२ जेष्ठ २०८१, बुधबार

गर्मी बढ्यो, बिरामी बढे, अस्पतालमा चाप



धनगढी । कैलालीमा केही दिनयता ह्वात्तै बढेको तामक्रमसँगै अस्पतालहरूमा बिरामीको घुँइचो लाग्न थालेको छ । धनगढीस्थित सेती अञ्चल अस्पताल तथा जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा पछिल्ला करिब दुई सातायता झाडापखाला, आउँ तथा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।
सेती अञ्चल अस्पतालका ईमर्जेन्सी वार्ड इञ्चार्ज कृष्ण बोहराले अहिले दैनिक सरदर डेढ सय जना बिरामी उपचारका लागि आउने गरेको बताए । इञ्चार्ज बोहराका अनुसार इमर्जेन्सी वार्डमा आउने अधिकांश बिरामी झाडापाखाला, आउँ र भाइरल ज्वरोबाट ग्रस्त हुने गरेका छन् । त्यस्तै, अहिले ओपिडिमा दैनिक सरदर तीन सय बढी बिरामी उपचारका लागि आइरहेको जनाइएको छ ।
‘अस्पतालमा अहिले बिरामीको सङ्ख्या एकाएक वृद्धि भएपछि बिरामीलाई भर्ना गर्न बेड अभाव भएको छ’ ईमर्जेन्सी इञ्चार्ज बोहराले भने– ‘अहिले अस्पतालमा दैनिक सरदरमा २० जना बिरामी भर्ना भइरहेका छन् भने ६ जना डिस्चार्ज भइरहेका छन् ।’ उनले ईमर्जेन्सी वार्डमा आएका बिरामीलाई भर्ना नगरेर फिर्ता पठाउनु पर्ने बाध्यता रहेको बताए ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू अस्पतालमा गर्मी वा जाडो याममा मौसमी बिरामीको सङ्ख्या बढ्ने बित्तिकै वेडको अभाव हुने गरेको बताउँछन् ।

फाइल तस्बिर

अस्पतालको गाइनो वार्डमा ५६, लेवर रूममा १३, प्याडिएट्रिक वार्डमा ३३, सर्जिकल वार्डमा ३९, मेडिकल वार्डमा ३६, ईमर्जेन्सी वार्डमा १३, आइसियुमा चार, डाईलोसिसमा तीन, मालन्यूट्ेरसनमा १० सहित दुई सय १५ वेड रहेको अस्पताल दर्पण पुस्तकमा उल्लेख छ ।
अस्पतालमा वेड सङ्ख्याभन्दा बढी बिरामी आउने भएकाले बिरामीहरूलाई उपचार गरेर घर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अशोक श्रीपाईलीले बताए ।
सेती अञ्चल अस्पताललाई २०६१ सालमा अस्पताल विकास समितिको आन्तरिक स्रोतबाट सञ्चालन हुने गरी स्वास्थ्य मन्त्रालयबाट एक सय २५ शैय्याको स्वीकृति प्राप्त गरेको थियो । अस्पतालमा ५० शैय्या सरकारको रहेको छ भने ७५ शैय्या अस्पताल विकास समितिको आफ्नै श्रोतबाट थपेको हो ।
अस्पताल व्यवस्थापन समितिले सरकारलाई अस्पतालको स्तरोन्नतीको माग गरे पनि हालसम्म सुनुवाइ नभएको मेसु डाक्टर श्रीपाइलीले बताए । कैलालीका रामजनम चौधरी स्वास्थ्य मन्त्री हुँदा आर्थिक वर्ष २०७३/०७४ स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे पनि सरकारले बजेट घोषणा गर्दा अस्पतालको स्तरोन्नतीमा ध्यान दिइएको थिएन् ।
मेसु डा. श्रीपाइलीले सेती अञ्चल अस्पतालमा कैलाली जिल्लाका मात्र नभई यस प्रदेश नम्बर ७ (सुदूरपश्चिमाञ्चल क्षेत्र) का नौ वटै जिल्लाका बिरामीहरू सेवा लिन आउने भएकाले अस्पतालको स्तरोन्नती हुन जरुरी रहेको बताए ।

 

गर्मीमा खानपिनमा ध्यान दिन सुझाव
कैलाली लगायत पश्चिम तराईमा बढेको अत्याधिक गर्मीका कारण आउँ, झाडापखाला, भाइरल ज्वरोका बिरामीहरूको सङ्ख्या बढेको छ ।
निजी तथा सरकारी अस्पतालहरूमा केही दिनयता यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । बिरामीहरूमा सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखापर्ने गरेको डाक्टरहरूले बताएका छन् ।
अत्याधिक गर्मीका कारण कैलाली जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेको उनीहरूले बताएका छन् । ‘अत्याधिक गर्मी र खानपिनमा उचित ध्यान नपुर्‍याउँदा भाइरल ज्वरोको बिरामी बढेको भए पनि प्रकोपका रूपमा देखिएको छैन । अहिलेसम्म अवस्था सामान्य नै छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले भने ।
गर्मी बढेपछि घरघरमा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ भने अस्पताल र क्लिनिकहरूमा समेत ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या बढेको छ ।
‘अहिले सिजनलरूपमा भाइरल ज्वरो देखिनु सामान्य हो । यो प्रकोपका रूपमा फैलिए हामी तत्काल खटिन्छौं । स्वास्थ्यकर्मीहरूलाई पनि तयारी अवस्थामा राखिएको छ,’ जनस्वास्थ्य प्रशासक चापागाईले भने ।
‘अहिले गर्मीका कारण बच्चाहरूमा ज्वरोको समस्या देखिएको छ । तर आतिनुपर्ने अवस्था छैन,’ सेती अञ्चल अस्पतालका मेसु डाक्टर श्रीपाईलीले भने ‘अहिले ज्वरोसँगै सामान्य झाडापखालाका बिरामीहरू पनि देखिएका छन् ।’

 

सेती अञ्चल अस्पताल : इतिहासदेखि वर्तमानसम्म
राणा शासनकालमा १९९७ सालमा १५ शैय्याको जिल्ला अस्पतालका रूपमा सञ्चालन भएको सेती अञ्चल अस्पताल अहिले एक सय २५ शैय्याको अस्पतालका रूपमा विकास भएको छ ।
२०३४ साल पुस १४ गते नेपाल–भारत संयुक्त सहयोगमा पुरानो भवन निर्माण भई २०३८ सालमा स्तरोन्नती पछि २५ शैय्याको अस्पताल भएको थियो ।
२०४० साल जेठ २६ गते ५० शैय्यासहित सेती अञ्चल अस्पतालका रूपमा सञ्चालन सुरु भएको थियो ।
सेती अञ्चल अस्पताललाई २०६१ सालमा अस्पताल विकास समितिको आफ्नै आयश्रोतबाट सञ्चालन हुने गरी मन्त्रालयबाट एक सय २५ शैय्याको स्वीकृति प्रदान गरिएको थियो ।
गाईनो वार्ड: ५६ वेड, ल्यावर रुम १३, प्याईडिएट्रिक वार्ड ३३, सर्जिकल वार्ड ३९, मेडिकल वार्ड ३६, ईर्मेजेन्सी वार्ड १३, आईसियू चार, डाईलेसिस तीन, मालन्यूट्ेरसन वार्ड १० र जिईरिएट्रिक आठ गरी दुई सय १५ वेड रहेका छन् ।

 

जनशक्ति विवरण
नेपाल सरकारबाट स्थायी रूपमा ८२ र अस्थायी रूपमा १९ गरी एक सय एक जना कर्मचारी रहेका छन् ।
अस्पताल विकास समितिबाट स्थायी २९, अस्थायी ३६, दैनिकी ज्यालादारीमा २२ र अन्य परियोजनाबाट १५ गरी एक सय तीन कर्मचारी रहेका छन् ।
डाक्टर ३२, सरकारबाट स्थायी परामर्शदाता नौ र सरकारबाट सम्झौतामा तीन परार्मश गरी १२ जना चिकित्सक रहेका छन् ।
मेडिकल अफिसर परामर्शदातामा छ जना सरकारबाट स्थायी, तीन सम्झौतामा र तीन अस्पताल विकास समिति तीन गरी १२ जना नियुक्ति गरिएको छ ।
मेडिकल अफिसरमा सरकारबाट छ, अस्पताल विकास समितिबाट सम्झौतामा दुई गरी आठ जना रहेका छन् ।
अस्पतालमा तीन फिजिसियन, तीन सर्जन, छ गाईनियोकोलोजिस्ट, दुई अर्थोपेडिसियन, तीन प्यडिएट्रिसियन, दुई रेडियोलोजिष्ट, दुई एनिस्थीजियोलोजिस्ट, एक ईएनटि सर्जन, एक डेन्टल सर्जन र आठ मेडिकल अफिसर रहेका छन् ।
अस्पतालमा अझै १६ मेडिकल अफिसरको आवश्यकता रहेको छ । छ जना ओपिडि वार्डमा, चार आईसियु र डायलेसिस र चार एनआईसियुमा आवश्यक रहेको छ ।
परामर्शदातामा मानसिक, त्वचारोग, ईएनटी सर्जन, एमजिडिपीमा पुरा भइसकेको छ ।
अस्पतालमा अनमी र स्टाफ नर्स गरी ६३ जना नर्स रहेका छन् । जसअन्तर्गत सरकारबाट स्थायी रूपमा आठ, अस्पताल व्यवस्थापन समितिबाट सम्झौतामा छ र दैनिक ज्यालादारीमा ११ जना गरी २५ स्टाफ नर्स र सरकारबाट स्थायीमा १४, अस्पताल विकास समितिबाट स्थायीमा नौ, सम्झौतामा १३ र दैनिक ज्यालादारीमा दुई गरी ३८ अनमी नर्सहरू रहेका छन् ।
अस्पतालमा अझै ३० जना नर्सहरू आवश्यक रहेको छ । अहिले अस्पतालको मेडिसिन वार्डमा प्रति नर्सले ३५, सर्जरी वार्डमा २०, पेडियट्रिक वार्ड ३३, गाईने वार्ड २०, ल्याबर रूममा दुई, आईसियुमा दुई, डाईयलेसिसमा एक र एनआईसियुमा आठ बिरामी हेर्नुपर्ने बाध्यता छ ।

 

ल्यावमा जनशक्ति
अस्पतालमा ल्याव टेक्निसियन तीन र ल्याव असिस्टेन्ट पाँच जना रहेका छन् । अस्पतालमा दैनिक दुई सय ५० ल्याव परीक्षणका बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार