३१ बैशाख २०८१, सोमबार

पूर्ण खोपयुक्त जिल्ला घोषणा : अझैं चुनौति



धनगढी । यही वर्ष (सन् २०१७) भित्र देशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने सरकारको लक्ष्य रहे पनि कैलालीमा चुनौतिपूर्ण रहेको छ । खासगरी जिल्लाका उपमहानगर तथा नगरपालिकाहरूलाई पूर्ण खोपयुक्त घोषणा गर्न चुनौती देखिएको सम्वद्ध निकायको भनाई रहेको छ ।
सरकारले बाल मृत्युदरमा कमी ल्याउन र सम्रग स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन देशभरी नै यो अभियान सञ्चालन गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका अनुसार अहिलेसम्म जिल्लाको एक गाउँपालिकामात्र पूर्ण खोपयुक्त घोषणा भएको छ । त्यस्तै, केही गाउँपालिका तथा नगरपालिकाका केही वडा (साविक गाविस) लाई पनि पूर्ण खोपयुक्त घोषणा गरिएको छ । तर, नयाँ संररचनाको एक उपमहानगरपालिका, पाँच गाउँपालिका र सात नगरपालिका पूर्ण खोपयुक्त घोषणा हुन बाँकी छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीले साविकका गाविस तथा नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा अभियानलाई तीब्र बनाएको जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार साविक ४२ गाविस र दुई नगरपालिकामध्ये बुधबारसम्म साविक १९ वटा गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । कार्यालयले यही असार मसान्तभित्र जिल्लाका सबै साविक गाविस र असोजभित्र साविक नगरपालिकाहरूलाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्यसहित काम अघि बढाइएको जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका बरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले जानकारी दिए ।
‘हामीले बुधबारसम्म साविक १९ वटा गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिसकेका छौं’ उनले भने– ‘आज (बिहीबार) साडेपानी, भोली (शुक्रबार) बेलादेवीपुर र १४ गते दरख गाविसलाई पूर्ण खोप घोषणा गर्दैछौं ।’
कुनै पनि गाविस/नगरपालिकामा एक वर्ष मुनिका लक्षित बालबालिकालाई ११ वटा रोगविरुद्धको खोप प्रदान गरिएको पाइएमा सो गाविस/नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिन्छ ।
जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०११ अनुसार नेपालमा ८७ प्रतिशत बालबालिकाले पुर्ण खोप प्राप्त गरेका छन् भने आंशिक १० प्रतिशत र पुर्ण तीन प्रतिशत गरि १३ प्रतिशतले खोपबाट बञ्चित रहेको देखाइएको छ ।

 

साविक रतनपुर गाविस पूर्ण खोपयुक्त घोषणा


कैलालीको कैलारी गाउँपालिकाका वडा नम्बर ७ (साविक रतनपुर गाविस) लाई बुधबार पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।
साविक रतनपुरमा एक वर्षको अवधिमा एक सय १८ जना नवजात शिशुले ११ प्रकारका सबै खोप प्राप्त गरेपछि गाविसलाई पूर्ण खोप घोषणा गरिएको हो ।
साविक रतनपुर गाविसको कार्यालयको सहयोगमा स्थानीय पूर्ण खोप समन्वय समितिले आयोजना गरेको समारोहमा कैलाली वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै गाविसलाई पूर्ण खोप घोषणा गरे ।
सो अवसरमा वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले पूर्ण खोप घोषणा गर्न समस्या नभएको तर, दिगो राख्न चुनौती रहेको बताए । उनले पूर्ण खोप घोषणाले स्वास्थ्यकर्मी, आमा समुह, स्थानीयलाई थप जिम्मेवार बनाएको चर्चा गरे ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले खोपले बालबालिकामा रोगको संक्रमण हुन नदिने र यसले बाल मृत्युदरमा पनि कमी ल्याउन सहयोग गर्ने बताए । उनले खोपबाट वञ्चित भएका बालबालिकाहरूले अपाङ्ग हुुनुपर्ने, मानसिक समस्या झेल्नुपर्ने, कुपोषणा लगायतका रोगबाट संक्रमित हुनुपर्ने भएकाले बालबालिकालाई रोग लाग्न नदिन र सानै उमेरमा मृत्यु हुन नदिन बालबालिकालाई खोप लगाउनुपर्ने चर्चा गरे ।
कार्यक्रममा कैलारी गाउँपालिकाका कार्यकारी अधिकृत चित्राकुमारी कठायतले नेपाल सरकारको प्राथमिकता कार्यक्रम पूर्ण खोप घोषणा अभियानलाई सफल बनाउन आमा समुह, महिला स्वयमसेविकाको मुख्या भुमिका रहेको र उनीहरू धन्यवादका पात्र समेत रहेको चर्चा गरिन् ।
उनले बुधबार साविक रतनपुर गाविसलाई पूर्ण खोप घोषणा गरेसंगै कैलारी गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप गाउँपालिकाका बन्न सफल भएको बताईन् ।
कार्यक्रममा कोल्ड चेन निरिक्षक कृष्णप्रसाद श्रेष्ठ, पवेरा स्वास्थ्य चौकीका ईञ्चार्ज भुपेन्द्र महरा, स्वयमसेविका रेजीना चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वडा सचिव सन्तोष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रतनपुर स्वास्थ्य चौकीका अहेव नाथुराम चौधरीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कृष्ण चौधरीले गरेका थिए ।
कार्यक्रममा आमा समुह, महिला स्वयमसेविका, भलमन्सा, वडा नागरिक मञ्चका संयोजक लगायतलाई पूर्ण खोप घोषणा गर्ने कार्यक्रममा योग्दान पुऱ्याएको भन्दै सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार