२३ बैशाख २०८१, आईतवार

‘भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने छु’



कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा (एमाले)का तर्फबाट अध्यक्ष पदका उम्मेदवार कर्ण कुँवरसगं सहकर्मी लीलाराज शाहीले गरेको कुराकानीको सारसंक्षेप :

कर्ण कुँवर

चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मतदाताहरू निकै उत्साहित छन् । चुनावी प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा पुग्दा एमालेप्रति उत्साह पाएका छौं । हामीलाई गाविसका पूर्व पदाधिकारीहरूको पनि साथ छ । बौनिया बजारमा रहेर थुप्रै विकासका काम गरेकोले एक पटक मलाई अवसर दिनुपर्छ भन्ने मैले व्यक्तिगत रूपमा मतदाताको भावना रहेको पाएको छु । मैले यो ठाउँमा रहेर जनताका लागि गरेको कामको उहाँहरूले सम्झिराख्नु भएको छ । १० वर्षअघि हामीले चिसापानीदेखि चौमालासम्म आन्दोलन गरेर विद्युत सेवा पुर्‍याएका हौं । त्यस्तै, सडकपुर बौनियादेखि तल्लापानीसम्म १७ किलोमिटर सडक निर्माण गरेर बस सेवा सञ्चालन गरेको पनि जनताले सम्झिनु भएको पाए । त्यस्तै, बौनियामा एम्बुलेन्स सेवा पनि मेरै पहलमा शुरु भएको हो । मैले जनतामाझ बर्दगोरियालाई भ्रष्टाचारमुक्त, समृद्ध गाउँपालिका बनाउने प्रण गरेको छु । मलाई जनताले विश्वास गर्नु भएको छ भन्ने अनुभव गरेको छु ।

– गाउँपालिकाको विकासका लागि तपाईंका प्रतिवद्धताहरू के के छन् ?
सेति लोकमार्गको निर्माण कार्य मेरो पहिलो प्राथमिकता हुने छ । यो गाउँपालिकालाई नगरपालिका बनाउने, छ वटै वडालाई समेट्ने गरी रिङरोड निर्माण, व्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सम्मुनत गाउँनगर मेरा प्रतिवद्धता हुन् । त्यसैगरी, दलित, जनजाति, पिछडा वर्ग, एकल महिला, अपाङ्ता भएका व्यक्ति र जेष्ठ नागरिकको हकहितमा ध्यान दिइने छ । यो गाउँपालिकामा मझौला तथा ठूला उद्योग सञ्चालन गरी युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने, स्वच्छ खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन सुरक्षित बर्दगोरिया गाउँपालिका निर्माणका लागि मेरो पहल हुने छ ।

– पर्यटन क्षेत्रको विकासका लागि पनि केही योजना छन् कि ?
यो गाउँपालिकामा रहेको धार्मिक एव पर्यटकीय दृष्टिकोणले महत्त्व बोकेको बर्दगोरिया मन्दिरको संरक्षण तथा सम्वद्र्धन गरेर धार्मिक पर्यटन विकासका लागि योजनावद्ध ढंगले काम गरिने छ । गाउँपालिकाको वडा नम्बर २ मा रहेको पिरुवाताललाई वनभोजस्थलका रूपमा विकास गर्नेछु । त्यस्तै, वडा नम्बर ४ मा रहेको पुरैना तालको विकास गरे पर्यटनस्थलका रूपमा प्रर्वद्धन गर्नेछु ।
– यो गाउँपालिकामा बसोबास गर्ने थारू समुदायलाई कसरी समेट्नु हुन्छ ?
बर्दगोरिया गाउँपालिमा थारू समुदायको संस्कृतिको विकासाका लागि सांस्कृतिक संग्रहालयको निर्माण गरिने छ । थारू समुदायले मलाई हौसला दिइराख्नु भएको छ ।

– यो गाउँपालिकामा रहेको बाढी लगायतका समस्याबारे के भन्नुहुन्छ ?
बाढीको समस्या कम गर्न नदी तटबन्ध र पुल निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइने छ । वडा नम्बर १ बाट बग्ने काँडा र कुईरा नदीका कारण हुने कटान र डुबानको समस्या नियन्त्रण गरिने छ । जथाभावी नदिनाला मिच्ने कार्य कडाईका साथ नियन्त्रण गर्नुका साथै व्यवस्थित ढल निकास, वृक्षारोपण लगायतका कार्यमार्फत कटान र डुबानको समस्या नियन्त्रण गर्नेछु ।

– अन्त्यमा मतदातालाई के भन्न चाहानु हुन्छ ?
म सम्पूण बर्दगोरियाबासीमा समृद्ध र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउन हामीलाई अमूल्य मत दिएर विजयी गराउन हार्दिक अनुरोध गर्दछ । मैले घरदैलोका क्रममा नै गाउँपालिका अध्यक्षलाई दिइने कुनै पनि सुविधा नलिने घोषणा गरिसकेको छु । यो गाउँपालिकालाई प्रदेश नम्बर ७ कै नमुना बनाउने मसंग स्पष्ट दृष्टिकोण रहेको यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार