१० श्रावण २०८१, बिहीबार

नेतृत्वमा रोजिए पाँच महिला



नवलपरासी । उम्मेदवार छनोटमा माहिलालाई बढी मात्रामा उपप्रमुखमा खुम्च्याइए पनि मतदाताले हालसम्म पाँच स्थानीय निकायमा महिलालाई चार स्थानीय तहको प्रमुख जिम्मेवारी सुम्पिएका छन् । नवलपरासी हुप्सेकोट त पहिलो यस्तो गाउँपालिका बनेको छ, जसको अध्यक्ष र उपाध्यक्ष दुवै महिला छन् । अध्यक्षमा कांग्रेसकी लक्ष्मी पाण्डे र उपाध्यक्षमा एमालेकी स्वतन्त्र कोपिला मल्लको विजयलाई मतदाताले उत्साहप्रद रूपमा लिएका छन् ।

(बाँयाबाट) लमजुङको दूधपोखरी गाउँपालिका अध्यक्षमा निर्वाचित कांग्रेसकी छुपीमाया गुरुङ । म्याग्दीको धौलागिरी गाउँपालिका अध्यक्षमा निर्वाचित एमालेकी थमसरा पुन । नवलपरासी हुप्सेकोट गाउँपालिका अध्यक्ष निर्वाचित लक्ष्मी पाण्डे । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्षमा निर्वाचित कांग्रेसकी गीता गुरुङ । र, जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा निर्वाचित कांग्रेसकी कान्तिका सेजुवाल ।

पाण्डे कांग्रेस महासमिति सदस्यसमेत हुन् । मल्ल अखिल नेपाल महिला संघ क्षेत्र नम्बर २ की सदस्य हुन् । ४७ वर्षीया लक्ष्मी १३ वर्षे स्थायी शिक्षक पदबाट राजीनामा दिएर गाउँपालिका चुनावको मैदानमा उत्रिएकी थिइन् । कांग्रेसले उपाध्यक्ष र एमालेले अध्यक्षमा स्थानीय युवालाई उम्मेदवार बनाएका थिए । मतदाताले मुख्य दुई पदमै महिला नेतृलाई विश्वास गरे ।
अध्यक्षमा निर्वाचित लक्ष्मीले देशकै समृद्ध गाउँपालिका बनाउन एक महिनाभित्रै दीर्घकालीन योजना सार्वजनिक गर्ने प्रतिबद्धता जनाइन् । ‘५ वर्षे कार्यकालमा गाउँपालिकालाई मुलुककै नमुना बनाउने प्रयासमा छु । शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि उत्पादनमा जोड दिएर हुप्सेकोटलाई समृद्ध गाउँपालिका बनाउनेछु,’ जितपछि उनले आफ्नो योजना सुनाइन्, ‘मगर समुदायको बाहुल्य रहेको गाउँपालिकामा महिला शिक्षालाई विशेष जोड दिनेछु ।’ अध्यक्ष पाण्डेले ४ हजार ५ सय ९२ र उनका प्रतिस्पर्धी एमालेका मेघबहादुरले ४ हजार ३ सय ५८ मत ल्याए । उपाध्यक्षमा एमालेकी मल्लले ४ हजार ४ सय ६८ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका ओमबहादुर थापाले ४ हजार ४ सय १३ मत पाए ।
त्यस्तै, चितवनको एक मात्र गाउँपालिकाको प्रमुखमा पनि महिला नै निर्वाचित भएकी छन् । इच्छाकामना गाउँपालिकाको नेतृत्व कांग्रेसकी ४३ वर्षीया गीता गुरुङले पाएकी हुन् । उनले एमाले उम्मेदवार नारायणप्रसाद अधिकारीलाई १ सय ९३ मतले पछि पारिन् । गुरुङले ३ हजार २ सय ५४ मत ल्याउँदा अधिकारीले ३ हजार ६१ मत मात्र प्राप्त गरे । पार्टीको महासमिति सदस्य रहेकी गुरुङ युवा उम्मेदवारका रूपमा परिचित छिन् । इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ घर भएकी उनी एकल महिला हुन् । कुल ७ वडा रहेको यो गाउँपालिकाको सुरुको मतगणनामा एमालेका अधिकारीले अग्रस्थान कायम गरेका थिए । अन्तिम समयमा ७ नम्बर वडाको मत गीताको विजयका लागि निर्णायक सावित भयो ।
उता म्याग्दी खिबाङकी खमसरा पुन एमालेका तर्फबाट धौलागिरि गाउँपालिका प्रमुखमा विजयी भएकी छन् । मुदीस्थित जनविकास माविको व्यवस्थापन समिति अध्यक्ष हुँदै उनले त्यहीं राहत दरबन्दीमा शिक्षण गरेकी थिइन् । उनले राजनीतिका लागि शिक्षण पेसा छाडेकी थिइन् । धौलागिरि गाउँपालिका प्रमुखमा उनले २ हजार ४ सय ६० मत ल्याएर जित हात पारिन् । उनको उम्मेदवारीलाई टक्कर दिन धौलागिरिमा कांग्रेस–माओवादी गठबन्धनले रिमप्रकाश थापालाई उम्मेदवार बनाएको थियो । थापाले २ हजार १ सय ६८ मत प्राप्त गरे । १३ वर्षको उमेरमा अनौपचारिक शिक्षाबाट कखरा सुरु गरेकी पुनले प्राइभेटबाट एसएलसी हुँदै उच्च शिक्षासम्मको अध्ययन गरेकी थिइन् । राजधानीको पद्मकन्या क्याम्पसबाट उनले स्नातक गरेकी थिइन् । ४३ वर्षीया थमसराले गाउँका विद्युत्, खानेपानी, सडक निर्माणलगायत दर्जनभन्दा बढी उपभोक्ता समितिको अध्यक्षको अनुभव लिइसकेकी छन् ।
त्यसैगरी लमजुङको दूधपोखरी गाउँपालिका प्रमुखमा कांग्रेसकी छुपीमाया गुरुङ विजयी भएकी छन् । उनले २ हजार ४ सय १३ मत मत ल्याइन् । उनले माओवादी केन्द्र ९एमाले–माओवादी केन्द्र गठबन्धन० की उम्मेदवार सतीमाया तामाङलाई ६ सय ५७ मतले हराइन् ।
उता जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल विजयी भएकी छन् । उनले २ हजार ७ सय ७७ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वीमा एमालेका शान्तिलाल महतले २ हजार ६६ मत ल्याएका थिए भने तेस्रो स्थानमा नेकपा माओवादीका अशोककुमार श्रेष्ठले २ हजार १५ मत प्राप्त गरे ।
६ नम्बर प्रदेशमा नगरपालिकाको उनी एक मात्र महिला प्रमुखकी उम्मेदवार थिइन् ।
शिक्षण पेसाबाट राजनीतिमा छिरेकी सेजुवाल पहिलो मेयरका रूपमा चन्दननाथ नगरपालिकामा आएकी हुन् । उनी विद्यार्थी जीवनबाटै राजनीतिमा लागे पनि दुई वर्षअघि कर्णाली उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट राजीनामा दिएर सक्रिय राजनीतिमा आएकी हुन् ।
प्रतिबद्धतामा बृहत् आवरणभित्र स्वायत्त कर्णाली स्थापनाका लागि चन्दननाथ नगरपालिकाले नेतृत्वदायी भूमिका खेल्ने, चन्दननाथलाई ६ नम्बर प्रदेशको वैकल्पिक राजधानी बनाउन नगरपालिकाले राज्यसँग पहलकदमी गर्ने, ५ वर्षे अल्पकालीन र २० वर्षे दीर्घकालीन योजना बनाएर चन्दननाथलाई स्मार्ट सिटी बनाउने, स्वदेश तथा विदेशका विभिन्न नगरपालिकासग भगिनी सम्बन्ध स्थापित गरी चन्दननाथको पहिचान विस्तार गर्ने लगायतका मुख्य एजेन्डाहरू राखेको मेयर सेजुवालले बताइन् । ‘भौतिक पूर्वाधार, पर्यटन, सामाजिक सुरक्षा, युवा, खेलकुद, कृषि, सञ्चार, शिक्षा, स्वास्थ्य, सुशासनका कुराहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु,’ उनले भनिन्, ‘सबै नगरवासीले मलाई भोट दिएर जिताउनुभएकोमा धन्यवाद, अब मैले भन्ने होइन गर्ने दिन आए ।’ चुनावअघिसम्म भनेका सबै काम गर्ने प्रयास गर्नेछु । त्यसमा सबै राजनीतिक दलले मलाई सहयोग गर्नुहुने छ भन्ने पूर्ण आशा लिएको छु ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार