५ जेष्ठ २०८१, शनिबार

देउवा आठै प्रहर सत्तालिप्सामा लागेपछि सात नम्बर प्रदेशको चुनाव सारियो : रावल



धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले शान्तिपूर्ण निर्वाचनको तयारी गर्नुपर्ने बेला सरकारले संविधान संशोधन र निर्वाचनका विषयमा भ्रम छर्न लागेका र देशलाई दीर्घकालीन रूपमा अप्ठ्यारोमा पार्ने काम भइरहेको बताएका छन् ।
बुधबार पार्टीको प्रदेश नम्बर ७ प्रदेश प्रचार विभागले प्रदेश कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा रावलले जनतामा एजेण्डा लिएर जाने, विचार राख्ने र मत माग्ने बेला सत्ताधारी दलहरू काठमाडौंमै बसेर निर्वाचनलाई आफूअनुकूल बनाइरहेको बताए । यतिसम्म कि प्रदेशको सीमांकन गर्दा पनि त्यहाँको सभालाई सोध्न नपर्ने केन्द्रमा जसलाई जे मन लाग्यो त्यही गर्ने ? सरकारमा बसेका दलहरू पटकपटक संविधान उलंघन गर्न लागेका र संविधान विरोधी तत्त्वहरूलाई बल दिइरहेको बताए ।
निर्वाचन आयोगलेसमेत एकै चरणमा निर्वाचन गराउने तयारी गरिसकेको अवस्थामा किन सार्नु प¥यो ? नेता रावलले भने, अन्तिम चरणमा स्थानीय तहको संख्या हेरफेर गर्नु संवैधानिक र निर्वाचनको मूल्य मान्यता विपरित छ । सरकार अनैतिक र मर्यादा विपरित कार्य गर्दैछ ।
प्रदेश नम्बर २ र ५ मा जनसंख्याको आधारमा स्थानीय तह बनाउन लागेको सरकारलाई प्रश्न गर्दै रावलले भने, जनसंख्यालाई आधार बनाउने हो भने सबैभन्दा बढी जनसंख्या त प्रदेश नम्बर ३ मा छ त्यसलाई हेर्न नपर्ने तर निर्वाचनको मुखमा प्रदेश २ र ५ मा किन गर्नु प¥यो ? सरकारले त्यसलाई हेरेको छ ?
सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताप्रति आक्रामक रावलले सरकारलाई प्रश्न गर्दै भने, सीमांकन हेरफेरका लागि संविधानमै संघीय आयोगको व्यवस्था छदाछदै विशेषणसहितको कथित शक्तिशाली आयोग किन चाहियो ? सरकार कथित राष्ट्रियताका नाममा तराई पहाड टुक्र्याउने काम गर्दैछ । सरकार मधेशवादी दलका केही नेताले भने जस्तो पहाडी र मधेशी दुईवटा राष्ट्रियता बनाएर नागरिकका मन विखण्डन गर्न लागेको र मधेशवादी दलका नेताका मागका श्रृंखला हेर्दा अस्थिरता र द्वन्द्व मच्चाउने काम गर्दैछ ।
रावलले समयमा चुनाव नगराएर निर्धारित मितिमा निर्वाचन टारेर वैदेशिक शक्तिलाई चलखेल गर्न लगाउन षड्यन्त्र गर्दैछ तर एमालेले मानेर भनेर दोष थोपर्न लागेको आरोप लगाए ।
स्थानीय तहको निर्वाचनमा कांगे्रस माओवादीको चुनावी तालमेलका विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै रावलले एकअर्कालाई वर्ग शत्रु मान्ने दलहरूकाबीच चुनावी तालमेल हुन्छ भन्ने विश्वास त छैन, तर भइहाले पनि एमालेप्रति नागरिकको झन विश्वास बढ्ने बताए । उनले भने, ‘नागरिकका अधिकार सुरक्षित गर्ने, राष्ट्रिय स्वभिमानमा मत मिल्ने शक्तिसँग नेकपा (एमाले)को पनि चुनावी तालमेल हुन सक्छ ।’
सरकारले चुनाव सारेको र केही स्थानमा उम्मेदवारी मिलाउन बाँकी रहेकाले प्रदेश नम्बर ७ का उम्मेदवारको सूची दिन असमर्थता व्यक्त गर्दै टुंगो लाग्ने वित्तिकै सार्वजनिक गरिने बताए ।
ईअनुमोदनसंगको कुराकानीमा नेता रावलले पार्टीलाई बदनाम गराउने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचार गर्ने नेता, कार्यकर्तालाई पार्टी साधारण सदस्यताबाट निकाल्नेसम्मको कारवाही गरिने बताए । उनले उम्मेदवारीका विषयमा भएका कतिपय असन्तुष्टी विस्तारै समाधान भएर जाने दावी पनि गरे ।
सुदूरपश्चिमको सवालमा विगतमा कांगे्रस र माओवादीका नेतासँग नजिक हुनुहुन्थ्यो अहिले टाढा किन भन्ने पत्रकारहरूले सोधेको प्रश्नमा रावलले भने, हामी यस क्षेत्रको विकास, समृद्धि र भौगोलिक अखण्डताका विषयमा लामो समयसम्म एकमत थियौ अहिले देउवा र भट्ट अब देशभित्र दुईवटा राष्ट्रियताका पक्षमा लागेपछि कुुरा मिल्न छाड्यो । उनले सात नम्बर प्रदेशको चुनाव सार्न जरुरी थिएन भन्दै त्यो विषयमा पनि कुनै सल्लाह नभएको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आठै प्रहर सत्ता लिप्सामा लागेकोले पनि सात नम्बर प्रदेशको चुनाव दोस्रो चरणमा सरेको आरोप पनि उनले लगाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार