२१ भाद्र २०८१, शुक्रबार

दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा शुरु हुँदै



धनगढी । दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी आजदेखि मतदाता शिक्षा कार्यक्रम पुन: सञ्चालन भएको छ । प्रदेश नम्बर ७ नम्बरसहित चार वटा प्रदेशमा आगामी ३१ गते निर्वाचन मिति तय भएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले मतदाता शिक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रत्येक मतदान केन्द्रमा एक जना स्वयंसेवक परिचालन गरिएको जानकारी दिएको छ ।
क्षेत्रीय निर्वाचन अधिकृत मोहनप्रसाद अर्यालले मतदाता शिक्षा कार्यक्रमका लागि कैलालीमा चार सय ९० स्वयंसेवक परिचालन गरिएको बताए । उनीहरूले आफूलाई खटाइएको मतदान केन्द्रका प्रत्येक घरमा गएर मतदातालाई मतदान कसरी गर्ने, कति जना उम्मेदवारलाई मत दिने, मतदानको सही तरिका लगायतका विषयमा जानकारी दिने छन् ।
यसअघि देशभरी बैशाख ३१ गते स्थानीय तह निर्वाचन हुने तय भएकोमा सरकारले प्रदेश नम्बर १,२, ५ र ७ मा जेठ ३१ गते निर्वाचन गर्ने निर्णय गरेको थियो ।
चुनावको मिति सरेपछि निर्वाचन कार्यालयले बैशाख १२ गतेदेखि मतदाता शिक्षा कार्यक्रम स्थगित गरेको थियो ।
क्षेत्रीय निर्वाचन अधिकृत अर्यालले पुन: आज (शुक्रबार) देखि मतदान केन्द्रमा खटिने अधिकृतहरूलाई तालिम र मतदाता शिक्षा कार्यक्रमलाई पुन: निरन्तरता दिइएको बताए ।
उनले मतदाता शिक्षा कार्यक्रममा राजनीतिक दल, संघ/संस्थाका पदाधिकारीलाई सहयोग गर्न आह्वान गरेका छन् । ‘मतदाता शिक्षालाई प्रभावकारी बनाउन राजनीतिक दलका उम्मेदवारहरूले सहयोग गर्न जरुरी छ’ उनले भने– राजनीतिक दलका उम्मेदवारहरूले भोट माग्न जाँदा मतदातालाई सही तरिकाले भोट हाल्नेबारे पनि सिकाउन आग्रह गरेका छौं ।
निर्वाचन अधिकृत अर्यालले यो निर्वाचनको मतपत्र धेरै ठुलो भएको र चुनाव चिन्ह पनि धेरै भएकाले बढी बदर मत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई सही ढंगले मतदान गर्न जानकारी दिनुपर्ने बताए ।
क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेम भट्टले प्रदेश नम्वर ७ का सबै जिल्लामा मतपत्र तथा निर्वाचनका लागि आवश्यक सामग्री पुुर्‍याइसकेको बताए । सूचना अधिकारी भट्टले कैलालीका लागि आवश्यक चार लाख ६५ हजार प्रति मतपत्र आइसकेको बताए । उनले जेठ २७ गतेपछि मतदान केन्द्रहरूमा मतदाता परिचयपत्र वितरण गरिने बताए ।
कैलालीमा चार लाख तीन हजार दुई सय ८० मतदाता रहेका छन् । त्यसमध्ये कैलारी गाउँपालिकामा पुरुष १४ हजार नौ सय नौ, महिला १५ हजार ८५ र तेस्रोलिंगी दुई जना मतदाता रहेका छन् ।
त्यस्तै, गोदावरी नगरपालिकामा पुुरुष २० हजार चार र महिला २१ हजार आठ सय २५ जना तथा गौरीगंगा नगरपालिकामा १३ हजार सात सय दुई पुरुष र १४ हजार सात सय ७७ जना महिला मतदाता रहेका छन् ।
त्यस्तै, धनगढी उपमहानगरपालिकामा ३७ हजार आठ सय ६६ पुरुष, ३८ हजार पाँच सय ६१ महिला र तीन जना तेस्रोलिंगी मतदाता रहेका छन् ।
घोडाघाडी नगरपालिकामा १९ हजार तीन सय आठ पुरुष र २० हजार तीन सय ७३ जना महिला मतदाता रहेका छन् भने चुरे गाउँपालिकामा पाँच हजार ५० र चार हजार छ सय ९३ महिला मतदाता रहेका छन् ।
त्यस्तै, जानकी गाउँपालिकामा १३ हजार चार सय नौ पुरुष र १४ हजार ४९ महिला, जोशीपुर गाउँपालिकामा नौ हजार छ सय ८९ पुरुष र नौ हजार छ सय ७६ महिला मतदाता रहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार टीकापुर नगरपालिकामा १८ हजार नौ सय २६ पुरुष र २० हजार दुई सय ६६ महिला, बर्दगोरिया गाउँपालिकामा सात हजार पाँच सय १३ पुरुष र आठ हजार एक सय ८७ महिला तथा भजनी नगरपालिकामा १३ हजार नौ सय २६ पुरुष, १३ हजार २५ महिला तथा एक जना तेस्रोलिंगी मतदाता रहेका छन् ।
त्यस्तै, मोहन्याल गाउँपालिकामा चार हजार सात सय ३० पुरुष र चार हजार चार सय ८७ महिला, लम्कीचुहा नगरपालिकामा १८ हजार आठ सय ५५ पुरुष तथा २० हजार तीन सय ७९ महिला र एक जना तेस्रोलिंगी मतदाता रहेका छन् ।
जिल्लामा एक लाख ९७ हजार आठ सय ८७ पुरुष मतदाता रहेका छन् भने महिला मतदाताको संख्या दुई लाख ५३ हजार ८६ र सात जना तेस्रोलिंगी मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
यस पटकको स्थानीय तह निर्वाचनका लागि कैलालीमा दुई सय ३० वटा मतदान स्थल र चार सय ९० वटा मतदान केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार