२० बैशाख २०८१, बिहीबार

‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुरु



धनगढी । ‘मेरो वर्ष : म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ अभियान कैलालीमा पनि शुरु गरिएको छ । हरेक नागरिकलाई स्वस्थ रहनका लागि व्यक्तिगत सचेतना जगाउन स्वास्थ्य मन्त्रालयले वैशाख १ गतेदेखि राष्ट्रिय अभियान शुरु गरेको थियो ।
कैलालीमा बिहीबार विभिन्न कार्यक्रमबीच अभियान शुरुवात गरियो । कैलालीका बरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले प्रतिवद्धता व्यक्त गरे– ‘म रक्सी, चुरोट र सूर्तीजन्य पदार्थ सेवन गर्दिन, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु ।’
सो अवसरमा सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर सुशील प्याकुरेलले जीवनशैलीमा आधारित रोगहरूको प्रकोप बढ्दै गएकाले अभियान सुरु गरिएको चर्चा गरे ।
‘समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि उपचार खर्चको भार, अपांगता र अकाल मृत्यु बढ्दै गएको छ’ क्षेत्रीय निर्देशक डाक्टर प्याकुरेलले भने– ‘जीवनशैलीको सामान्य परिवर्तनबाट आफैले पनि कतिपय नसर्ने रोग रोक्न र कम गर्न सकिन्छ ।’
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सर्वसाधारणले आफ्नो स्वास्थ्यमा ध्यान नदिने हो भने राज्यले मात्र जनताको स्वास्थ्य सुधारका लागि गरिने कार्यक्रम तथा प्रयास पूर्ण नहुने बताए । ‘अहिले सूर्तीजन्य पदार्थ, मदिरा, गुट्खा लगायत अखाद्य वस्तुको सेवन बढिरहेको छ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘यी अखाद्य बस्तुले मान्छेमा विभिन्न रोग निम्त्याइरहेको छ ।’ उनले यस्ता वस्तुको सेवनमा कमी ल्याउन सबैमा आग्रह गरे ।
कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले नेपालमा कूल मृत्युको ४४ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको बताए । ‘नेपालमा हरेक वर्ष ८ देखि १० हजार क्यान्सरका नयाँ बिरामी थपिँदै गएका छन्’ उनले भने– ‘एक तिहाई जनसंख्यामा उच्च रक्तचाप र १५ प्रतिशतमा मधुमेहको समस्या रहेको अध्ययनले देखाएका छन् ।’
बरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईंले यी रोग लाग्नुको प्रमुख कारणहरूमा अस्वस्थ जीवनशैली, अत्यधिक मदिरा सेवन, धूमपान तथा सूर्तीजन्य पदार्थको सेवन, व्यायामको कमी, अस्वस्थकर खानपान र वायु प्रदूषण रहेको बताए ।
उनले नेपालमा १८ दशमलव पाँच प्रतिशत जनसंख्याले धुम्रपान गर्ने, दक्षिण एसियामै सबैभन्दा बढी नेपाली महिला (१५ प्रतिशत) ले धुम्रपान गर्ने, १७ प्रतिशत जनसंख्याले मद्यपान गर्ने, १८ प्रतिशतमा मोटोपना र चार प्रतिशतमा अति मोटोपनाले शारीरिक मात्र नभई मानसिक समस्या पनि बढाइरहेको बताए ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालका ग्रामीण भेगका ७४ प्रतिशत घर परिवारमा अझै पनि दाउरा वा गुइठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर परिरहेको उल्लेख छ ।
यो अभियान अन्तर्गत सरोकारवाला निकायसँगको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमलाई स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउने, उच्च प्राथमिकतामा रहेका रोगहरूको पहिचान र रोकथामका लागि प्याकेज निर्माण गर्ने, स्वास्थ्यसम्बन्धी दिवसहरूमा दिवस केन्द्रित कार्यक्रम मार्फत नसर्ने रोगको जनचेतना विस्तार गर्ने, सरकारी र निजी स्वास्थ्य संस्थाहरूको सहकार्यमा उपचार र परीक्षणको प्याकेज उपलब्ध गराउने, विद्यालयहरूमा प्रारम्भिक परीक्षण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, आमसञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत जानकारीमूलक सामाग्री प्रवाह गर्ने, मोबाइल एप्स मार्फत स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराउने लगायतका योजना रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले बताए ।
कार्यक्रममा सहभागिहरूको स्वास्थ्य परीक्षण पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार