक्षण केन्द्रका परियोजना अधिकृत जनेश भण्डारीले बताए ।
जैतुन परीक्षणका लागि कोल्टीमा साढे तीन हेक्टर जमिनमा ६ सय ३६ बिरुवा रोपिएको थियो । त्यसमा २८ प्रजातिको जैतुन लगाइएको थियो । अहिलेसम्म २४ प्रजातिका बिरुवा फलेको परियोजना अधिकृत भण्डारीले बताए । त्यसमध्ये नेपाल सरकारलाई सफल भएको भन्दै १० जात जैतुन शिफारिस गरेको भण्डारीले बताए ।
इटाली सरकारले बाजुरा, डोल्पा र काठमाडौं जैतुन परीक्षण गरेको थियो । परीक्षणका लागि १४ लाख युरो खर्च भएको थियो । त्यसमध्ये ५० प्रतिशत रकम बाजुरामा खर्च भएको भण्डारीले बताए । कोल्टीमा जैतुन परीक्षण सफल भएपछि सरकारले हाल १० जिल्लामा जैतुन खेति विस्तार गर्ने कार्यक्रम ल्याएको छ । कर्णालीका पाँच जिल्ला, सेती अञ्चलका बाजुरा, बझाङ, अछाम र भेरीका रुकुम र जाजरकोटमा जैतुन खेतीको निकै राम्रो सम्भावना रहेको छ ।
बाजुराका साविक चार गाविसमा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत खडेरी क्षेत्रमा जैतुन जोन कार्यक्रम शुरु भएको छ । जैतुनको खेतीमा उत्पादकत्व बृद्धि संगै यसको प्रवद्र्धन, प्रशोधन गरी व्यवसायीकरण गरेर आत्मनिर्भर हुने लक्ष्यका साथ यस वर्षदेखि कार्यक्रम शुरु हुन लागेको जिल्ला कृषि विकास कार्यालय बाजुराले जनाएको छ ।
बाजुराका खडेरी गाविसका रूपमा चिनिने वाई, जुकोट, बाँधु र जगन्नाथ गाविसमा उत्पादनको सम्भावना बोकेको जैतुनको व्यवसायिकतालाई सहयोग गर्न यस क्षेत्रमा यो परियोजना शुरु हुनलागेको परियोजना अधिकृत सालिकराम गौतमले बताएका छन् ।
जैतुन जोनका लागि पाच सय हेक्टर जग्गा हुनुपर्ने प्रावधान छ ।
यसैबीच, सरकारले कृषि विभाग, फलफूल विकास निर्देशनालय मार्फत बाजुरामा जैतुन विकास केन्द्र स्थापना गर्ने भएको छ । बाजुरामा जैतुनको प्रचूर सम्भावना देखिए पछि जैतुन विकास केन्द्र स्थापना गर्न लागेको छ । विकास केन्द्र स्थापना गर्नका लागि २० हेक्टर जग्गा आवश्यक पर्ने भएकाले त्यहि अनुसार प्राविधिक टोलीमार्फत जग्गाको खोजी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताए ।
केन्द्रका लागि कोटिलाको वीरसैन, जगन्नाथको काहलपानी र वाईको कोपसाडीलाई सिफारिस गरिएको छ । जैतुन विकास केन्द्र स्थापनापछि जैतुनको अनुसन्धान केन्द्र समेत स्थापना हुने भएको छ । त्यस्तै, नर्सरी उत्पादन, प्राविधिक शिक्षा, प्राविधिक सहयोग जस्ता काम विकास केन्द्रले गर्ने भएको छ । किसानहरूलाई बिरुवा दिने प्राविधिक सहयोग गर्ने काममा सघाउ पुर्‍याउने भएको छ । यो वर्ष नै जैतुन विकास केन्द्र स्थापना भई काम शुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार