२ जेष्ठ २०८१, बुधबार

कैलालीमा फस्टाउँदै पशुपालन व्यावसाय



धनगढी । कैलालीको टीकापुरका ललित थापा दैनिक सरदर ७० लिटर दूध विक्री गर्दै आएका छन् । चार वर्षअघि पाँच वटा भैसींबाट पशुपालन व्यावसाय शुरु गरेका थापासंग अहिले २३ वटा भैसीं रहेका छन् ।
बिहानैदेखि भैसींको स्याहारमा बिताउने उनले दूध बिक्रीबाट मासिक सरदर ३० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।
किसान थापा जस्तै टीकापुरका केमन व्यावसायिक गाईभैसीं पालन फर्मका सञ्चालक चक्र बटालाले पनि वार्षिक करिब चार लाख रुपैयाँ कमाइ गरिरहेका छन् । उनले अहिले छ वटा भैसीं र १५ वटा गाई पालिरहेका छन् ।
बटालाले व्यावसायिक पशुपालनका साथै व्यावसायिक घाँस खेती पनि गरिरहेका छन् । दुई बिघा जग्गामा लगाएको घाँसबाट अहिलेसम्म उनले ४० हजार रुपैयाँ आम्दानी गरेको बताए ।
कैलालीकै वर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का नारायणलक्ष्मी गाई फार्मका सञ्चालक कमल थापाको दैनिकी पनि पशु स्याहारमै वित्ने गर्दछ । १२ वर्षदेखि पशुपालन गर्दै आएका उनले चार वर्षदेखि व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम कृषि तथा पशु विकास फार्मका सञ्चालक मीनराज जोशी पनि पशु स्याहार र व्यावसायिक घाँस उत्पादनमा व्यस्त छन् । उनले आफ्नो फार्ममा १० वटा गाई र सात वटा भैसी पालेका छन् ।
पाँच लाख रुपैयाँबाट शुरु गरेको उनको पशुपालन व्यावसायमा अहिले ५० लाख रुपैयाँ लगानी भइसकेको छ । उनले दूर्गालक्ष्मी बहुमुखी क्याम्पसको चार बिघा जमिन भाडामा लिएर विभिन्न जातका घाँस उत्पादन गरिरहेका छन् । उनले अहिलेसम्म दुई लाख रुपैयाँको घाँस बिक्री गरिसकेका छन् ।
कैलालीमा पछिल्लो समय व्यावसायिक पशुपालन व्यावसाय फस्टाउँदै गएको जिल्ला पशु सेवा कार्यालय, कैलालीले जनाएको छ । कार्यालयका अनुसार पाँचभन्दा बढी पशुपालन गर्नेलाई फार्मका रूपमा मान्यता दिइएको छ । जिल्लामा अहिले एक सय बढी पशुपालन फार्म पशुसेवा कार्यालयमा दर्ता भइसेको सो कार्यालयका पशु प्राविधिक पुष्प भारतीले बताए ।
प्राविधिक भारतीका अनुसार आर्थिक वर्ष २०७३/७४ मा युवा स्वरोजगार विशेष पशु उत्पादन कार्यक्रम अन्तर्गत जिल्लाका आठ वटा गाई भैसी फार्मलाई एक लाखदेखि एक लाख ६० हजार रुपैयाँ तथा छ वटा बाख्रा फार्मलाई प्रतिफार्म एक लाख रुपैयाँका दरले अनुदान प्रदान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार