२१ बैशाख २०८१, शुक्रबार

सुरक्षित आप्रवासनबारे छलफल : पीडित भन्छन् : न्याय दिलाउन प्रहरी–प्रशासनको सक्रियता जरुरी



धनगढी । ‘मेरा श्रीमान् वैदेशिक रोजगारका क्रममा चार वर्षअघि मलेसिया जानुभयो । काम राम्रो थिएन । तलब पनि भने अनुसारको थिएन । अहिले उहाँ जेलमा पर्नुभएको छ’ धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी शान्ति बुमीको पीडा पोख्दापोख्दै गला अवरुद्ध भयो । उनी थचक्क कुर्सीमा बसिन् ।
बिहीबार धनगढीमा सुरक्षित आप्रवासनसम्बन्धी सरोकारवालाहरूबीच अन्तक्र्रियामा शान्ति पनि सहभागी थिइन् ।
सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा शान्तिले पुरा कुरा भन्न नसकेपछि सिर्जनशील समाजको सिर्जनाद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक दिपेन्द्र भण्डारीले उनको कथाव्यथा सुनाए– उहाँको श्रीमान्ले मलेसियामा काम गरेर पठाएको मध्ये चार लाख रुपैयाँ जोगाउनु भएको रहेछ । त्यसमा एक लाख रुपैयाँ ऋण मागेर ल्याएको रकमसहित जग्गा किन्ने निर्णय गर्नु भएको रहेछ । शान्तिका एकजना आफन्तले कैलालीको बौनियामा जग्गा देखाएका रहेछन् । सात लाख रुपैयाँमा पाँच कठ्ठा जग्गा खरिद गर्ने भनेर शान्तिले पाँच लाख रुपैयाँ पेस्की दिनु भएको रहेछ । तर, अहिले न त उहाँले जग्गा नै पाउनु भयो न रकम नै ।
श्रीमान मलेसियामा अलपत्र, यता घरमा खाइनखाई जोगाएको रकम पनि जग्गा किनदिने भनेर अरुले हजम गरिदिएपछि बौलाह झैं भएकी शान्तिले न्यायका लागि प्रहरी प्रशासन धाइन्, तर प्रहरीले उनको कुरै सुन्न चाहेन ।
आफ्ना पीडा पोख्दापोख्दा हैरान भएकी शान्तिले केही साहस गरेर भनिन्– गत चैत १० गते कैलाली जिल्ला प्रशासन कार्यालयमा उजुरी गरे, प्रशासनले जिल्ला प्रहरी कार्यालयमा पठायो । त्यहाँ पनि निवेदन लियो, तर केही गरिदिएन ।
वैदेशिक रोजगारको क्रममा लेनदेन लगायतका समस्यामा परेका परिवारहरू न्याय पाउन प्रशासन र प्रहरी कार्यालय धाउँदा धाउँदा हैसान भइसकेका छन् । तर, न्याय पाउनेको संख्या सून्य बराबर नै छ ।
बुमी जस्तै कैलालीको घोडाघोडी–१, सुख्खडका रामगोपाल चौधरीले पनि न्यायका लागि प्रहरी कार्यालयमा हारगुहार गरे पनि अहिलेसम्म निराश हुनु परेको छ । उनीसहित सात जनालाई बैदेशिक रोजगारमा पठाउने भनेर जनही तीन लाख ८५ हजार रुपैयाँका दरले रकम लिएको दलालले दुई महिना भारतका विभिन्न शहर र एक महिना काठमाडौंमा डुलायो, अन्त्यमा उनीहरू घर फर्किन बाध्य भए । नजिकको चिनेजानेको व्यक्तिको भर पर्दा उनीहरूको २५ लाख ४७ हजार रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ ।
रामगोपालले भने– सुख्खड इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि दलाल चन्द्रप्रकाश चैधरीलाई झिकाएर ब्याजसहित पैसा फिर्ता गराउन कागज गराइदियो, तर हामीले अझै पुरा पैसा पाएको छैनौ । इलाका प्रहरी कार्यालयमा कागज बनेपछि चन्द्रप्रकाशले उनीहरूलाई १० लाख रुपैयाँ दिएको थियो । ‘त्यो रकम ऋण तिर्नै ठिक्क भयो’ उनले भने– त्यसपछि रकम दिन आनाकानी गरेपछि फेरि जिल्ला प्रहरी कार्यालयमा एक महिनाभित्र रकम फिर्ता गर्ने कागज बनेकोमा गत चैत्र मै सोको म्याद समाप्त भइसकेको छ, तर हामीले रकम पाएका छैनौं ।
वैदेशिक रोजगारको क्रममा पीडित परिवारले न्याय नपाउनुमा प्रहरी र प्रशासन जिम्मेवार रहेको सरोकारवालाहरूले आरोप छ । कार्यक्रममा सहभागीहरुले न्यायका लागि पहल गर्ने प्रहरी र प्रशासन नै सक्रिय नभएपछि पीडितले झन् पीडा बेहोर्नु परिरहेको बताए ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका अध्यक्ष नारायण विकले थोरै सहयोगमा न्याय पाउन सक्ने पीडितहरू पनि निराश भएर बसिरहनु परेको बताए । उनले पीडितहरूको मनोवल बढाउनको लागि प्रहरी र प्रशासनले पीडित र पीडकबीच छलफलसम्म गराइदियो भने मात्रै पनि धेरै समस्या समाधान हुन सक्ने बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सुदूरपश्चिम क्षेत्रीय संयोजक खडकराज जोशीले प्रहरी र प्रशासनले कारबाही नगरेकाले वैदेशिक रोजगारका क्रममा हुने ठगी र पीडाका घटना बृद्धि भइरहेको बताए । उनले प्रहरी प्रशासनले ठोस रुपमा कारबाही गर्न थालेपछि मात्रै यस्ता समस्यामा कमी आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले कहालीलाग्दा कथा सुनाएर वा भनाएर मात्रै समस्या समाधान नहुने बताए । उनले धुर्त मानिसहरुको जमातलाई पीडितले विश्वास बढि गर्ने भएकाले समस्या बढिरहेको औल्याए ।
सुरक्षित आप्रवासन जिल्ला परियोजना समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले कार्यक्रममा आएका सुझावलाई सबै सरोकारवालाले आत्मसात गरे समस्या समाधानमा सहयोग पुग्ने बताए ।
उनले सुरक्षित आप्रवासन परियोजना सरकारको कार्यक्रम भएकोले हरेक सरकारी कार्यालयले आफ्नै कार्यक्रम सम्झेर सहयोग गर्न आग्रह गरे ।
सुरक्षित आप्रवासन परियोजनाका कैलाली जिल्ला संयोजक पञ्चराम चौधरीले प्रहरी र प्रशासनले बैदेशिक रोजगारको क्रममा ठगी भएका मुद्दाहरूमा हेर्नै नचाहने बताए । उनले पीडित र पीडकबीच लेनदेन भएको आधारमा छलफल चलाएर न्याय दिलाउन मद्दत गर्न आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक प्रेम खड्काले सरोकारवालाहरुले निवेदन दर्ता भएपछि घच्घच्याई राखे प्रहरीलाई काम गर्न सजिलो हुने बताए । उनले प्रहरीले पनि स्थानीयस्तरमा न्याय दिलाउनका लागि काम गर्न सक्ने बताए । जिल्ला प्रशासन कार्यालयका रामजी प्रसाद ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा उजुरी आएमा न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बैदेशिक रोजगारका क्रममा ठगीमा परेका व्यक्ति र तिनीहरुको परिवार सदस्य, सरकारी अधिकारीहरू, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन विद्यालय तथा आमसञ्चार कार्यक्रमका कार्यक्रम संयोजक एकीन्द्र तिमिल्सिना र कार्यक्रम संयोजक भण्डारीले परियोजना र गतिविधिबारे प्रस्तुती गरेका थिए । पीडित व्यक्तिहरुले आफ्ना गुनासाहरु सुनाएका थिए । जिल्ला परियोजना समन्वय समितिका सदस्यहरुले बुधबार गरेको अनुगमनको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार