७ जेष्ठ २०८१, सोमबार

सुस्त गतिमा निर्माण हुँदै फाप्ला क्रिकेट मैदान



 धनगढी । ८५ यार्डको खेल मैदान चारैतिर तारबारले घेरिएको छ । आठ फिट अग्लो र आठ मिटर लामो पर्खाल बनाइएको छ । मैदानको बिचमा पिच गरिएको छ । यो धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित डिलासैनी विपन्न महिला सामुदायिक वनमा निर्माणाधीन फाप्ला क्रिकेट मैदान हो ।
सो खेल मैदान निर्माणको चर्चा २०७१ सालबाट सुरु भएको थियो । २०७१ सालमा लिग क्रिकेट सञ्चालनपछि त्यतिबेलासम्म चरिचरण क्षेत्रका रूपमा रहेको फाप्ला क्रिकेट मैदान चर्चामा आएको थियो । यसैबिच, सरकारले २०७२ जेठदेखि सो क्रिकेट खेल मैदान निर्माणमा हात हालेको थियो ।
सरकारले कैलाली जिल्ला खेलकुद विकास समितिमार्फत आर्थिक वर्ष २०७२/०७३ मा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सो मैदानको स्तरोन्नती कार्य अघि बढेको थियो । त्यस्तै, चालू आर्थिक वर्ष २०७३/०७४ मा विनियोजित २० लाख रुपैयाँबाट सो खेलमैदानको थप स्तरोन्नती गरिएको छ ।
फाप्ला क्रिकेट मैदानको स्तरोन्नती हुन थालेपछि स्थानीय युवाहरूमा क्रिकेटप्रतिको आकर्षण बढ्दै छ । स्थानीय मञ्जु ऐरले भनिन्– ‘पहिले यहाँ क्रिकेट मैदान नहुँदा प्राय: युवा क्रिकेट खेल्न नै मन गर्दैनथे, अहिले हरेक दिन सो मैदानमा खेलाडीहरूको भीड लाग्ने गरेको छ ।’
क्रिकेट खेल मैदान बन्नुअघि सो मैदान चरिचरणका रूपमा रहेको थियो । स्पार्क क्रिकेट प्रशिक्षण केन्द्रका सञ्चालक पदम केसी भन्छन्– ‘पहिले यहाँ गाईगोरु भरिएका हुन्थे, अहिले क्रिकेट खेलाडीको भीड लाग्ने गरेको छ ।’
तर, अझैं पनि सो क्रिकेट खेल मैदान पूर्ण रूपमा निर्माण भइसकेको छैन । खेलमैदान, पवेलियन, ड्रेसिङ रुम, प्रशासकीय भवन, जिम हल र प्राक्टिस हल सहितको सुविधासम्पन्न क्रिकेट खेल मैदान निर्माण गर्ने योजनासहित गत आर्थिक वर्षदेखि सो कार्य सुरु भएको थियो ।
सरकारले पञ्चवर्षीय योजनाअन्तर्गत २० करोड रुपैयाँको लगानीमा अन्तर्राष्ट्रिय स्तरको फाप्ला क्रिकेट मैदान निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ । कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले दुई वर्षको अवधिमा नै सो खेल मैदानलाई राष्ट्रियको स्तरको क्रिकेट मैदानका रूपमा विकास गरिएको बताए ।
सरकारले आर्थिक वर्ष २०७२/७३ मा विनियोजन गरेको ४० लाख रुपैयाँबाट फाप्ला क्रिकेट मैदान वरिपरि तारबार र पर्खाल निर्माण गरिएको थियो । अध्यक्ष सिंहका अनुसार एक किलोमिटर पर्खाल निर्माण गर्नुपर्ने लक्ष्य राखिएकोमा बजेट अभावका कारण आठ मिटर लामो मात्रै बनेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ का मा विनियोजन गरिएको २० लाख रुपैयाँ बजेट राष्ट्रिय स्तरको पिच निर्माण तथा दुई हजार सात सय घनमिटर माटो फिलिङ कार्यमा खर्च भएको छ । अध्यक्ष सिंहले फाप्ला क्रिकेट मैदानमा खानेपानीको व्यवस्था पनि भइसकेको बताए । तर, पर्याप्त बजेट नभएकाले खेल मैदान निर्माण कार्यले अपेक्षा गरेअनुरूप गति लिन नसकेको उनले स्वीकार गरे । उनले अहिलेसम्म सरकारको अनुदानमा मात्रै सो खेल मैदान निर्माण भइरहेको बताए ।

 

कहाँ गयो ड्रिम फाप्ला ?

धनगढीमा पाँच वर्षभित्र ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने उद्घोषसहित २०७१ सालदेखि ‘ड्रिम फाप्ला’ अभियान सञ्चालन गरिएको थियो । अभियानमा खेलाडी, उद्योगी, व्यापारी तथा विदेशबाट समेत समर्थन र सहयोग प्राप्त हुने क्रम बढेको थियो ।
तर, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंह भने फाप्ला क्रिकेट मैदान निर्माण हुन लागेको दुई वर्ष पुगिसक्दा पनि निजी क्षेत्रबाट लगानी नभएको बताए । उनले भने– ‘फाप्ला क्रिकेट मैदान निर्माणका लागि छ लाख रुपैयाँ बढी रकम सङ्कलन भइसकेको छ, तर सो रकम जिल्ला खेलकुद विकास समितिमा आइसकेको छैन ।’
ड्रिम फाप्लाका अभियन्ता सुवास शाहीले केही दिनमै पत्रकार सम्मेलन गरेर संकलित रकमको विवरण सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार