२३ बैशाख २०८१, आईतवार

जनताले माओवादी केन्द्रलाई विश्वास गरेका छन्– लक्ष्मण चौधरी



नेकपा माओवादी केन्द्रका तर्फबाट कैलालीको घोडाघोडी नगरपालिका प्रमुखमा लक्ष्मण चौधरी उम्मेदवार रहेका छन् । चुनावी प्रचारप्रसारमा व्यस्त रहेका माओवादी केन्द्रका उम्मेदवार चौधरीसंग सहकर्मी प्रकाश मिश्रले गरेको कुराकानीको सारसंक्षेप :

लक्ष्मण चौधरी

– चुनावी प्रचारप्रसारमा जुट्नु भएको छ, कस्तो अनुभव गर्नुभएको छ ?
राम्रै छ । नगरपालिकाका सबै क्षेत्र, वर्ग, समुदायबाट राम्रै प्रतिक्रिया पाएका छौं ।

– कस्तो नगरको परिकल्पना गर्नु भएको छ त ?
एउटा समृद्ध नगरको परिकल्पना गरेको छु । जहाँ युवा, किशोर, वृद्ध, महिला, अपाङ्गता भएका मानिसले आफ्नो नगर हो भन्ने कुराको अनुभूति गर्ने खालको समृद्ध नगरको परिकल्पनामा छु ।

– कसरी सम्भव छ त त्यस्तो नगर ?
किन सम्भव छैन ? यहाँबाट हजारौं युवा रोजगारीको लागि विदेशिन्छन् । हामी तिनै युवाहरूलाई लक्षित गरेर कार्यक्रम ल्याउनेछौं । युवाहरूलाई स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्नेछौं । त्यसका साथै महिला, अपाङ्गता भएका व्यक्तिहरूका लागि सीपमूलक कार्यक्रम ल्याएर आर्थिक क्रान्ति गर्छौ । स्थानीय स्रोतसाधनको प्रयोग गरेर समृद्ध नगर बनाउँछौं ।

– तपाई र तपाईको पार्टीलाई जनताले किन विश्वास गर्ने ?
माओवादी केन्द्र लामो त्याग तपस्या र बलिदानबाट सिञ्चित पार्टी हो । देशमा आमुल राजनीतिक परिवर्तन, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । पिछडिएका वर्गलाई अधिकारका बारेमा जागरुक गराएर अधिकारको लडाई लड्ने पार्टी पनि माओवादी केन्द्र नै हो । जनताले माओवादीलाई विश्वास गर्छन् ।

– आम मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ त ?
मतदाताहरू साच्चै नै उत्साहित छन् । चुनावी प्रचारप्रसारका क्रममा हामी जनताको घरदैलोमा पुग्दा ‘जनताको अधिकारका लागि लड्ने पार्टी माओवादी नै हो’ भन्ने जनताको धारणा पाएका छौं ।

– घोडाघोडी नगरपालिका बाढी प्रभावित क्षेत्र पनि हो । यो समस्यालाई कसरी समाधान गर्नुहुन्छ त ?
हो, घोडाघोडी नगरपालिकामा बाढीले थुप्रै समस्या सिर्जना गर्ने गरेको छ । सामान्य वर्षा हुँदा पनि ठूलै बाढी आउने गरेको छ । त्यस्तोवेला गाउँमा कोही बिरामी पर्दा पनि अस्पताल पुर्‍याउन पनि निकै कठिन हुने गरेको छ । हामी हरेक वडा जोड्ने पुल बनाउने छौं । वाढी नियन्त्रणका लागि ठोस योजना बनाएर लागू गर्ने छौं । त्यस्तै, सुकुम्वासीहरूको बसोबासका लागि पनि दीर्घकालीन योजना बनाउने छौं । ।

– यी सबै काम तपाईंहरूले पुरा गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ? कि चुनावका बेला मात्रै बोल्ने हो ?
होइन । यो चुनावका वेला मात्र बोलको होइनौं । अघिपछि पनि यी कुरा गर्ने गरेका छौं । हामी नगरपालिकामा निर्वाचित भयौं भने काम गर्न सजिलो हुन्छ मात्रै भनेका हौं । फेरि जनताले हामीलाई विश्वास नगर्ने विकल्प पनि छैन । किनकि माओवादी केन्द्रमात्र जनताका लागि सोच्ने पार्टी हो ।

– पर्यटनका क्षेत्रमा चाही के कस्ता योजना छन् त ?
यो नगरपालिकामा पर्यटनका धेरै सम्भावना छन् । घोडाघोडी क्षेत्रलाई धार्मिक तथा वातावरण पर्यटनस्थलका रूपमा विकास गरिने छ । त्यस्तै, यहाँ रहेका चिडिया ताल, बुलवुले क्षेत्र लगायत दुई दर्जन बढी ताल तलैयालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने छ ।

– माओवादीमाथि जनतालाई विभिन्न बहानामा एकापसमा लडाउने गरेको आरोप छ नि ?
एकदम जुठो आरोप हो । हामीले कसैलाई लडाउने काम गरेनौं, बरु जनताका अधिकारका पक्षमा काम गर्‍यौं । हामी दाबी गर्छौ– हामीले जनताको वर्गीय हित तथा अधिकारका लागि संघर्ष गरेका हौं ।

– अन्त्यमा घोडाघोडी नगरपालिकाका मतदातालाई के अपिल गर्न चाहनुहुन्छ ?
म सम्पूर्ण मतदातालाई आफ्नो अमूल्य मत हामीलाई दिएर समृद्ध नगरपालिका बनाउने हाम्रो लक्ष्य पूरा गर्नका लागि हार्दिक अपिल गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार