३१ भाद्र २०८१, सोमबार

स्थानीय तह निर्वाचन : एमाले र कांग्रेस बीच तीब्र प्रतिस्पर्धा



काठमाडौं । आइतबार भएको स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाअनुसार सोमबार साँझसम्म नेकपा (एमाले)को अग्रता देखिएको छ ।
सोमबार राति ११ बजेसम्मको मतगणना परिणामअनुसार एमाले पाँच स्थानमा विजयी भएको भने ७९ स्थानमा अग्रता लिइरहेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसले तीन स्थानमा विजय प्राप्त गरेको छ भने ८२ स्थानमा अगाडि छ । माओवादी केन्द्रले तीन स्थानमा विजयी भएको भने ४० स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छ । अन्य दलहरू एक स्थानमा विजयी भएका छन् भने २६ स्थानमा अगाडि छन् ।
त्यस्तै, महानगरपालिकामा पनि एमाले अग्र स्थानमा रहेको छ ।
काठमाडौं महानगरपालिका स्थानीय तहको निर्वाचनमा मेयरको प्रारम्भिक परिणामअनुसार एमालेका विद्या सुन्दर शाक्य ६७, साझापार्टीका किशोर थापाले ५८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसमा हरिप्रभा जोशी खड्गी ७६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ ४५ मत पाएका छन् ।
त्यस्तै, ललितपुर महानगरपालिकाको मेयर एमालेका हरिकृष्ण व्यञ्जनकार १८९२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चिरीबाबु महर्जन १७७१ मत पाएका छन् । उपमेयरमा माओवादी केन्द्रका हसिना शाक्य २७२७ मत र कांग्रेसका गीता सत्याल १६४२ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा मेयर एमालेकै देवी ज्ञवाली २४६ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका रेणु दाहाल ११३ मत पाएकि छन् । उपमेयरमा एमालेकै दिव्य आचार्य २१५ मत र कांग्रेसका पार्वती शाहले १२६ मत पाएका छन् ।
पोखरा महानगरपालिकामा मेयरमा एमालेका मानबहादुर जिसी ६६० मत प्राप्त गरेका छन् भने नेपालीका कांग्रेसका रामजी कुँवर ४१८ मत पाएका छन् । उपमेयरमा एमालेकै मञ्जुदेवी गुरुङ ६४८ मत र कांग्रेसका सरस्वती गुरुङ ४२६ मत पाएका छन् ।
मनाङको नेस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार अध्यक्षमा कान्छा घले र उपाध्यक्षमा एमालकै मिङ्खु गुरुङ विजयी भए । घलेले ६२७ र उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद गुरुङले ४६१ मत पाए । २८८४ मतदाता रहेको गाउँपालिकामा ११८४ मत खसेको थियो ।
उता, मुस्ताङमा स्थानीय तह निर्वाचनको मतगणना अनुसार दालोमे गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका उम्मेदवार राजु विष्ट विजयी भएका छन् । विष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएका छन् । राजु विष्ट पनि कांग्रेसकै बागी उम्मेदवार हुन् । उपाध्यक्षमा एमालेकी ढोका गुरुङ ६ सय १ मत ल्याइ विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी कुचान छुटेन गुरुङले ३ सय २२ मत ल्याएकी सहायक निर्वाचन अधिकृत जनक रेग्मीले जानकारी दिए ।
त्यस्तै, मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । मतगणना अनुसार लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सुवर्णकुमार विष्ट विजयी भएका छन् । उनी ६ सय ३ मत प्राप्त गरि विजयी भएका हुन् । अध्यक्षमा विजयी विष्ट कांग्रेसका पूर्व जिल्ला सभापति पनि हुन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै पेमा डोल्मा विष्ट ६ सय ५२ मत ल्याई विजयी भइन् ।
त्यस्तै, गुठीचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । उपप्रमुखमा पनि माओवादी केन्द्रका जानदेवी ऐडि विजयी भएकी छन् ।
भण्डारीले एक हजार ५ सय ९६ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको गोठीचौर निर्वाचन अधिकृतको कार्यालय गुठीचौरले जनाएको छ । निकटतम् प्रतिद्वन्द्वी एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४ सय ६७ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगले आइतबार निर्वाचन भएको २८१ गाउँपालिका र नगरपालिकामध्ये २५० भन्दा बढी स्थानमा मतगणना सञ्चालनमा आएको जनाएको छ । केही स्थानमा मतपेटिका संकलनमा भएको ढिलाई, सर्वदलीय बैठकमा सहमतिको प्रयास भइरहेकाले मतगणनामा ढिलाई भएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राति अवेरसम्म अझबढी स्थानको मतगणना सञ्चालनमा आउने बताए । उनले हुम्लाको ६ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलनको काम भएको बताए ।

 

समाचार एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार