२३ बैशाख २०८१, आईतवार

अञ्चल अस्पतालमा फार्मेसी सञ्चालनमा



धनगढी । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा बुधबारदेखि फार्मेसी सञ्चालनमा आएको छ ।
फार्मेसीको बुधबार एक संक्षिप्त समारोहबीच जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईंले उद्घाटन गरे ।
अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अशोक श्रीपाइलीका अनुसार सो फार्मेसी ४६ लाख रुपैयाँको लागतमा शुरु गरिएको छ । मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीपाइलीले फार्मेसी सञ्चालनका लागि सरकारले १५ लाख रुपैयाँ अनुदान, सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको १० लाख र अस्पताल विकास समितिबाट २१ लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए ।
फार्मेसी उद्घाटन कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रकाशक चापागाईंले फार्मेसी सञ्चालनपछि बिरामीहरूले सुलभ मूल्यमा गुणस्तरीय औषधी पाउने विश्वास व्यक्त गरे । ‘सरकारी अस्पतालले फार्मेसी सञ्चालन नगरेका कारण बिरामीले बाहिरी औषधी पसलबाट औषधी कम्पनीको नाम तथा मूल्य समेत नसोधी खरिद गर्नुपर्ने बाध्यता छ’ उनले भने– ‘अञ्चल अस्पतालमा फार्मेसी सञ्चालन भएसंगै औषधिको वास्तविक मूल्यमा खरिद गर्न पाउने सुविधा प्राप्त हुने छ ।
कार्यक्रममा वरिष्ठ चिकित्सक डाक्टर गणेशबहादुर सिंहले फार्मेसीमा बिरामीलाई अत्यावश्यक तथा इमर्जेन्सी औषधीहरू सहज रूपमा उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिए ।
मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीपाइलीले फार्मेसी सञ्चालनपछि बिरामीले बजार मूल्यभन्दा सुलभ मूल्यमा सस्तोमा गुणस्तरीय औषधी खरिद पाउने बताए । उनले फार्मेसीमा उपलब्ध नभएका औषधिहरू बिस्तारै थप गर्दै जाने बताए । उनका अनुसार अहिले फार्मेसीमा सात सय प्रकारका औषधी उपलब्ध रहेको बताए ।
स्वास्थ्य मन्त्रालयले केही वर्षअघि नै सरकारी अस्पतालहरू आफैंले फार्मेसी सञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो । तर, अधिकांस अस्पतालले विभिन्न कारण देखाउँदै फार्मेसी सञ्चालनमा ल्याएका थिएनन् । स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा सरकारी अस्पतालहरूले अनिवार्य रूपमा आफैँले फार्मेसी सञ्चालन गर्न छुट्टै बजेट विनियोजन गरेको थियो ।
यसअघि, सर्वोच्च अदालतले पनि सरकारी अस्पतालले अस्पताल परिसरमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन आदेश दिइसकेको छ ।
सरकारी अस्पताल परिसर तथा अस्पतालको भवनमा निजी फार्मेसी सञ्चालन हुँदा सेवाग्राही जतिसुकै मूल्यमा पनि औषधी किन्न बाध्य रहदै आएका छन् । प्राय: सरकारी अस्पताल वा स्वास्थ्य संस्थाका भवन वा परिसरमा निजी फार्मेसी खोल्न ठूलो कमिशनको खेल हुने गरेको चर्चा चल्दै आएको छ ।
सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधि उपकरणमा दिने मूल्यभन्दा २० देखि ४० प्रतिशत कममा बिरामीले औषधी पाउने बताइएको छ । स्वास्थ्य मन्त्रालयले केन्द्रीय अस्पतालमा ३० लाख, क्षेत्रीय अस्पताल २५, उपक्षेत्रीय अस्पतालमा २० र अञ्चल अस्पतालमा १५ लाख रुपैयाँ बीउ पुँजीका रूपमा विनियोजन गरी निकासा गरिसकेको जनाइएको छ ।
यसअघि, कैलालीको जोशीपुर र भजनी प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नै फार्मेसी सञ्चालन गरिसकेको छ । भने मालाखेती, टीकापुर अस्पताल र उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रले पनि छिट्टै फार्मेसी सञ्चालनमा ल्याउने बताइएको छ ।

 

डिजिटल क्यु सेवा शुरु
सेती अञ्चल अस्पतालले आकस्मिक सेवा (ओपिडि) कक्षमा ‘डिजिटल क्यु’ सेवा सञ्चालन गरेको छ ।
अस्पतालमा स्वास्थ्य चेकजाँच गराउन आउने बिरामीहरूको सुविधाका लागि बुधबारदेखि सो सेवा शुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
डिजिटल क्युमार्फत बिरामीले चेकजाँच गराउन आफ्नो पालो आएको थाह पाउने भएको लाइनमा उभिराख्नु पर्ने झन्झटबाट छुट्कारा मिल्ने अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अशोक श्रीपाइलीले बताए ।
सेती अञ्चल अस्पतालको ओपीडी कक्षमा दैनिक सरदर तीन सय बिरामी स्वास्थ्य चेकजाँचका लागि आउने गरेका छन् । मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीपाइलीले चेकजाँच गर्न आउने बिरामीलाई सुविधा दिनका लागि सो सेवा शुरु गरिएको बताए ।
उनले ओपीडी कक्षमा रहेका टुटेफुटेका बेन्चह पनि मर्मत गर्ने कार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार