२ जेष्ठ २०८१, बुधबार

गाउँमै गाडी पुग्यो, तरकारी उत्पादक दंग



निगाली (चुरे) । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३, बसरकी व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएकी माया सुनार अहिले दंग छिन् । गाउँमा गाडी चल्न थालेपछि आफ्नो उत्पादन तरकारीले राम्रो बजार पाउन थालेकोले उनी मख्ख भएकी छिन् । भन्छिन्– ‘दुई महिना अघिसम्म परिवारका लागि मात्रै तरकारी उत्पादन गर्दथे, पाँच हप्ताजति भयो, तरकारी बिक्रीका लागि बजार पु¥याउन थालेकी छु ।
उनीजस्तै बसरका किसानले सडक यातायातको अभावमा बारीमा उत्पादित तरकारी आफूले उपभोग गरेर बाँकी रहेको त्यत्तिकै सडाउनुपर्ने बाध्यता थियो । तर, अहिले उनीहरूको अवस्था फेरिएको छ । दुई महिनाअघि बसरगाउँमा यातायात चल्न थालेको छ ।
‘पहिले सडक यातायात नहुँदा हामीले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन नसकेर बारीमै खेर जान्थ्यो’ बसरकी भीमा बोहराले भनिन्– ‘गाउँसम्म सडक यातायात सुविधा भएपछि आजभोली हप्तामा तीन दिन हामीले उत्पादन गरेको तरकारी लिन घरसम्मै गाडी आउँने गरेको छ । बसरको तरकारी अहिले धनगढी, अत्तरिया, महेन्द्रनगर लगायतका बजारमा निर्यात हुने गरेको छ ।’
बसरगाउँमा किसानहरूले व्यावसायिक रूपमा आलु, प्याज, टमाटर, बन्दागोपी, फूलगोपी, हरियो साग, खुर्सानी, काक्रो, सिमी, बोडी, भण्टा लगायतका तरकारीहरू उत्पादन गरिरहेका छन् । अहिले बसरका किसानले एक पटकमा ३० किलोदेखि एक क्विन्टलसम्म तरकारी बिक्री गर्ने गरेका छन् । बसरको तरकारी किन्न धनगढी, अत्तरिया, महेन्द्रनगरबाट हप्ताको तीन दिन गाडी आउने गरेको छ ।
बसरका अर्का व्यावसायिक तरकारी उत्पादक भोजराज छेडालले तरकारी किन्नका लागि घरआँगनमै गाडी आउन थालेपछि करिब एकसय परिवार तरकारी खेतीमा व्यस्त रहेको बताए । ‘अहिले यहाँको आर्थिक गतिविधि बढेको छ’ उनी थप्छन् ।
जिल्ला कृषि विकास कार्यालय, कैलालीले चुरे गाउँपालिकालाई व्यावसायिक तरकारी खेतीको सम्भावना रहेको ठहर गरी प्राथमिकतामा राखेको जनाएको छ । कैलालीमा भारत तथा अन्य ठाउँबाट वार्षिक मागको ५० प्रतिशत बढी तरकारी आयात हुने गरेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कृषि विकास कार्यालय, कैलालीका प्रमुख युवराज पाण्डेले भारतबाट तरकारी आयातलाई कम गर्दै जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्यसहित चुरे गाउ“पालिका लगायत अन्य क्षेत्रमा तरकारी खेतीको विकास र विस्तारका लागि विशेष पहल चालिएको बताए ।
धनगढीबाट ६० किलोमिटर टाढा रहेको बसरमा अहिले धुले सडक रहेको छ । बरिष्ठ कृषि विकास अधिकृत पाण्डेले बसरसम्मको सडक कालोपत्रे भएमा तरकारी उत्पादनमा अझै बृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार